INSEC Online

📅 २०८३ जेष्ठ २१

राष्ट्रिय सभा निर्वाचनको मौन अवधि सुरु : कर्णाली प्रदेश

राष्ट्रिय सभा निर्वाचन अन्तर्गत ०८० माघ ९ गतेदेखि मौन अवधि सुरु भएको निर्वाचन आयोगको कर्णाली प्रदेश कार्यालयले जनाएको छ ।

राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते मतदानकार्य समाप्त नहुञ्जेलसम्म प्रचारप्रसार निषेध गरिएको कर्णाली प्रदेश निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत उज्ज्वलदेव रावलले जानकारी दिनुभयो ।

सहायक निर्वाचन अधिकृत रावलका अनुसार मौन अवधिमा प्रचारप्रसार कार्य गर्नमा रोक, राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलका भ्रातृसङ्गठन तथा आचारसंहिता पालना गर्नुपर्ने अन्य व्यक्ति, संस्था वा निकायले निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न पाइने छैन । मौन अवधिमा कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोस्ट वा शेयर गर्न वा गराउन नहुने सहायक निर्वाचन अधिकृत रावलले बताउनुभयो ।

माघ ११ गते हुने निर्वाचनमा कर्णाली प्रदेशमा तीन सिटका लागि ६ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । सत्तारुढ गठबन्धनका तीन र एमालेका तीन जना उम्मेदवारहरु चुनावी मैदानमा रहेका छन् ।
गठबन्धन दल कांग्रेसबाट रुकुम पश्चिमका कष्णबहादुर रोकाया, माओवादीबाट कालिकोटका विष्णु विक र समाजवादीबाट दैलेखकी सावित्री मल्लले उमेदवार छन् । एमालेबाट महिलातर्फ हुम्लाकी विमलाकुमारी शाही, अन्यतर्फ मुगुका डिल्लीप्रसाद भट्ट र दलिततर्फ दैलेखका हिक्मत विक उम्मेदवार रहेका छन् ।

राष्ट्रिय सभाको निर्वाचनका लागि महिला, दलित र अन्य गरी तीन सिटमा मतदान हुँदैछ । कर्णालीमा ८९ स्थानीय तह र एक प्रदेश सभा तर्फ जम्मा १सय ९६ मतदाता छन् । जम्मा १ सय ९८ मतदाता मध्ये कांग्रेसबाट निर्वाचित दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष लक्ष्यबहादुर शाही र जाजरकोटको नलगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंहको मृत्यु भएपछि १ सय ९६ मतदाता रहेका हुन् ।

सत्तारुढ गठबन्धनसँग प्रतिस्पर्धामा होमिएको एमालेको मतभार सङ्ख्या कमजोर रहेको छ । प्रदेशसभातर्फ नेपाली कांग्रेसका १५, माओवादीका १३, एमालेका १०, समाजवादी र राप्रपाका एक/एक गरी ४० सांसद छन् ।

६ वर्षअघि राष्ट्रिय सभामा निर्वाचित जाजरकोटका भैरबसुन्दर श्रेष्ठ, कालिकोटका नरपति लुहार र सुर्खेतका नन्दा चपाइँको पदावधि सकिँदैछ । श्रेष्ठ अन्य, लुहार दलित र चपाइँ महिला क्लस्टरबाट चुनिएका थिए ।

Photo20240123 Surkhet

अन्य

भिडियो