माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि गण्डकी प्रदेशबाट तीन पदका लागि प्रदेश निर्वाचन अधिकृतको कार्यालयमा पुस २३ गते आठ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
सत्तागठबन्धनका तर्फबाट तीन सिटमध्ये दुई सिटमा कांग्रेस र एक सिटमा माओवादीका तर्फबाट मनोनयन दर्ता भएको छ । कांग्रेसले अन्य क्लस्टरमा गोरखाका किरणबाबु श्रेष्ठ र अपाङ्गता÷अल्पसंख्यक क्लस्टरमा तनहुँका पदमबहादुर परियारले मनोनयन दर्ता गर्नुभएको छ । महिला क्लस्टरमा माओवादीकी मनरुपा शर्माले मनोनयन दर्ता गर्नुभएको छ । नेकपा एमालेले तीन ओटै क्लस्टरमा उम्मेदवारी दिएको छ । अन्य क्लस्टरमा स्याङ्जाका चक्रबहादुर पराजुली, अपांगता÷अल्पसंख्यक क्लस्टरमा मुस्ताङका हेमन्त शेरचन र महिला क्लस्टरमा गोरखाकी सम्झना देवकोटालाई उम्मेदवारी दिइएको छ ।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पनि दुई पदका लागि उम्मेदावरी दर्ता भएको छ । अन्य क्लस्टरमा कास्कीका रोमबहादुर भण्डारी र महिला क्लस्टरमा तनहुँकी गौमाया श्रेष्ठले राप्रपाबाट उम्मेदवारी दर्ता गराउनुभएको छ । यसअघि राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने तीन सदस्यको कार्यकाल आउँदो २० फागुनमा सकिँदै छ । गण्डकीमा अन्य, महिला र अपाङ्गता÷अल्पसंख्यक गरी तीन क्लस्टरका एक–एकजनाको पद रिक्त हुँदै छ । सोही रिक्त पदमा हुने निर्वाचनका लागि दलहरूका उम्मेदवारले आ–आफ्नो मनोनयन दर्ता गरेका हुन् ।
आसन्न राष्ट्रियसभा निर्वाचनमा गण्डकी प्रदेश सभा सदस्यहरु र प्रदेशका महानगरपालिका, नगरपालिका र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष उक्त निर्वाचनको मतदाता हुनेछन् । प्रदेशमा कुल मतभार ६ हजार ४ सय १० छ ।

