राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कर्णाली प्रदेशमा दलहरूले पुस २३ गते उम्मेदवारी दर्ता गराएका छन् । कर्णाली प्रदेशमा गठबन्धनका तीन उम्मेदवार र नेकपा एमालेका तीन उम्मेदवारले मनोनयन दर्ता गरेका छन । प्रदेश निर्वाचनको कार्यालयमा मनोनयन दर्ता गराएका हुन् । गठबन्धन दल कांग्रेसबाट रुकुम पश्चिमका कष्णबहादुर रोकाय, माओवादीबाट कालिकोटका बिष्णु विश्वकर्मा र नेकपा समाजवादीबाट दैलेखकी सावित्री मल्लले उमेदवारी दर्ता गराउनुभएको हो ।
रोकाय कांग्रेस कर्णाली प्रदेशका महामन्त्री हुनुहुन्छ, विश्वकर्मा माओवादी पार्टीको केन्द्रीय सदस्य तथा कालिकोट जिल्ला इन्चार्ज हुनुहन्छ । त्यस्तै गरी मल्ल समाजवादीकी केन्द्रीय सदस्य हुनुहुन्छ ।
एमालेबाट महिलातर्फ हुम्लाकी विमलाकुमारी शाही, अन्यतर्फ मुगुका डिल्लीप्रसाद भट्ट र दलिततर्फ दैलेखका हिक्मत विकले मनोनयन दर्ता गर्नुभएको छ । शाही र भट्ट एमाले प्रदेश कमिटी सदस्य हुनुहुन्छ भने विक पार्टीको भातृ संगठन नेपाल उत्पीडित जातिय मुक्ति समाजका केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ ।
कर्णालीमा राष्ट्रिय सभाको लागि महिला, दलित र अन्य गरी तीन सिटमा मतदान हुँदैछ । कर्णालीमा ८९ स्थानीय तह र एक प्रदेश सभा तर्फ जम्मा १ सय ९६ मतदाता छन् । जम्मा १ सय ९८ मतदाता मध्ये कांग्रेसबाट निर्वाचित दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष लक्ष्यबहादुर शाही र जाजरकोटको नलगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंहको मृत्यु भएपछि १ सय ९६ मतदाता रहेका हुन् । सत्तारुढ गठबन्धनसँग प्रतिस्पर्धामा होमिएको एमालेको मतभार सङ्ख्या कमजोर रहेको छ । प्रदेशसभातर्फ नेपाली कांग्रेसका १५, माओवादीका १३, एमालेका १०, समाजवादी र राप्रपाका एक/एक गरी ४० सांसद छन् । राप्रपाले भने अहिलेसम्म कसलाई मतदान गर्ने भन्ने विषयमा कुनै निर्णय गरेको छैन । उम्मेदवारी दर्ता गर्न जाँदा गठबन्धन र एमाले पार्टीका शिर्ष नेताहरुको समेत उपस्थित रहेको थियो ।



