INSEC Online

📅 २०८३ जेष्ठ २१

अधिकार दुई परियोजनाको सिकाई तथा अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा कर्णाली प्रदेशमा सञ्चालित अधिकार दुई परियोजनाको सिकाई तथा अनुभव आदानप्रदान कार्यक्रम ०८० कात्तिक २४ गते काठमाडौँमा सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले डिसिए एक्ट एलायन्सको सहयोगमा सञ्चालित परियोजनाले कर्णाली प्रदेशलाई मानव अधिकारमैत्री बनाउने अभियानमा एउटा खुड्किलो थप्न सफल भएको बताउनु भयो । परियोजनाले मानिसलाई के कति उत्प्रेरणा जगाउन सफल भयो र कति सजग बनायो भन्ने विषयले परियोजनाको सफलताको मापन गर्ने उल्लेख गर्दै अर्यालले अधिकार दुई परियोजनापछि गठन भएको कर्णाली प्रदेश स्तरीय मानव अधिकार रक्षक सञ्जालले घरेलु हिंसाबाट पीडित कैयौँलाई उद्दार गरेर न्याय दिलाउन सफल भएको भन्दै खुशी व्यक्त गर्नुभयो ।

Photo_080-7-24_Kathmandu१

कार्यक्रमका विशिष्ट अतिथि रहनुभएकी राष्ट्रिय महिला आयोगका सदस्य कृष्ण कुमारी पौडेल (खतिवडा) ले संविधान र कानुनले महिला हिंसा र जातीय छुवाछुत गर्ने विषयलाई दण्डनीय अपराधको रुपमा व्याख्या गरे पनि कानुनको कडा कार्यन्वयन नहुँदा कर्णाली प्रदेश लगायत ठाउँमा अझै पनि महिला हिंसा र दलित समुदायमाथि हुने छुवाछुतका घटनामा कमी आउन नसकेको उल्लेख गर्नुभयो ।

Photo_080-7-24_Kathmandu3

आफ्नो हक र अधिकारका लागि दलित र महिला समुदायका नागरिकहरू राजनीतिक दलका नेता कार्यकर्ताका रूपमा विभाजित नभएर एक हुन जरुरी भएको उल्लेख गर्दै खतिवडाले दलित समुदायका महिलामाथि हुने हिंसा अन्त्यका लागि राज्यका तीनै तहका निकाय जिम्मेवार हुनु पर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय दलित आयोगका सदस्य मेहेले पार्कीले गैरदलित समुदायकी छोरी विवाह गरेकै भरमा जुम्लामा दलित समुदायको युवाको घरमा केटी पक्षले आगो लगाइदिएको घटना स्मरण गर्नुहुँदै कर्णाली प्रदेशमा गैरदलित पक्षले दलित समुदायका मानिसलाई छुन नहुने र उनीहरूले पकाएको खान नहुने मान्यता अझै व्याप्त रहेको बताउनु भयो ।

पार्कीले कर्णाली प्रदेशका दलित समुदायको उत्थानका लागि कर्णाली प्रदेशमा दलित विकास समिति गठन गर्नु पर्ने बताउँदै दलित समुदायको हक अधिकारका लागि संविधानमा उल्लेखित कानुन कार्यन्वयन गर्ने पाटोमा स्थानीय तहका निकाय र जनप्रतिनिधिको अहम् भूमिका हुने उल्लेख गर्नुभयो ।

Photo_080-7-24_Kathmandu4

कार्यक्रममा बोल्दै राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधि दिपक थापाले दलित समुदायको हक अधिकारका लागि संविधानमा उल्लेखित विषय, सरकारका निर्णय र अदालतबाट भएका फैसलाहरू कार्यन्वयन भए नभएको कुरा नागरिक समाजले तथा मानव अधिकार रक्षकहरूले अनुगमन गर्नु पर्ने बताउनु भयो ।

त्यस्तै ड्यान चर्च एडकी कन्ट्री डिरेक्टर सम्झना बिष्टले घरेलु हिंसाका घटना न्यूनीकरणका लागि पति पत्नीबीचमा सम्बन्ध प्रगाढ हुनु पर्ने उल्लेख गर्नुभयो । कर्णाली प्रदेशमा धेरैजसो महिला हिंसाका घटना दाइजो र रुढिवादी परम्पराका कारण घटिरहेको बताउँदै बिष्टले महिला हिंसा न्यूनीकरणका लागि सम्पतिको हकमा समान पहुँच स्थापित हुनु पर्ने र आर्थिक रूपमा महिलालाई सबल बनाउनु पर्नेमा जोड दिनुभयो ।

Photo_080-7-24_Kathmandu2

त्यसैगरी मानव अधिकार रक्षक सञ्जाल कर्णाली प्रदेशका संयोजक पिताम्बर ढकालले अरुको हक अधिकारका लागि लड्दै आएका मानव अधिकार रक्षकहरूको सुरक्षा र संरक्षणमा कानुनको आवश्यक रहेको कुरामा जोड दिनुभयो ।

कार्यक्रममा अधिकार दुई परियोजनाकी फोकल पर्सन तथा इन्सेक केन्द्रीय कार्यालयकी व्यवस्थापन विभाग प्रमुख सुभेच्छा खड्काले अधिकार दुई परियोजनाको मुख्य उपलब्धि र सिकाई समेटिएको पावरपोइन्ट प्रस्तुत गर्नुभएको थियो ।

Photo_080-7-24_Kathmandu

अन्य

भिडियो