झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ०८० असोज २२ गते नेकपा एमाले निकट राष्ट्रिय युवा सङ्घका कार्यकर्ताले मोसो दली दुर्व्यवहार गरेका छन् । कान्तिपथस्थित होटल एल्लो प्यागोडामा आफैले आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी भएर बाहिर निस्कने क्रममा प्रसाईंलाई राष्ट्रिय युवा सङ्घका सचिव रामेछापका जय गुरुङ, ओखलढुङ्गाका युवराज थापा, खोटाङका बिनोद राई, काठमाडौँका अमित पौडेल, काठमाडौँका अजित लामा लगायतको समूहले मोसो दलेको हो ।
पछिल्लो समय बैँकर तथा मारवाडी व्यापारीप्रति अराजक अभिव्यक्ति दिएर राष्ट्रकै अहित हुने र समाजमा विग्रह ल्याउने कार्य गरेको भन्दै युवा सङ्घका कार्यकर्ताहरूले प्रसाईंमाथि मोसो दलेर दुर्व्यवहार गरेका हुन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रमुख एसएसपी भूपेन्द्र खत्रीले प्रसाईंलाई तत्काल उद्धार गरेर प्रहरी वृत्त, दरबारमार्ग लगिएको इन्सेकलाई बताउनु भयो । खत्रीका अनुसार घटनाबारे प्रसाईंले प्रहरीमा उजुरी दिनुभएको छैन ।
एसएसपी खत्रीले मोसो दल्नेहरूको प्रहरी परिचालन गरी खोजी जारी राखेको उल्लेख गर्नुभयो ।