INSEC Online

📅 २०८३ जेष्ठ २१

घरदैलो कार्यक्रममा व्यस्त उम्मेदवारहरू भन्छन् जनताको समस्या पहिलो प्राथमिकता

चितवन क्षेत्र नं. २ मा प्रतिनिधिसभा उपनिर्वाचन वैशाख १० गते हुँदैछ । त्यसका लागि प्रमुख दल र तीनका उम्मेदवारहरू मत माग्न जनताको घरदैलौमा पुगिरहेका छन् ।

यसपल्टको चुनावमा फरक दृष्य के देखिन्छ भने उम्मेदवारहरू नै जनताको समस्यालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने भन्दै भोट माग्न थालेका छन् ।

नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले जनताको बीचमा विकासको एजेण्डा लिएर जाँदा जनताले आर्शिवाद दिएको बताउनु भयो ।

नेपाली कांग्रेसबाट उम्मेदवार बनेका गठबन्धनका साझा उम्मेदवार जीतनारायण श्रेष्ठले जनताको समस्या प्राथमिकतामा राखेर काम गर्ने बताउनु भयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका यस क्षेत्रका उम्मेदवार रवि लामिछानेले जनताको चाहना र आशा अनुसार धेरै काम गर्न बाँकी रहेकाले आफूलाई जनताले न्याय गर्ने बताउनु भयो ।

घरदैलो कार्यक्रमलाई तिव्रता दिएका दलहरूले वैशाख ७ गते भरतपुर र कालिका नगरपालिकामा चुनावी सभा राखेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले दिउँसो १ बजे भरतपुर महानगरपालिका-१० गेष्ट हाउस चौर र गठबन्धनले दिउँसो २ बजे कालिका नगरपालिका-६ को खोलेसिमलमा सभा राखेको छ ।

निर्वाचन आचार संहितामा सजग देखिएका उम्मेदवारले तडकभडक भन्दा पनि जनताका बीचमा गएर आफ्ना योजना सुनाउने कार्य गर्दै आएको जिल्ला निर्वाचन कार्यलयका प्रमुख भीमसेन कार्कीले बताउनु भयो । उहाँले मतदान भन्दा अघिको मौन अवधि सुरु हुने समय आउन लाग्दा उम्मेदवारहरू प्रचार प्रसारमा सक्रिय देखिए पनि आचारसंहिता उल्लङ्घनका घटनाको उजुरी प्राप्त भइनसकेको बताउनु भयो ।

चितवन क्षेत्र २ अन्तर्गत इच्छाकामना गाउँपालिका र कालिका नगरपालिका तथा भरतपुर महानगरपालिकाको वडा नं. १, २, ३, ४, ५,७, १०, ११, १२ र २९ मा उप निर्वाचन हुनेछ ।

अन्य

भिडियो