०८० वैशाख १० गते हुने उपनिर्वाचनका लागि ०७९ चैत २० गते मनोनयन (उम्मेदवारी) दर्ता हुँदैछ । मनोनयन दर्ताका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको समय दिइएको छ ।
निर्वाचन आयोगले निर्वाचनमा उम्मेदवारको मनोनयनपत्र पेश गर्न जाँदा उम्मेदवार, प्रस्तावक र समर्थक सहित बढीमा २५ जनाभन्दा बढीको जुलुस लिएर जान नपाइने जनाएको छ ।
त्यस्तै बाजागाजा, झाँकी तथा निर्वाचन आचारसंहिता, २०७९ विपरितका व्यानर, चिन्ह र झण्डा सहित जान नहुने आयोगले जनाएको छ ।
यसैगरी उम्मेदवारको मनोनयको समयमा उम्मेदवारको पहिचान झल्किने लोगो, टीका, चिन्ह, टिसर्ट, ज्याकेट, कमिज, ब्याज, मास्क, लकेट, झोला, टोपी, गम्छा, ब्यानर, प्लेकार्ड प्रयोग गर्न पाइने छैन ।
०७९ मङ्सिर ४ गतेको निर्वाचनमा निर्वाचित रवी लामिछाने नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि चितवन क्षेत्र नं २ मा उपनिर्वाचन हुन लागेको हो ।
चितवन क्षेत्र नं २ मा उम्मेदवारी दर्ताको लागि चार ठूला दलहरूलाई छुट्टाछुट्टै समय दिइएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले दिउँसो १ बजेको समय पाएकामा बिहान १० बजे नै उम्मेदवारी दर्ता गर्ने भएको छ ।
दिउँसो २ बजे कांग्रेस उम्मेदवार, ३ बजे एमाले उम्मेदवार, ४ बजे राप्रपा उम्मेदवार र अन्य दल तथा उम्मेदवारले आफ्नो अनुकुलमा उम्मदेवारी दर्ता गर्न पाउने सहायक निर्वाचन अधिकृत इश्वर आचार्यले जानकारी दिनुभयो ।