बैतेश्वर र तामाकोसी गाउँपालिकाको १० ओटा मतदान केन्द्रमा पुनः निर्वाचनको लागि तयारी तीव्र पारिएको छ । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका क्रममा स्वच्छ र स्वतन्त्र मतदान नभएको मतदान केन्द्रमा पुनः निर्वाचनका लागि तयारी तीव्र पारिएको हो ।
एमालेले दिएको उजुरीको आधारमा निर्वाचन आयोगले स्थलगत छानबिनपछि यसअघि स्वच्छ मतदान नभएको मतदान केन्द्रको मतदान रद्द गरी पुनः निर्वाचन गराउन निर्देशन दिएको थियो ।
सोही निर्देशनको पालना गरी पुनः निर्वाचनका लागि जिल्ला निर्वाचन र मुख्य निर्वाचन कार्यालयले तयारी तीव्र पारिएको जनाएको छ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा १० मतदान केन्द्रमा पुनः निर्वाचन गर्ने लक्ष्यसहित तयारी थालिएको बताउनु भयो ।
उहाँले निर्वाचन सोचेअनुरूप सफलतापूर्वक सम्पन्न गर्न व्यवस्थापन तथा सञ्चालन सम्बन्धी सम्पूर्ण तयारी निर्वाचनको अघिल्लो दिन अर्थात् मङ्सर १४ गते नै पूरा हुने बताउनु भयो ।
बैतेश्वर गाउँपालिका वडा नम्बर ६ को बैतेश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क, ख, ग वडा नम्बर २ को जनज्योति माध्यमिक विद्यालय पुतलीकाठका मतदान केन्द्र क र ख, वडा नम्बर ३ को कालीढुंगा मावि मतदान केन्द्रमा क, ख र ग मतदान केन्द्र पुनः निर्वाचनको तयारी भइरहेको हो ।
यस्तै तामाकोसी गाउँपालिका ३ हेल्थपोस्ट भवन जफे मतदान केन्द्र क र ख गरी १० मतदान केन्द्रमा पुनःः निर्वाचन गर्ने तयारी गरिएको हो ।
निर्वाचन आयोगले पुनः निर्वाचनका लागि प्रत्यक्षतर्फ ११/११ हजार र समानुपातिकतर्फ ११/११ हजार गरी कुल ४४ हजार मतपत्र सोमबार पठाइसकेको छ ।
प्राप्त मतपत्र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सुरक्षित राखिएको मुख्य निर्वाचन अधिकृत श्रेष्ठले बताउनु भयो । मतदानका लागि छनोट गरिएका केन्द्रमा खटिने कर्मचारीहरूलाई दुई दिने प्रशिक्षण सुरु गरिएको छ ।
एउटा मतदान केन्द्रमा एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत र सहयोगी कर्मचारी सहित आठ जना कर्मचारी घटिएका छन् ।
१० वटा मतदान केन्द्रमा ८० जना कर्मचारी खटाइन लागिएको मुख्य निर्वाचन अधिकृत श्रेष्ठले बताउनु भयो ।