जिल्लाका ४५ ओटा वडा कार्यालयमा सचिव नहुँदा सेवाग्राहीले समस्यामा भोग्नु परेको छ ।
वडा सचिव नहुँदा यी वडाहरुमा जन्मदर्ता, मृत्यु दर्ता लगायतका व्यक्तिगत घटना दर्ताको लागि नरपालिका र गाउँपालिका कै कार्यालयमा धाउनु पर्ने बाध्यता छ ।
वडा कार्यालयमा सचिव नहुँदा पञ्जिकरणको कामका लागि नगरपालिका र गाउँपालिकाको कार्यालयमा धाउनु पर्ने बाध्यता रहेको दशरथचन्द नगरपालिका–७ का धर्मानन्द बडुले गुनासो गर्नु भयो ।
पुर्चाैडी नगरपालिकाका १० ओटै वडामा प्राविधिकले वडा सचिवको जिम्मेवारी समालेका छन् । कर्मचारी अभावमा १० ओटै वडामा प्राविधिकलाई सचिवको जिम्मेवारी दिएको प्रमुख प्रशासकीय अधिकृत बिरबहादुर नेपालीले बताउनु भयो ।
६ ओटा वडा कार्यालय रहेको पञ्चेश्वर गाउँपालिकामा पनि वडा नम्बर ३ बाहेकका वडा कार्यालयमा वडा सचिव छैनन् । बाँकी रहेका सबै वडामा प्राविधिकले जिम्मेवारी समालिरहेको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताउनु भयो ।
नौ ओटा वडा कार्यालय रहेको मोलौली नगरपालिकामा वडा नम्बर ३ र ८ मा मात्रै वडा सचिव छन् । अन्य वडा कार्यालयमा प्राविधिकले वडा सचिवको जिम्मेवारी समालिरहेका छन् । नौ ओटा वडा रहेको सिगास गाउँपालिकामा वडा नम्बर १, २, ३ र ५ बाहेकका पाँच ओटा वडामा प्राविधिकले वडा सचिवको जिम्मेवारी समालेका छन् ।
६ ओटा वडा कार्यालय रहेको शिवनाथ गाउँपालिकामा वडा नम्बर ५ मा वडा सचिव छैनन् । अन्य वडामा सचिवले जिम्मेवारी समालेका छन् । वडा नम्बर ५ मा भने प्राविधिकले वडा सचिवको जिम्म्ेवारी समालेका छन् ।
डिलाशैनी गाउँपालिकामा वडा नम्बर ३ र ७ मा प्राविधिकले सचिवको जिम्मेवारी समालेका छन् भने अन्य बाँकी रहेका ५ वडा कार्यालयमा सचिवको पदपुर्ति भएको गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशीले बताउनु भयो ।
दशरथचन्द नगरपालिकाको वडा नम्बर ३, २ र ७ मा प्राविधिकले वडा सचिवको जिम्मेवारी समालेका छन् । ११ ओटा वडा कार्यालय रहेको दशरथचन्द नगरपालिकामा बाँकी नौ ओटा वडा कार्यालयमा सचिवको पदपुर्ति भएको नगरपालिकाले जनाएको छ ।
आठ ओटा वडा कार्यालय रहेको दोगडाकेदार गाउँपालिकामा वडा नम्बर १ र ६ मा प्राविधिकले जिम्मेवारी समालिरहेको प्रशासकीय अधिकृत रबिन्द्र धामीले बताउनु भयो ।
आठ ओटा वडा कार्यालय रहेको सुर्नया गाउँपालिकामा पनि वडा नम्बर २, ३ र ५ मा मात्रै वडा सचिव छन् भने अन्य वडामा प्राविधिकले वडा सचिवको जिम्मेवारी समालेका छन् ।
१० ओटा वडा कार्यालय रहेको पाटन नगरपालिकामा वडा नम्बर १, ३, ५, ६, ७ र ९ मा वडा सचिव नहुँदा स्थानीयहरुलाई समस्या हुने गरेका उपप्रमुख कमल बोहराले बताउनु भयो ।
वडा सचिवको अभावका कारण सामान्य सिफारिसका लागि पनि नगरपालिका र गाउँपालिका धाउनु पर्ने बाध्यता रहेको पाटन नगरपालिका–१ का राजिव पाण्डेले गुनासो गर्नु भयो ।