२३ वर्षीया महिला र २६ वर्षीय देवरबिच अनैतिक सम्बन्ध रहेको भन्दै अमानवीय व्यवहार गरेको आरोपमा प्रहरीले सिमकोट गाउँपालिका–७ डाँडाफयाका ३० वर्षीय धनबहादुर शाही, ३५ वर्षीय हरिबहादुर शाही, ३१ वर्षीय शेरबहादुर शाही र ३४ वर्षीय मात्विर सिंहलाई असोज १६ गते गिरफ्तार गरेको छ ।
अनैतिक सम्बन्धको आरोप लागेका व्यक्तिलाई असोज १५ गते दिसा कोच्याएको, जुत्ताको माला लगाएको, केश मुण्डन गरेको, मोसो दलेर गाउँ वरिपरी घुमाएको पीडित महिलाको आरोप छ ।
मोबाइल फोन साटासाट गरेको भरमा अनैतिक सम्बन्ध राखेको भनी आरोप लगाएर अमानवीय व्यवहार गरेको उनको भनाइ छ ।
पीडितलाई कुटपिट गरी विभिन्न किसिमका आपराधिक गतिविधि गरेकाले अनुसन्धानका लागि आरोपितहरूलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुर्यप्रकाश सुवेदीले बताउनु भयो ।
डिएसपी सुवेदीका अनुसार आरोपित विरुद्ध असोज १७गते अमानवीय व्यवहार अभियोगमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ ।
पीडित महिलाको स्वास्थ्य परीक्षण असोज १७ गते जिल्ला अस्पतालमा गरिएको र सामान्य चोट लागेको सिनिएर अनमि सरीता बोहराले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।