INSEC Online

📅 २०८३ जेष्ठ २१

धादिङका राजनीतिक दलहरुका प्रमुख र उम्मेदवारहरुद्वारा निष्पक्ष निर्वाचनका लागि ६ बुँदे प्रतिबद्धता

धादिङका राजनीतिक दल र उम्मेदवारहरुले फागुन २१ गते हुने निर्वाचन स्वच्छ र निष्पक्ष गराउन साथै निर्वाचन आचारसंहिताको पालना गर्न ०८२ माघ १३ गते राजनीतिक दलहरुका प्रमुख र उम्मेदवारहरुद्वारा बिच भएको समन्वयात्मक बैठकमा सहभागीहरुले ६ बुँदे प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेका छन् ।

जिल्लामा शान्ति, अमनचयन, राजनीतिक तथा सामाजिक सद्भाव, सन्तुलित तथा न्यायपूर्ण विकास, सुशासन, विधिको स्थापना, समतामूलक समाज निर्माण र सबै खालका विभेदका अन्त्यका लागि उम्मेदवारले सहकार्य र समन्वय गर्ने प्रतिवद्धता सहित हस्ताक्षर गरिएको हो ।

निर्वाचनको प्रचारप्रसारका गतिविधिहरुलाई शान्तिपूर्ण, सौह्रार्दपूर्ण, मैत्रीपूर्ण, मितव्ययी र मर्यादित बनाउने, मतदान प्रक्रियालाई शान्तिपूर्ण र स्वतन्त्र बनाउने, सबै पार्टी तथा उम्मेदवारहरूलाई सम्मान, आदरभाव राख्ने, निर्वाचनको सम्बन्धमा उत्पन्न हुने विवाद तथा असमझदारी आपसी समन्वय तथा संवादबाट समाधान गर्ने र निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता ०८२ लाई पालना गर्ने र गराउने प्रतिवद्धतापत्रमा उल्लेख छ ।

उक्त बैठकले प्रतिबद्धता कार्यान्वयन गर्न र गराउन सहयोग, निगरानी र खबरदारीका लागि सरकार, निर्वाचन आयोग, राजनीतिक दल, उम्मेदवार, कार्यकर्ता, मतदाता, आमजनसमुदाय र सञ्चारकर्मीहरुलाई अनुरोध समेत गरेको छ ।

प्रतिवद्धता पत्रमा नेपाली काँग्रेस सभापति रामनाथ अधिकारी, उम्मेदवारहरु कृष्ण रिजाल, रमेश धमला, नेकपा एमालेका कार्यवाहक अध्यक्ष अर्जुनकुमार श्रेष्ठ (गोर्खाली), उम्मेदवार भूमि त्रिपाठी, नेपाली कम्यूनिष्ट पार्टीका उम्मेदवारहरु राजेन्द्र पाण्डे, रामबहादुर भण्डारी, राष्ट्रिय स्वतन्त्र पार्टी संगठन सचिव रामहरी रिजाल, उम्मेदवार बोधनारायण श्रेष्ठ, राप्रपाका जिल्ला अध्यक्ष ध्रुब खनाल, उम्मेदवारहरु गीता प्रसाद आचार्य र सुरेश रिजालले हस्ताक्षर गर्नुभएको छ ।

प्रतिवद्धता व्यक्त गर्दै उम्मेदवारहरुले अन्य उम्मेदवारको नकारात्मक टिप्पणी नगर्ने, अनुशासित रुपमा प्रतिस्पर्धा गर्ने, तडकभडक नगर्ने, सद्भाव र मर्यादा कायम गर्ने, मतदातालाई दवाव र प्रभावमा नपारी निर्वाचित भएपछि आफूले गर्ने प्रतिवद्धता जनाएर मत माग्ने बताउनु भएको छ ।

सीताराम अधिकारी

अन्य

भिडियो