INSEC Online

📅 २०८३ जेष्ठ २१

राष्ट्रियसभामा सुदूरपश्चिम प्रदेशबाट दुई जना निर्वाचित

सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा नेकपा (एमाले)की लीलाकुमारी भण्डारी र नेपाली काँग्रेसका खम्मबहादुर खाती विजयी भएका छन् ।

महिला समूहबाट एमालेकी भण्डारीले ३ हजार ९ सय ८४ मत प्राप्त गर्दै विजयी हुनुभएको छ भने उहाँको प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीकी रोजी बस्नेतले १ हजार ६ सय ७६ मत प्राप्त गर्नुभएको छ । यसैगरी अन्य समूहबाट नेपाली काँग्रेसका खम्मबहादुर खाती ३ हजार ९ सय ६९ मतसहित विजयी हुनुभएको छ भने उहाँका प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीका  टिकाराम जैशीले १ हजार ८ सय ५ मत प्राप्त गर्नुभएको प्रदेश निर्वाचन कार्यालय, धनगढीका प्रमुख प्रेमराज भट्टले बताउनु भयो ।

निर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको मतभार १९ निर्धारण गरिएको थियो ।

०८२ फागुन २० गतेदेखि राष्ट्रियसभामा रिक्त हुने १८ पद मध्ये सुदूरपश्चिम प्रदेशमा तत्कालीन नेकपाबाट निर्वाचित राष्ट्रिय सभा सदस्य शारदा भट्ट र तारामान स्वारको समयावधि सकिएपछि ०८२ माघ ११ गते राष्ट्रियसभा सदस्य निर्वाचन सम्पन्न भएको हो ।

राष्ट्रियसभामा १८ पद मध्ये सुदूरपश्चिम प्रदेशमा दुई पदका लागि चार जनाको उम्मेदवारी मनोनयन दर्ता भएको थियो । अन्य समूहबाट एक पुरुष र महिलातर्फ एक पद रिक्त हुने भएपछि अन्य समूह पुरुषतर्फ नेपाली कांग्रेसका खम्महादुर खाती र नेपाली कम्युनिष्ट पार्टीका टीकाराम जैशी र महिलातर्फ नेपाली कम्युनिष्ट पार्टीकी रोजी बस्नेत सुनार र नेकपा (ऐमाले)का लीलाकुमारी भण्डारीले उम्मेदवार दिनुभएको थियो

सुदूरपश्चिम प्रदेश सभाका ५३ जना सदस्य मध्ये ४९ जना र ८८ ओटा स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष गरी १ सय ७६ जना मध्ये १ सय ७१ जना गरी २ सय २० जनाले मतदान गरेका थिए ।

नेपाली कांग्रेसका प्रदेश सभा सदस्य प्रकाशबहादुर देउवा र राप्रपाकी प्रदेश सभा सदस्य खेमा विष्ट र स्थानीय तहतर्फ धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल र जोशीपुर गाउँपालिकाकी उपाध्यक्ष रेखा कठरिया गरी चार जनाले मतदान नगरेको प्रदेश निर्वाचन कार्यालयका प्रमुख भट्टले बताउनु भयो ।

सुदूरपश्चिम प्रदेश कार्यलय

अन्य

भिडियो