INSEC Online

📅 २०८३ जेष्ठ २१

कर्णाली प्रदेशका १२ निर्वाचन क्षेत्रमा  १ सय ३७ जनाको उम्मेदवारी

आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कर्णाली प्रदेशका १२ निर्वाचन क्षेत्रमा विभिन्न राजनीनितिक दल र स्वतन्त्र व्यक्ति सहित १ सय ३७ जनाले उम्मेदवारी दर्ता गरेका छन् । प्रदेशको राजधानी सुर्खेत क्षेत्र नम्बर २ मा १७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यहाँ नेपाली कांग्रेसबाट नारायण कोइराला, एमालेबाट कुलमणि देवकोटा, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट झकबहादुर मल्लले उम्मेदवारी दिएका छन् ।

‎यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रमेश कुमार सापकोटा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कविराम पुरी, उज्यालो नेपाल पार्टी (उनेपा) बाट गम्भीर सिंह भूलले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै नेपाल मजदुर किसान पार्टीबाट तुल्छा मल्ल, जनता समाजवादी पार्टीबाट दिपबहादुर नेपाली, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट धर्मराज देवकोटा, गतिशिल लोकतान्त्रिक पार्टीबाट पवन थापा मगर, राष्ट्रिय जनमोर्चाबाट पुर्णबहादुर शाही, नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) बाट प्रेमबहादुर तारामी, श्रम संस्कृति पार्टीबाट राजेन्द्र रामजाली र  नेपाल जनसेवा पार्टीबाट हृदयचन्द्र अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै उदीराम चुनारा, कृष्ण खत्री र रमेश  परियारले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् ।

सुर्खेत क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका तर्फबाट विष्णु खड्का, नेकपा एमालेबाट धुर्वकुमार शाही, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट जितबहादुर राना, राष्ट्रिय स्वतन्त्र पार्टीबाट टेकबहादुर सिंह र राप्रपाबाट रविकिरण हमालले उम्मेदवारी दिएका छन् । नेपाल मजदुर किसान पार्टीबाट गजबहादुर खप्तडी, नेकपा माओवादीबाट हिरु शाही तथा राष्ट्रिय जनमोर्चाबाट मोहन थापा, श्रम संस्कृति पार्टीबाट वीरबहादुर राना, आम जनता पार्टीबाट रेशम सेञ्चुरी, जनता समाजवादी पार्टी नेपालबाट धनसिंह सार्की, उज्यालो नेपाल पार्टीबाट ठम्मरबहादुर विष्ट र मितेरी नेपालबाट प्रकाश बुढा मगरले उम्मेदवारी दर्ता गराएका छन् ।

इन्सेक दैलेख प्रतिनिधि अमर सुनारका अनुसार दुई ओटै निर्वाचन क्षेत्रमा पनि राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरुको उत्साहपूर्ण सहभागितामा उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । दुवै निर्वाचन क्षेत्रमा नौ राजनीतिक दलले उम्मेदवारी दर्ता गराएका छन् भने क्षेत्र नम्बर १ मा एक जना र क्षेत्र नम्बर २ मा २ जना स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय दिएको जानकारी अनुसार दैलेख क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसबाट बासना थापा,  नेपाली कम्यूनिष्ट निवर्तमान सांसद अम्मरबहादुर थापा, नेपाल मजदुर किसान पार्टीका जगत बहादुर ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका नन्दकिशोर बस्नेत, राष्ट्रिय जनमोर्चाका नरबहादुर सिंह, आम जनता पार्टीका मेनका श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । राप्रपाका रण बहादुर सिंह, नेकपा एमालेबाट रबिन्द्रराज शर्मा, विप्लव समूह भनेर चिनिने नेकपा (माओवादी) पार्टीका रामलाल बिश्वकर्मा र एक जना मात्र स्वतन्त्र व्यक्तिका रुपमा ६५ वर्षीय लोगबहादुर बोगटीको उम्मेदवारी परेको छ ।

क्षेत्र नम्बर २ मा राजमोका कमलबहादुर बरै मगर, नेमकिपाका बखतबहादुर थापा, विप्लव समूह नेकपा (माओवादी)का कलम सिंह, रास्वपाका बखतबहादुर शाही, नेपाली कम्यूनिष्ट पार्टीका योगेन्द्रबहादुर शाही, नेकपा एमालेका लक्ष्मीप्रसाद पोखरेल, राप्रपाकी बबिताकुमारी शाहीले उम्मेदवारी दिएका छन् । त्यस्तै नेपाली काँग्रेसका दिक्पालकुमार शाही, आम जनता पार्टीकी तीर्थाकुमारी बंशीमगर, दुई जना स्वतन्त्र उम्मेदवारहरु लालबहादुर कठायत र हिमबहादुर शाहीले प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । यस क्षेत्रमा दलका उम्मेदवार र स्वतन्त्र व्यक्ति समेत ११ जनाले उम्मेदवारी दिएका छन् ।

इन्सेक रुकुम पश्चिम प्रतिनिधि जीवन खड्काका अनुसार यहाँबाट १२ जनाले मनोनयन दर्ता गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेकपा एमालेबाट नन्दराम देवकोटा, नेपाली कम्युनिष्ट पार्टीबाट गोपाल शर्मा, नेपाली कांग्रेसबाट राजु केसी, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मानबहादुर शाही, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गोपाल खड्का र राष्ट्रिय जनमोर्चाबाट सत्यनारायण श्रेष्ठले उम्मेदवारी दर्ता गरेका छन् ।

त्यस्तै नेकपा (माओवादी) बाट चन्द्रबहादुर बुढा, उज्यालो पार्टी नेपालबाट नरेन्द्र केसी, नेकपा संयुक्तबाट शेर बहादुर केसी, आम जनता पार्टीबाट प्रेमा दमाई नेपाली र नेपाल मजदुर किसान पार्टीबाट धनबहादुर बिकले उम्मेदवारी दर्ता गराएका छन् । यसपटक रुकुम पश्चिमबाट कुनै पनि स्वतन्त्र उम्मेद्वारी परेको छैन ।

इन्सेक जाजरकोट प्रतिनिधि बासुदेव शर्माका अनुसार राष्ट्रिय जनमोर्चाबाट रत्नबहादुर खड्का, उज्यालो नेपाल पार्टीबाट कर्णबहादुर नेपाली, नेपाल कम्युनिष्ट पाटी (माओवादी)बाट बल बहादुर मल्ल (पौरख), प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट मेख बहादुर वली, राष्ट्रिय स्वतन्त्र पार्टीबाट राघव कार्की, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कृष्ण विक्रम शाह, मजदुर किसान पार्टीबाट धनिराम जैसीले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट शक्ती बहादुर बस्नेत, नेकपा एमालेबाट डम्वरबहादुर सिंह, नेपाली कांग्रेसबाट खडग बहादुर बुढाले उमेदवारी दर्ता गराएका हुन् ।

इन्सेक हुम्ला प्रतिनिधि नन्द सिंहका अनुसार जिल्लामा आठ ओटा दलले मनोनयन दर्ता गराएका छन् । जसमा नेपाली काँग्रेसका जयपति रोकाया, नेकपा एमालेका दलबहादुर फडेरा, नेपाली कम्युनिष्ट पार्टीका डाक्टर दिपेन्द्र रोकाया, नेकपा माओवादीका कुम्म बुढा, राष्ट्रिय स्वतन्त्र पार्टीका टासी ल्हाजोम, राष्ट्रिय प्रजातन्त्र पार्टीका  छक्क बुढा,  प्रगतिशील पार्टीका जटिल कार्की र मितेरी नेपाल पार्टीका जयबहादुर शाहीले  मनोनयन दर्ता गराएका छन् ।

इन्सेक जुम्ला प्रतिनिधि मानदत्त रावलका अनुसार एक स्वतन्त्रसहित १० जनाले उम्मेदवारी दर्ता गरेका छन् । नेकपा एमालेबाट शान्तिलाल महत, नेपाली काङ्ग्रेसबाट दीप बहादुर शाही, नेकपाबाट नरेश भण्डारी, रास्वपाबाट बिनिता कठायत र  राप्रपाका ज्ञान बहादुर शाहीले उम्मेदवारी दर्ता गरेका हुन् ।

यस्तै नेमकिपाबाट विर्खबहादुर रावत, प्रलोपाबाट मनऋषि धिताल, नेजपाका रनिल बिक्रम शाही, नेकपा (माओवादी) बाट बिर्ख बहादुर शाही र स्वतन्त्रबाट भक्त बहादुर रावलले उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले जनाएको छ ।

मुगुमा पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा विभिन्न राजनीतिक दलका उम्मेदवारहरूले शक्ति प्रदर्शनसहित मनोनयन दर्ता गराएका छन् ।

नेपाली कांग्रेसका खडक बहादुर शाही, एमालेका पूर्ण बहादुर रोकाया, नेपाली कम्युनिस्ट पार्टीका चन्द्रबहादुर शाही, राष्ट्रीय प्रजातन्त्र पार्टी राप्रपा बल बहादुर मल्ल, विप्लव नेतृत्वको नेकपा माओवादीका रंगविर परियार, प्रगतिशील लोकतान्त्रिक पार्टी प्रलोपाका ऐटन मल्लले उम्मेदवारी दर्ता गराएका छन् ।

इन्सेक सल्यान  प्रतिनिधि रामचन्द्र रेग्मीका अनुसार १४ राजनीतिक दल र दुई स्वतन्त्र गरी १६ जनाले उम्मेदवार दर्ता गराएका छन् । नेपाली कांग्रेसबाट केशबहादुर बिष्ट, नेकपाबाट रमेश मल्ल, एमालेबाट गुलाबजंग शाह, रास्वपाबाट ललितकुमार चन्द, नेकपा माओवादीबाट चन्द्रबहादुर खडका, मजदुर किसान पार्टीबाट लालबहादुर थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अनिसा नेपाली, नेशनल रिपब्लिकन नेपालबाट डिल्लीबहादुर घर्ती, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट सन्तोषकुमार राई, आम जनता पार्टीबाट मानसिंह कामी, संयुक्त नागरिक पार्टीबाट कालीदाश विक छन् ।

यस्तै जनमोर्चाबाट कमला डाँगी, मंगोल नेसनल अर्गनाईजेसनबाट बालसिंह घर्ती, श्रम संस्कृतिबाट धनबहादुर बुढा, स्वतन्त्रबाट ध्रुवराज ओली र जुद्धकुमार सिंहले उम्मेदवारी दिएका छन् ।

इन्सेक डोल्पा प्रतिनिधि विष्णु देवकोटाका अनुसार एक स्वतन्त्र सहित नौ जनाले मनोनयन दर्ता गराएका छन् । नेकपाबाट धन बहादुर बुढा, नेपाली काँग्रेसबाट कर्ण बहादुर बुढा, नेकपा एमालेबाट लंक बहादुर रोकाया, राष्ट्रिय स्वतन्त्र पार्टीबाट देव सिंह ऐडी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हरी प्रसाद डाँगी, मितेरी नेपाल पार्टीबाट जुनु भण्डारी, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट विकास बुढा तथा उज्यालो नेपाल पार्टीबाट दिल बहादुर विष्टले उम्मेदवारी दर्ता गराएका हुन् । यसैगरी ओमेन्द्र केसीले स्वतन्त्र उम्मेदवारका रूपमा मनोनयन दर्ता गराएका हुन् ।

न्सेक कालीकोट प्रतिनिधि कालिबहादुर मल्लका अनुसार १४ जनाले उमेदवारी दर्ता गराएका छन् ।  नेपाली कम्युनिष्ट पार्टीका महेन्द्रबहादुर शाही, नेकपा (एमाले)का नगीन्द्र शाही ‘नेशनल’, नेपाली कांग्रेसका हर्षबहादुर बम र नेकपा (माओवादी)का खड्गबहादुर विश्वकर्माले उमेदवारी दर्ता गराएका छन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रकाश न्यौपाने, नेपाल मजदुर किसान पार्टीका नन्दबहादुर शाही, राष्ट्रिय जनमोर्चाका अजय गिरी, प्रगतिशील लोकतान्त्रिक पार्टीका धर्मराज न्यौपाने र देशभक्त पार्टीका प्रेमसिंह तिरुवाले उम्मेदवारी दर्ता गराएका हुन् ।

यसैगरी नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार महेन्द्रबहादुर शाहीविरुद्ध सोही पार्टीका नेता जीवन बुढाले स्वतन्त्र उमेदवारी दिएका छन् भने नेपाली कांग्रेसका उमेदवार बमविरुद्ध सोही पार्टीका भुपेन्द्रजंग शाहीले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।  अन्य स्वतन्त्र उमेदवारहरूमा मानबहादुर तिरुवा र अस्मिनकुमार विष्टले पनि आफ्नो स्वतन्त्र उमेदवारी दर्ता गराएको जिल्ला निर्वाचनको कार्यालय कालीकोटले जानकारी दिएको छ ।

कर्णाली प्रदेश कार्यालय

अन्य

भिडियो