फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनको लागि पाल्पाका दुवै निर्वाचन क्षेत्रमा गरी २९ मतदान स्थल अति संवेदनशील, ५० मतदान स्थल संवेदनशील र ३९ मतदान स्थल सामान्य रहेको प्रमुख जिल्ला अधिकारी बिनु बज्राचार्य कुँवरले बताउनु भयो । निर्वाचन स्वच्छ, निष्पक्ष, पारदर्शि र भयरहित वातावरणमा शान्तिपूर्ण तवरले सम्पन्न गर्नका लागि निर्वाचन अधिकृतका कार्यालय लागि परेका छन् ।
पाल्पामा दुई निर्वाचन क्षेत्र छन् । निर्वाचन आयोगले पाल्पा क्षेत्र नं. २ तथा मुख्य निर्वाचन अधिकृतको रुपमा जिल्ला अदालत पाल्पाका न्यायधीस हरि प्रसाद शर्मा उपाध्याय पंगेनीलाई खटाएको छ भने क्षेत्र नं. १ को निर्वाचन अधिकृतमा दशरथ पंगेनीलाई जिम्मेवारी दिएको छ ।
दुई निर्वाचन अधिकृतको कार्यालयले फागुन २१ गतेको निर्वाचनको लागि कर्मचारी नियुक्तिको काम गरेको छ । यही माघ ६ गते हुने उम्मेदवार मनोनयनको लागि आवश्यक कर्मचारीहरु काममा खटिएका छन् ।
निर्वाचन आयोगको निर्वाचन तालिका अनुसार पाल्पाका दुई वटै निर्वाचन क्षेत्रको लागि माघ २ गते देखी निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी निर्वाचनको तालिका अनुसार काममा खटिएको पाल्पाका मुख्य निर्वाचन अधिकृत हरि प्रसाद शर्मा उपाध्याय पंगेनीले बताउनुभयो ।
पाल्पामा क्षेत्र नंं १ मा मतदान स्थल ५२, मतदान केन्द्र १ सय १७ र मतदाता ९८ हजार ३ सय ८३ जना रहेका छन । पाल्पा क्षेत्र नं. २ मा ६६ मतदान स्थल, १ सय ३४ मतदान केन्द्र र १ लाख ९ हजार ५३ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय पाल्पाका निर्वाचन अधिकारी महेश शर्माले बताउनुभयो । दुवै निर्वाचन क्षेत्रमा गरी १ सय १८ मतदान स्थल र २ सय ५१ मतदान केन्द्र रहेको उहाँले बताउनुभयो ।
पाल्पा क्षेत्र नं. १ मा अतिसंबेदनशील मतदान स्थल २०, संवेदनशील मतदान स्थल २४ र सामान्य मतदान स्थल आठ रहेका छन् । त्यस्तै क्षेत्र नं. २ मा अति संवेदनशील मतदान स्थल नौ, संवेदनशील मतदान स्थल २६ र सामान्य मतदान स्थल ३१ रहेका छन् ।
निर्वाचनका लागि १ हजार ५ सय ९७ जना निर्वाचन प्रहरी खटाउने तयारी भएको छ । त्यस्तै ७ सय ५१ जना प्रहरी आवश्यक हुनेमा जिल्लामा अहिले ३ सय ९२ प्रहरी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी होमप्रसाद चौधरीले बताउनुभयो ।