INSEC Online

📅 २०८३ जेष्ठ २१

कपिलवस्तुमा ६ हजार १ सय भन्दा बढीले मतदाता नामावलीमा नाम दर्ता गराए

सरकारले आगामी फागुन २१ गते निर्वाचन गराउने तयारीसँगै कपिलवस्तुमा कात्तिक ३० गते बिहानसम्म ६ हजार १ सय ७ जनाले मतदाता नामावलीमा नयाँ दर्ता गराएका छन् ।
कपिलवस्तु जिल्ला निर्वाचन कार्यालयमा नाम दर्ता गराउनेमध्ये अधिकांश युवापुस्ताहरू र महिलाहरुको सहभागिता अत्यधिक रहेको छ ।

कपिलवस्तु निर्वाचन कार्यालय तौलिहवामा बिहान ८ बजेदेखि नै युवा र महिलाहरुको भीड लाग्ने गरेको छ । त्यही भिडमा मतदाता नामावली दर्ता गरेकी भन्नुहुन्छ– मताधिकार प्रयोग गर्ने अधिकारका लागि बिहानैदेखि लाइनमा बसेँ । हामी चारदेखि पाँच घण्टासम्म पालो कुर्नुपररे पनि खुशी छौँ । ३५ वर्षको उमेर भयो पहिलो पटक मतदान गर्ने साइत जुरेको छ ।
त्यसैगरी, महाराजगंजकी सकिया खातुन २९ वर्षको हुनुभयो । हाम्रो मुस्लिम र मधेशी महिलाहरुलाई नागरिकता बनाउने, विवाह दर्ता गरिदिने र अझ भोट हाल्नको लागि त हामीले अवसर नै पाएका हुँदैनौ । म एकदमै खुशी छु । भिड छ भनेर बिहानै आएको हो अब कतिखेर पालो आउँछ खातुनले भन्नुभयो ।

 सुध्द्धोधन गाउँपालिका– ६ का विजय लोहारले स्थानीय तहमै मतदाता नामावली दर्ता गर्ने सुविधा भएको भए यस्तो दुःख हुने थिएन, यसरी घण्टौँ लाइन बस्नुपर्दैनथ्योे । अहिले म ३४ वर्षको भए पहिलो पटक मतदाता परिचयपत्र बनाउन आएको लोहारले बताउनु भयो ।

जिल्ला निर्वाचन अधिकारी कमल भुसालका अनुसार कपिलवस्तुमा मतदाता नामावलीमा नाम दर्ता अन्तिम चरणमा पुगेको छ । सरकारले कात्तिक ३० गते अन्तिम समय भनेपनि पुन पाँच दिन थपेर मंसिर ५ गतेसम्म दर्ता गर्न सकिन्छ भनी सूचना प्रकाशित छ । “हामी जनताको सेवक हौँ । सेवाग्राही नसकुन्जेल रातिसम्म कार्यालयमा काम गरिरहेका छौँ,” अन्तिम शनिबारको दिन पनि काम गरियो भुसालले भन्नुभयो ।

जिल्ला निर्बाचन कार्यालयका सूचना अधिकारी निश्चल मुक्तानका अनुसार कात्तिक ३० गते बिहानसम्म ६ हजार १ सय ७ जनाले नयाँ दर्ता गरेका छन्, जसमा करिब ८० प्रतिशत र महिला युवा छन् ।

जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुको तथ्याङ्कअनुसार हाल जिल्लामा ३ लाख ७८ हजार २ सय ३२ मतदाता रहेका छन् । तीमध्ये २ लाख २ हजार १ सय २५ पुरुष र १ लाख ७६ हजार १ सय ५ जना महिला मतदाता रहेका छन् ।

भुसालका अनुसार बाहिरी जिल्लाका नागरिकले समेत कपिलवस्तुबाट दर्ता गर्न पाउने व्यवस्था भएकोले पनि यहाँ भीड बढेको हो । “सबै दर्ता जिल्लाका मात्रै होइनन्, केही बाहिरी जिल्लाबाट पनि यहाँ आएर दर्ता गर्नेहरू छन्,” भुसालले भन्नुभयो ।

मतदाता नामावली दर्ता र अद्यावधिक कार्य असोज १० गतेदेखि सुरु भएको हो र कात्र्तिक मसान्त अर्थात् कार्तिक ३० सम्म जारी रहने भने पनि थप ५ दिन अर्थात मंसिर ५ गतेसम्म म्याद थप गरिएको निर्वाचन आयोगले सूचना मार्फत बताएको छ । कपिलवस्तुमा मतदाता नामावली दर्ताले महिला र युवामा जागरण ल्याएको छ ।

यस जिल्लामा मधेशी महिला र मुस्लिम महिलाहरुको पनि सहभागिता विगतको तुलनामा उत्साहपूर्वक देखिएको छ । यसले महिलाहरुमा पनि जागरण ल्याएको बुझन सकिन्छ ।
लामो लाइन, समय र धैर्यतालाई जित्दै युवाहरूले आफ्नो मताधिकारको मूल्य बुझ्न थालेका छन् । जेनजी आन्दोलनपछिको राजनीतिक सङ्क्रमणमा यो उत्साहले आगामी निर्वाचनमा नयाँ पुस्ताको सहभागिता र निर्णायक प्रभाव देखाउने सङ्केत गरेको छ ।

रीमा बि.सी.

अन्य

भिडियो