INSEC Online

📅 २०८३ जेष्ठ २१

साइपाल गाउँपालिकामा भोकमरीको जोखिम बढ्दै

जिल्लाको दुर्गम गाउँपालिका साइपालमा सडक निर्माण अलपत्र परेपछि दैनिक उपभोग्य सामान ढुवानी ठप्प बनेको छ । सडक अवरुद्ध भएपछि गाउँपालिकाका पाँचै वडामा खाद्यान्न र उपभोग्य वस्तु पाइनै छोडेको छ । पसलमा राखिएका सामान सकिदै गर्दा स्थानीयमा भोकमरीको डर बढेको छ । स्थानीय बसन्त बोहराले भन्नुभयो, ‘सामान ढुवानी गर्ने खच्चड, भेडा, च्याङ्ग्राले समेत हिँड्न सक्ने बाटो छैन् । यही कारणले गाउँमा खाद्यान्न र उपभोग्य सामान अभाव भएको हो ।’

Photo 2025-08-26 Bajhang (1)

जिल्लाका १२ स्थानीय तह मध्ये ११ ओटामा सडक पुगे पनि साइपाल गाउँपालिका अझै सडक विहीन छ । पछिल्ला दुई वर्षमा मात्रै करिब ६ करोड ५५ लाख रुपियाँ खर्च भए पनि कटान गरिएको सडकमा दर्जनौँ ठाउँमा पहिरो जाँदा पैदल हिँड्ने बाटो समेत अवरुद्ध भएको छ ।

स्थानीय बजिर बोहराले भन्नुभयो ‘यदि तत्काल बाटो खुलाउने काम नभए साइपालका सबै वडामा भोकमरी हुन्छ । जनप्रतिनिधिहरू बेवास्ता गरिरहेका छन् । रित्तै हिँड्न पनि गाह्रो छ ।’

Photo 2025-08-26 Bajhang (2)

पूर्व वडा अध्यक्ष जङ्गवीर बोहराले सडक मनपरी ढङ्गले कटान भएकाले ठाउँ–ठाउँमा पहिरो जाने र ओहोरदोहोर गर्नै मुस्किल भएको बताउनु भयो । उहाँका अनुसार बाटो बन्द भएपछि व्यापारीहरूले उपभोग्य वस्तुको मूल्य समेत बढाएका छन् ।

Photo 2025-08-26 Bajhang (3)

स्थानीय घुरन बोहराले भन्नुभयो, ‘हिँड्ने बाटोमा समेत पहिरो गएको करिब १ महिना भइसकेको छ । अहिले मान्छे हिँड्ने बाटो पनि छैन, दैनिक उपभोग्य वस्तुको समेत अभाव छ ।’

स्थानीय मंगल बोहराले सीमानाका बन्द भएकाले अहिले तिब्बतमार्ग भएर सामान ल्याउने सम्भावना पनि नभएकोले सडक सुचारु नभएको खण्डमा उपभोग्य बस्तुहरुको अभाव भएर भोकमारी हुने बताउनु भयो ।

गाउँपालिका अध्यक्ष मानबहादुर बोहराले वर्षातका कारण बाटो अवरुद्ध भएको भए पनि समस्या समाधानका लागि प्रयास भइरहेको र अवरुद्ध सडक एक साताभित्र मेसिन चलाएर वा गाउँलेहरुको सहयोगमा सञ्चालनमा ल्याई नागरिकलाई भोगभारी हुनबाट जोगाउने तयारी रहेको बताउनु भयो ।

अन्य

भिडियो