
“हामी सबैको प्रतिबद्धताः लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता” भन्ने मुल नाराका साथ महोत्तरीको जलेश्वरमा ३३ औँ अन्तराष्ट्रिय लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान ०८१ मङ्सिर १० गते प्रभात फेरी कार्यक्रम गरी सुरु गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरी, जिल्ला प्रशासन कार्यालय महोत्तरी, जलेश्वर नगरपालिका तथा मानव अधिकारको क्षेत्रमा क्रियाशील इन्सेक,ओरेक, महिला मानव अधिकार रक्षक, महिला सचेतना केन्द्रलगायत विभिन्न संघ संस्थाहरूको संयुक्त आयोजनामा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको पहिलो दिन जलेश्वर नगरको परिक्रमा तथा प्रभात फेरी कार्यक्रम गरी सम्पन्न गरिएको छ ।
दुर्गा चौकमा कोण सभामा परिणत भएको प्रभात फेरी कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारि लालबाबु कवारीले महिला माथि हुने शारीरिक, मानसिक, आर्थिक तथा र लैङ्गिक हिंसाको न्यूनीकरणका निम्ति मानव अधिकारका क्षेत्रमा कार्यरत संघ संस्थाहरूले स्थानीय सरकार सँग समन्वय र सहकार्य गरी चेतनामूलक बृहत अभियान चलाउन आवश्यक रहेको बताउनु भयो ।

त्यसैगरी, जिल्ला प्रहरी कार्यालय, महोत्तरीका डिएसपी सन्तुलाल प्रसाद जयसवालले महिलाहरूलाई शिक्षा र आर्थिक क्षेत्रमा सवल, सक्षम र आत्मनिर्भर बनाउन सके मात्र लैङ्गिक हिंसाको अन्त्य गर्न सकिने बताउनु ।
महिला सचेतना केन्द्रकी अध्यक्ष साधना वर्माले मधेस प्रदेशमा दिनानुदिन बोक्सी, दाइजो तथा लिङ्गको आधारमा हुने हिंसाका घटनाहरूमा बृद्धि भइरहेकोले यसको न्यूनिकरणका लागि हरेक क्षेत्रबाट पहल र आवाज उठाउनुपर्ने बताउनु भयो ।
कार्यक्रममा बोल्दै इन्सेक महोत्तरी प्रतिनिधि ममता विश्वकर्माले महिला पनि मानव भएको हुनाले सम्मानपूर्वक र स्वतन्त्र रुपले बाच्न पाउने महिलाहरूको पनि जन्मसिद्ध अधिकार भएको बताउनु भयो । साथै महिला माथि हुने हिंसा र अपराधिक क्रियाकलाप गर्नेलाई संविधानले तय गरेको कानुन अनुरुप कारबाहि हुनुपर्नेमा विश्वकर्माले जोड दिनु भयो ।

