इन्सेक लुम्बिनी प्रदेश कार्यालयको आयोजना र डिसिएको सहयोगमा स्थालगत अध्ययन किन र कसरी विषयक क्षमता अभिवृद्धि कार्यक्रम ०८१ असार १३ गते नेपालगञ्जमा सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा इन्सेक लुम्बिनी प्रदेश कार्यालयका संयोजक भोला महतले मानव अधिकार समूहका पदाधिकारीहरूको स्थलगत अध्ययन, मौलिक हकको कार्यन्वयन अवस्था र मानव अधिकारको कुराहरू मानव अधिकारसँग कसरी जोडेर अभिलेखीकरण गर्न सकिन्छ भन्ने कराको बारेमा स्पष्ट पार्नुभयो । उहाँले मानव अधिकारकर्मीको भूमिका, सुनुवाई बुझाई कसरी गर्ने र मानव अधिकारसँग जोडेर विषय वस्तुलाई मौलिक हक अन्तर्गत पर्ने कार्यलाई कसरी सम्वाद गर्ने र प्रकृया विधि अनुसन्धान गर्ने लगाएतका बारेमा उल्लेख गर्नुभएको थियो ।
क्षमता विकासका लागि इन्सेकले ३०/३२ वर्षदेखि मानव अधिकारको क्षेत्रमा काम गर्दै जाँदा अभिलेखको महत्त्वबारे बताउँदै घटनाहरूको स्थलगत अध्ययन अवलोकन, सम्बोधनमा परिपमार्जित हुँदै अभिलेखीकरण गर्दै आएको र आफूहरूले पनि क्षमता सीप विकास गर्दै जानुपर्ने संयोजक महतको भनाइ छ ।
त्यस्तै कार्यक्रममा अधिवक्ता लोकबहादुर शाहले संविधानको भाग ३ मा मौलिक हक र कर्तब्यको व्यवस्था गरिएको छ, जसमा १६ देखि धारा ४७ सम्म ३२ ओटा मौलिक हकको व्यवस्था गरिएको छ भने धारा ४८ मा नागरिकको मौलिक कर्तब्यको व्यवस्था गरिएको उल्लेख गर्नुभयो । उहाँले सम्मानित जीवनको हक, स्वतन्त्रतासम्बन्धी हक, समानता, अविभेद, यातना विरुद्धको हक, फौजदारी न्यायको हक,न्यायिक उपचारको हक जस्ता नागरिक हक, राजनीतिक प्रकारका सङ्गठन खोल्ने जस्ता हक अधिकार भएको बताउनु भयो । नेपालको संविधान २०७२ मा भएको मौलिक हक अन्तर्गतको कुरा कार्यान्वयनका लागि सबैको महत्त्वपूर्ण भूमिका भएकोले यसको अध्ययन जरुरी रहेको बताउनु भयो ।
मानव अधिकार उल्लङ्घन घटनाको स्थलगत अध्ययन र तथ्य सङ्कलन प्रभावकारी बनाउन समुदायसँग मानव अधिकारकर्मीहरूको भूमिका, स्थालगत घटनाको अध्ययन, अवलोकन तथा अभिलेखीकरणमा विवेक सीप अभ्यासको महत्त्वपूर्ण भूमिका रहेकाले मानव अधिकारकर्मी प्रकाश उपाध्यायले बताउनु भयो । उहाँले प्रतिवेदन लेखन, प्रस्तुतीकरण, सहजीकरण ज्ञान, सीप र क्षमताको अध्ययन अवलोकन निकै महत्त्वपूर्ण रहेको बताउनु भयो ।
कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै डिसिए कार्यक्रम अधिकृत टेकनाथ आचार्यले मानव अधिकार एवम् वस्तु सम्बन्धमा सोही स्थानमा पुगेर गरिने अवलोकन तथा सुचना सङ्कलनलाई नै स्थलगत अध्ययन भएको बताउनु भयो । उहाँले मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको अभिलेखीकरणमा स्थालगत अध्ययन निकै महत्त्वपूर्ण रहेको बताउनु भयो ।


