एसिया तथा प्रशान्त क्षेत्रका सहरी विकाससम्बन्धी संस्थाहरूको सञ्जाल(सिटिनेट) नेपाल राष्ट्रिय अध्यायको वार्षिक साधारणसभा एवम् पहिलो अधिवेशन सम्पन्न भएसँगै इन्सेक संस्थागत सदस्यमा निर्वाचित भएको छ ।

विराटनगरमा ०८० भदौ २१ गते सम्पन्न भएको अधिवेशनले इन्सेक चार वर्षे कार्यकालका सिटिनेटको संस्थागत सदस्यमा निर्वाचित भएको हो ।
सिटिनेट नेपाल अध्यायको अधिवेशनको अधिवेशनले विराटनगर महानगरपालिकालाई राष्ट्रिय कार्यसमितिको अध्यक्षमा चार वर्षे कार्यकालको लागि निर्वाचित गरेको सिटिनेट नेपाल राष्ट्रिय अध्याय निर्वतमान अध्यक्ष मीनाकुमारी लामाले बताउनु भयो ।
अन्तर्राष्ट्रिय रूपमा विभिन्न देशहरूमा सो देशको नगरपालिका सदस्य रहने संस्था सिटिनेटको नेपाल अध्यायको पहिलो अधिवेशनबाट विराटनगर महानगरपालिका अध्यक्षमा निर्वाचित भएको हो ।
कार्यसमितिको उपाध्यक्षमा बुटवल उपमहानगरपालिका, महासचिवमा तानसेन नगरपालिका, कोषाध्यक्षमा भीमदत्त नगरपालिका निर्वाचित भएको छ ।
राष्ट्रिय कार्यसमिति सदस्यमा पोखरा महानगरपालिका, भरतपुर महानगरपालिका, वीरगञ्ज महानगरपालिका, वीरेन्द्रनगर नगरपालिका, जीतपुर सिमरा उपमहानगरपालिका, मानार्थ सदस्यमा ललितपुर महानगरपालिका, होस्ट संस्थाको रूपमा भूकम्प प्रविधि समाज नेपाल र हेटौडा उप–महानगरपालिका निर्वाचित भएका छन् ।
हाल देशभरको २१ ओटा नगरपालिकाहरू सदस्य रहेको संस्थामा थप १ लाख भन्दा बढी सदस्य रहेको २१ ओटा नगरपालिकाले सदस्यताको लागि आवेदन पेश गरेको संस्थाको निवर्तमान अध्यक्ष हेटौडा उपमहानगरपालिका मेयर मीनाकुमारी लामाले जानकारी दिनु भयो ।
सिटिनेटले अधिवेशनबाट सदस्य स्थानीय तहहरूको प्रविधियुक्त सहरी विकास प्रणालीको प्रवद्र्धन, फोहरमैलाको व्यवस्थापन, दीगो विकास लक्ष्य २०३० र गुणस्तरीय विकास व्यवस्थापनमा सहकार्य गर्नेछ ।
सिटिनेटले आफ्ना सदस्यहरूलाई जलवायु परिर्वतन, प्रकोप व्यवस्थापन, दीगो विकासका लक्ष्यहरूको आन्तरिकीकरण, सामाजिक सुरक्षा र व्यवस्थित पूर्वाधारसम्बन्धी कार्यमा सहजीकरण र सहकार्य गर्नेछ ।
स्थानीय तहमा विपद् जोखिम न्यूनीकरण तालिम तथा अनुसन्धान केन्द्रको स्थापना गर्ने सिटिनेटले जनाएको छ ।