अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानद्वारा संयुक्त रूपमा आयोजित “लोकतन्त्र र निर्वाचन” विषयक छलफल कार्यक्रम ०८२ कात्तिक २५ गते काठमाडौँमा सम्पन्न भएको छ । छलफल कार्यक्रममा लोकतन्त्रको भविष्य, ०८२ फागुन २१ मा हुने आगामी निर्वाचनलाई सफल बनाउन जेनजी युवा समूह र राजनीतिक दलको भूमिका साथै स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनका लागि सरोकारवालाहरुको कर्तव्यका सन्दर्भमा विस्तृत छलफल गरिएको थियो ।
इन्सेकका संस्थापक अध्यक्ष तथा टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानका अध्यक्ष सुशील प्याकुरेलले पुस्तान्तरणीय सहकार्यको आवश्यकता औंल्याउँदै नयाँ पुस्ताका आकांक्षा पुरानो पुस्ताको अनुभवले सन्तुलन गर्नुपर्ने बताउनुभयो । उहाँले राजनीतिक दलहरूलाई सामूहिक बुद्धिमत्ताको संस्था मानेर व्यक्तिगत स्वार्थभन्दा माथि रहन आग्रह गर्दै राजनीतिक दलहरू सार्वजनिक संस्था भएकाले नागरिकप्रति उत्तरदायी हुनुपर्ने बताउनु भयो ।

भियतनाम आन्दोलनका बखत आफु १४ वर्षको उमेरमा नागरिक आन्दोलनमा सहभागी भएको अनुभव स्मरण गर्दै हालको जेनजी आन्दोलनलाई सुधार र रूपान्तरणको बाटोको रूपमा उहाँले व्याख्या गर्नुभयो।
आगामी फागुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनलाई विश्वसनीय बनाउन सुझाव माग्दै राजनीतिक असफलताका गम्भीर असरहरूबारे उहाँले चेतावनी समेत दिनुभयो ।
नेकपा एमालेका नेता योगेश भट्टराईले मतदान प्रणालीलाई डिजिटल बनाउने, कानुनी पारदर्शिता कायम गर्ने र बैंकिङ प्रणाली र महालेखा परीक्षण मार्फत राजनीतिक दलका खर्च नियमन गर्ने प्रस्ताव समेत राख्नु भयो । उहाँले राजनीतिक दलको आन्तरिक परिमार्जनका क्रममा नयाँ नेतृत्व आवश्यक रहेको विषयमा जोड दिनुभयो ।

पूर्व माओवादी केन्द्रका नेता माधव सापकोटाले जेनजी आन्दोलनलाई “क्रान्तिकारी चेतना”को रूपमा लिनुपर्ने बताउँदै सबै दलहरूलाई साझा जिम्मेवारी बहन गर्न आग्रह गर्नुभयो । उहाँले नेपाल कम्युनिष्ट पार्टी पुनर्संरचनामा रहेको जानकारी दिंदै लोकतन्त्र केवल मतदान नभई चेतना र सहभागिताको अभ्यास भएको जिकिर गर्नुभयो ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका महासचिव कविन्द्र बुर्लाकोटीले युवामैत्री निर्वाचन हुनुपर्ने, राजनीतिक दललाई जबाफदेही बनाउनु पर्ने, प्रवासी नेपालीहरुलाई मतदान गर्ने वातावरण बनाउनु पर्ने र नागरिक समाज राजनीतिक दल र राजनीतिक चलखेलबाट स्वतन्त्र हुनुपर्ने बताउनु भयो ।
उक्त छलफलमा जेनजी मोभमेन्ट रिभोलुसनका प्रतिनिधी रिजन राना मगरले जेनजी आन्दोलनका बेला राजनीतिक दलहरूको मौनता र सरकारले लगाएको सामाजिक सञ्जाल प्रतिबन्धको आलोचना गर्नुभयो।
उहाँले ०८२ भदौ २३ गतेको हिंसालाई बेवास्ता गरेर भदौ २४ का घटनाहरुलाई मात्र स्मरण गर्ने प्रवृत्तिलाई ‘चयनात्मक स्मृति’को उदाहरण बताउनु भयो । उहाँले राज्यले पनि नागरिकप्रति क्षमाभाव देखाउनुपर्ने आवश्यकता औंल्याउनुभयो । अहिले राज्यलाई संक्रमणकालबाट सामान्य अवस्थामा फर्काउन आवश्यक रहेको बताउँदै, संयुक्त राष्ट्र संघको मञ्चमा समेत नेपालका स्थायी नियोकका प्रतिनिधिले जेनजी आन्दोलनका सकारात्मक पक्षलाई मात्रै उठान गरिएका कारण नेपालका राजनीतिक दलहरुले समस्या र क्षतिका घटनाहरुलाई मात्रै उजागर गर्ने तर सकारात्मक परिवर्तनका विषयलाई नागरिक समाजले समर्थन गर्नुपर्ने बताउनु भयो । उहाँले पुराना राजनीतिक दलहरुलाई डिजिटल डेमोक्रेसीमार्फत उनीहरुका गतिविधिमा पारदर्शिता हुनुपर्नेमा जोड दिनुभयो ।
जेनजी प्रतीनिधि लुजा महर्जनले पैसामा आधारित राजनीति र अन्यायपूर्ण कर नीतिहरू ‘जनविरोधी’ भएकाले आवश्यक सुधारका लागि सरकारसँग आग्रह गर्नुभयो ।
कार्यक्रममा सहभागीहरूले जेनजी पुस्ताको विचारधाराको उत्पत्तिबारे प्रश्न उठाए भने युवाहरूले आफ्नो पुस्ताभित्रकै विभाजन र असमझदारीबारे चिन्ता व्यक्त गरे । सहभागीहरूले निर्वाचनलाई लोकतन्त्रको मेरुदण्ड माने पनि अहिलेको प्रणालीले युवालाई पन्छ्याएको बताए । मतदाता परिचयपत्रको प्रक्रिया अझै जटिल रहेको र प्रवासी नेपाली मतदाताहरूले कठिनाइ भोगिरहेका उनीहरूले बताए । छलफलमा सहभागीहरूले “यदि चुनाव पैसामा निर्भर रह्यो भने लोकतन्त्र टिक्ला त?” भने प्रश्न समेत उठाएका थिए ।
छलफलमा तेज पी. तिमिल्सिनाले हालैका घटनाहरू दुर्भाग्यपूर्ण भएको भन्दै जेनजी आन्दोलनभित्रकै आन्तरिक विभाजन समाधान गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो ।
कानुन व्यवसायी इन्द्र अर्यालले राजनीतिक दलले आत्मआलोचना गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले मसल र मनी विनाको निर्वाचन अपरिहार्य रहेको बताउँदै न्यायालयलाई स्वतन्त्र र राजनीतिक प्रभावविहीन बनाउनु पर्ने बताउनु भयो ।

सहभागी सुधा पोखरेलले युवाको आकांक्षा र चाहनाहरू अझै सम्बोधन नभएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । सहभागी अमृत खरेलले पुराना दल सुधार्ने वा नयाँ दल गठन गर्ने विषयमा खुला प्रश्न उठाउँदै पारदर्शिता र विश्वासको अभावलाई मुख्य चुनौतीका रूपमा लिनुपर्ने उल्लेख गर्नुभयो ।
युवा मानव अधिकारकर्मी बरुण बस्यालले प्रभावकारी लोकतन्त्रका लागि निर्वाचनलाई राजनीतिक र आर्थिक प्रभावबाट मुक्त गर्नुपर्नेमा जोड दिनु भयो ।
त्यस्तै युथ इनिसिएटिभ (युवा अभियान) का अध्यक्ष पवन गौतमले चुनाव अवधिमा नेतृत्व अत्यधिक केन्द्रीकृत हुने समस्या औंल्याउँदै दल र युवाबीच सहकार्य आवश्यक रहेको बताउनु भयो । उहाँले मतदाता सचेतना र निर्वाचन शिक्षामा दुवै पक्षको सक्रिय भूमिका आवश्यक रहेको औंल्याउनु भयो ।
छलफलमा उपस्थित सहभागीहरूले फागुन २१ को निर्वाचनलाई नेपालको लोकतान्त्रिक निरन्तरता कायम राख्न अत्यन्त महत्वपूर्ण रहेको भन्दै, युवाको समावेशीता, पारदर्शिता, निष्पक्ष निगरानी र पुस्तान्तरणीय संवादलाई लोकतन्त्रको भविष्य सुनिश्चित गर्ने मुख्य आधारका रूपमा औंल्याए ।
छलफलका क्रममा सहभागीहरूले बलियो निगरानी संयन्त्र र युवाको सक्रिय सहभागिता बिना निष्पक्ष निर्वाचन सम्भव नहुनेमा उनीहरूले जोड दिए ।
छलफल कार्यक्रममा सहभागीहरूलाई स्वागत गर्दै इन्सेक वागमती प्रदेश कार्यालयका संयोजक शिव खुरेलले आगामी निर्वाचन निष्पक्ष रूपमा सम्पन्न गर्न सबै पक्षहरूको साँझा जिम्मेवारी रहेको उल्लेख गर्नुभयो ।














