डिसिए नेपाल र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को साझेदारीमा संरक्षण परियोजना अन्तर्गत राप्तीसोनारी गाउँपालिका स्तरीय मानव अधिकार समूहको बैठक ०८२ कात्तिक २७ गते राप्तीसोनारी गाउँपालिका–२ को अगैयामा सम्पन्न भएको छ । समूहको अध्यक्ष धनी वलीको अध्यक्षतामा सम्पन्न बैठकमा पालिका तहको मानव अधिकारको स्थिति, स्थानीय निकायले प्रदान गर्ने शिक्षा, स्वास्थ्य, कृषि, वातावरणीय अधिकार, भौतिक पूर्वाधारमा नागरिकहरुको पहुँचको स्थितिको बारेमा छलफल भएको थियो ।

बैठकमा सहभागीहरुले मानव अधिकार समूह आफ्नो समुदायमा सक्रिय हुँदैजादा घरेलुहिंसा, महिला तथा बाल अधिकार हनन्, बाल यौनदुर्व्यवहार, बलात्कार र जातीय विभेद जस्ता घटनाका पीडितहरुले सम्बन्धित निकायसम्म पुग्न सहजता भएको, समूहका सदस्यहरुले स्थानीय तहको योजना तर्जुमा बैठकमा उपस्थित भई गाउँ तहको विकास निर्माणको समस्या उठाउँदा सम्बोधन भई समुदायलाई राहत पुगेको बताउनु भएको थियो ।
मानव अधिकार समूह अध्यक्ष धनी वलीले समूहका सबै सदस्यहरुले स्थानीय निकायसँग समन्वय र सहकार्य गर्दै समुदायको समस्या सहजिकरण गर्दा काम प्रभावकारी भएको र पीडितले न्याय प्राप्त गर्न सहजता भएका बताउनु भयो ।

मानव अधिकार समूह सचिव प्रेम चौधरीले लागु औषध न्यूनिकरणकालागि युवाहरुको सहभागितामा सचेतना कार्यक्रम गर्ने गरेको, बालविवाह न्यूनिकरण गर्न समुदायमा छलफल गर्ने गरेको, खेतीको समयमा किसानलाई अनुदानमा बिउ मल उपलब्ध गराउन पैरवी तथा वकालत गर्ने गरेको, दुर्घटना बढी हुने ठाउँमा दुर्घटना न्यूनिकरणका लागि सचेतना कार्यक्रम गर्ने गरेको अनुभव बताउनु भयो ।

गरिब र विपन्नहरु बसोबास गर्ने बस्तीहरुमा बाटोको पहुँच नपुगेको स्थानमा पालिकामा पुगेर आवाज उठाउने गरेको समूहकी सदस्य पार्वती नेपालीले बताउनु भयो । साथै उहाँले जनता आवास कार्यक्रम अन्तर्गत तीन दलित परिवार आवासबाट वञ्चित भएकाले वडा र गाउँपालिकामा पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
शारीरिक रुपमा अपाङ्ग रहेकी समूह सदस्य सरिता गिरीले टोलमा रहेको समस्याहरुको पहिचान गरी योजना छनौटमा भाग लिएपछि योजना छनौट भई साँघुरो र धुलाम्य बाटो फराकिलो हुँदै ग्राभेल भएको, सरसफाइमा वृद्धि भई वातावरणमा स्वच्छता आएको र समूहमा काम गर्दै जाँदा आफूमाथि विश्वास तथा पहिचान बढ्दा पालिकास्तरीय अपाङ्ग सञ्जालको उपाध्यक्ष पदको नेतृत्व प्राप्त भएको अनुभव सुनाउनु भयो ।

समूह सदस्य लक्ष्मी चौधरीले बाँके राष्ट्रिय निकुञ्जले गर्दा मानिसहरु बाघको आक्रमणमा पर्ने गरेको र असुरक्षा बढ्दै गएकोले दिगो समाधानका लागि निकुञ्जसँग छलफल गरी दबाब सिर्जना गरेको र पीडित परिवारलाई राहतका लागि वन कार्यालयमा सहजिकरण गरेको बताउनु भयो ।
बैठकमा इन्सेक कार्यक्रम अधिकृत टेकनाथ आचार्यले समूहको दिगो विकासका लागि मानव अधिकार समूहका सदस्यहरुले वडा कार्यालय र पालिकासँग नजिकको सम्बन्ध राख्नु पर्ने, नियमित रुपमा भेटघाट गर्नु पर्ने, आफूहरुले गरेका असल अभ्यासहरु सम्बन्धित निकायलाई जानकारी गराउनुपर्ने, वडा तथा पालिकाले आयोजना गरेको सम्बन्धित कार्यक्रहरुमा सकृय सहभागिता जनाउने र मानव अधिकरको प्रवर्धनका लागि कार्यक्रमहरु सञ्चालनका लागि स्थानीय निकायसँग वकालत र पैरवी गर्नुपर्ने जस्ता सुझावहरु दिनुभएको थियो ।
बैठक १७ जनाको सहभागिता रहेको थियो । जसमा ११ जना महिला, ६ जना पुरुष, चार जना शरीरिक रुपमा अपाङ्गता रहेका व्यक्तिहरु थिए ।
