अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), बैतडीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम ०८० असार ११ गते जिल्ला सदरमुकाम गोठालापानीमा सम्पन्न भएको छ ।
इन्सेक बैतडी प्रतिनिधि नरी बडुले सन् २०२३ जनवरीदेखि जुनसम्मको अवधिमा जिल्लामा ३४ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना भएको तथ्याङ्क समीक्षा कार्यक्रममा प्रस्तुत गर्नु भएको थियो ।
इन्सेक बैतडी प्रतिनिधिका अनुसार जिल्लामा ६ महिनाको अवधिमा बलात्कारबाट पाँच बालिका र पाँच जना महिला पीडित भएका छन् भने बालविवाहबाट एक र बहुविवाहबाट एक जना पीडित भएका छन् । दुई जनाको हत्या भएको छ भने जातीय विभेदबाट एक जना र कुटपिट घटनाबाट दुई जना पीडित भएका छन् ।
जिल्ला अदालत, बैतडीका न्यायाधीश जयानन्द पनेरुले इन्सेकले न्यायिक समितिको काम कार्वाहीका बारेमा पनि सुक्ष्म रुपमा अध्ययन तथा मुल्याङ्कन गरी वर्ष पुस्तकमा सार्वजनिक गर्नु पर्ने सुझाव दिनु भयो ।
उहाँले भन्नु भयो– ‘इन्सेकले मानव अधिकारको क्षेत्रमा वकालत तथा पैरवी गर्दै आएको छ । जसका कारण मानव अधिकारको अवस्थामा समेत सुधार ल्याउन मदत पुगेको छ । आगामि दिनमा इन्सेकले न्यायिक समिति आएका घटनाहरुको पनि विश्लेषण गर्नु जरुरी छ ।’
प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले वर्ष पुस्तकमा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका विषयबस्तुले प्राथमिकता पाउनु पर्ने बताउनु भयो ।
कार्यक्रममा जिल्ला न्यायाधीश जयानन्द पनेरु, प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी, प्रमुख न्यायाधिवक्त, सशस्त्र प्रहरीका डिएसपी, कानुन व्यवसायी, अधिकारकर्मी लगायत पत्रकारहरुको उपस्थिति रहको थियो ।

