मन्थली नगरपालिकाको आयोजना तथा गैर सरकारी संस्था महासङ्घ रामेछाप¸ इन्सेक र जिल्ला प्रहरी कार्यालय रामेछापको समन्वय तथा सहकार्यमा ०८२ मंसिर २४ गते आयोजित अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरूले मानव अधिकारको अवस्था सन्तोकजनक नरहेको बताएका छन् ।
मानव अधिकार उल्लंघनका घटना तथ्याङ्कमा कम भएता पनि मानव अधिकारको क्षेत्रमा चुनौती कायमै रहेको वक्ताहरुले बताएका निष्कर्ष छ ।

रामेछापका प्रहरी प्रमुख प्रहरी नायव निरीक्षक भोला प्रसाद भट्टले मानव अधिकार सम्बन्धी घटना सबै प्रहरीमा नआउने बताउनु भयो । जिल्लामा दर्ता भएका मुद्दाहरू कम बढी भए पनि रामेछाप जिल्लामा मानव अधिकारका सवालमा सन्तोक जनक उपलब्ध हासिल गर्न नसकेको बताउनु भयो ।
प्रहरीले मनोबल उच्च राखेर नागरिकको जिउधन¸ आफ्नो जिउधन¸ सार्वजनिक संरचना र शान्ति सुरक्षामा अमन चयन कायम राख्नु पर्ने जिम्मेवारी भएको उहाँले बताउनुभयो ।
कार्यक्रममा गैर सरकारी संस्था महासङ्घ रामेछापका अध्यक्ष रत्न प्रसाद कडेंलले कार्यस्थलमै मानव अधिकार हनन हुने गरेको बताउनु भयो । कार्यक्षेत्र नै मानव अधिकार दृष्टिकोणले सुरक्षित नरहेको उहाँको भनाइ छ ।
अधिवक्ता तथा मानव अधिकारकर्मी पाण्डव प्रसाईँले मानव अधिकारको दृष्टिकोणले अहिलेको अवस्था नाजुक रहेका कारण कुनै विषयमा अभिव्यक्ति दिन नसकिने अवस्था नरहेको बताउनु भयो । उहाँले राजनीतिक दल र नेताका घर सम्पत्ति जलाइएको¸ नेतालाई आफ्नो अभिव्यक्ति दिन रोकिएको¸ सुरक्षा निकायको बर्दी खोसेर मनोबल गिराइएको अवस्थामा सबै जना संयमित भएर अघि बढ्नु पर्ने बताउनु भयो ।

ज्येष्ठ नागरिक समाज रामेछापका अध्यक्ष नारायणदास श्रेष्ठले ज्येष्ठ नागरिक पनि लैङ्गिक हिंसामा पर्ने गरेको बताउनु भयो । उहाँले राज्यले छुटाएको सेवा समेत नपाएको गुनासो गर्नु भयो । कार्यक्रममा आफ्नो कार्य प्रस्तुत गर्दै इन्सेक रामेछापका प्रतिनिधि तथा मानव अधिकारकर्मी नवराज पथिकले रामेछापमा सबै प्रकारका हिंसा र मानव अधिकार उल्लंघनका घटना हुने गरेको बताउनु भयो । जिल्लामा कुनै वर्ष मानव अधिकार उलंघनका घटना कम हुने गरेको र कुनै वर्ष बढेको देखिए पनि यस्ता घटना नियन्त्रण गर्न नसक्नु चुनौतीको विषय भएको छ ।
मन्थली नगरपालिकाकी उपप्रमुख ईश्वरी बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा रामेछापमा मानव अधिकारका क्षेत्रमा काम गर्ने सङ्घ संस्था¸ जनप्रतिनिधि¸नागरिक समाजका अगुवा पत्रकार सुरक्षा निकाएका अधिकारी लगाएको उपस्थिति रहेको थियो । 