अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशको आयोजनामा ०८२ कात्तिक ३० गते हेटौडामा बागमती प्रदेश स्तरीय मानव अधिकार रक्षक सञ्जाल गठन गरिएको छ ।
बागमती प्रदेश स्तरीय मानव अधिकार रक्षक सञ्जालमा अधिवक्ता दिपेन्द्र ढकालको संयोजकत्वमा २१ सदस्यीय कार्य समिति चयन भएको छ ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालय प्रमुख चन्द्रकान्त चापागाईंले इन्सेकले गर्दै आएको मानव अधिकारको संरक्षण र संवद्र्धनको कार्यलाई मानव अधिकार रक्षक सञ्जालले थप तिव्रता दिनुपर्ने आवश्यकता रहेको बताउनु भयो ।
उहाँले मानव अधिकारका सवाल आफैमा चुनौतीपूर्ण रहेको बताउँदै आफ्नो र अन्य नागरिकहरुको संरक्षणका लागि राष्ट्रिय मानव अधिकार आयोगको सदैव सहयोग र सहकार्य रहने बताउनु भयो ।

गैरसरकारी महासंघका केन्द्रीय सदस्य बुद्धचरण लामाले मानव अधिकार रक्षकहरुले आत्मसमिक्षा गर्दै समयानुकूल आफ्नो भूमिका परिवर्तन गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले गैरसरकारी संस्था महासंघ बागमती प्रदेशको सभाहललाई संजालको बैठकका लागि निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।
गैसस महासंघ बागमती प्रदेशका कार्यबाहक अध्यक्ष कमल कुमार विश्वकर्माले मानव अधिकार रक्षक सञ्जालको सक्रियतामा बागमती प्रदेशमा मानव अधिकार अभियान सञ्चालनका लागि शुभकामना व्यक्त गर्दै आवश्यक साथ, सहयोग र समन्वयका लागि प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।
इन्सेक बागमती कार्यालयका संयोजक शिव खकुरेलले स्वागत मन्तव्य राख्दै मानव अधिकार रक्षक सञ्जालको सक्रियतामा विगतमा हासिल गरेका उपलब्धिहरुलाई स्मरण गर्दै मानव अधिकारका सवालको समाधानमा मानव अधिकारकर्मीको महत्वबारे स्पष्ट पार्नु भयो ।

अधिकारकर्मी प्रकाश खतिवडाले मानव अधिकार रक्षक सञ्जालले मानव अधिकारका सवालहरुमा आवश्यकता अनुसार सहजिकरण गर्दै मानव अधिकार मैत्री प्रदेशका रुपमा बागमती प्रदेशलाई चिनाउन अधिकारर्मीहरुले महत्वपूर्ण भुमिका खेल्नु पर्ने बताउनु भयो ।
उक्त कार्यक्रममा सहभागीहरूलाई चार समूहमा विभाजन गरिएको थियो । चार ओटै समूहका सहभागीहरुले प्रतिनिधिहरु चयन गरी प्रस्तुतीकरण समेत गरेका थिए ।
मानव अधिकारका सवालमा महिला, युवा, बालबालिका र शिक्षा उपसमिति, वातावरणीय उपसमिति, नागरिक तथा अभिव्यक्ति स्वतन्त्रता उपसमिति, दलित अधिकार, अहिंसा र अविभेद उपसमिति समेत गठन भएका छन् ।
अधिवक्ता दिपेन्द्र ढकालको संयोजकत्वमा बनेको बागमती प्रदेशस्तरीय मानव अधिकार रक्षक सञ्जालमा नातीबाबु धिताल—सहसंयोजक, सरिता दाहाल सचिव र अर्जुन श्रेष्ठ कोषाध्यक्षमा चयन हुनुभएको छ ।
यसैगरी सदस्यहरुमा सीता मतल, शारदा चौलागाई, विमला गोपाली, अन्जिना गिरी, आशिष बुढाथोकी, रुद्र बहादुर खड्का, विनोद ढकाल, अस्मिता प्रजा, पवित्रा वि.क, कुमारी वाइबा, आस्मा भण्डारी, गोविन्द प्रसाद न्यौपाने, सुमित्रा आचार्य, कवि पौडेल, अविनाश प्रजा, पवन गौतम र सागर गौतम चयन हुनु भएको छ ।
त्यस्तै संजालले सल्लाहकार समितिमा छ जना चयन गरेको छ । जसमा चन्द्रकान्त चापागाई, प्रकास खतिवडा, झविन्द्र ज्ञवाली, कमलकुमार विश्वकर्मा, रमिला सापकोटा र रन्जन पौडेल रहनु भएको छ ।
कार्यक्रममा इन्सेक बागमती प्रदेश कार्यालयका सहायक प्रलेख अधिकृतले इन्सेकका विगतका उपलब्धिहरु, आगामी तीन वर्षका लािग इन्सेकले तय गरेका गतीविधिहरु, मानव अधिकार रक्षक सञ्जालको महत्व, औचित्य र भुमिकामा सन्दर्भमा प्रस्तुतीकरण गर्दै कार्यक्रमको सञ्चालन र सहिजकरण गर्नु भएको थियो ।