INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाकी पीडितलाई इन्सेकद्वारा आर्थिक सहयोग

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालय अन्तरगतको मानव अधिकार सहायता कक्षले बलात्कार घटनाकी पीडित १८ वर्षीया युवतीलाई ०८१ असोज १८ गते आर्थिक सहयोग १० हजार रुपियाँ प्रदान गरेको छ ।

पीडितलाई आर्थिक सहयोग १० हजार रुपियाँ चेकमार्फत इन्सेक मधेस प्रदेशका संयोजक राजु पासवानले हस्तान्तरण गर्नुभयो ।

पीडित युवतीलाई रामगोपालपुर नगरपालिका-३ दोलाठीका ५० वर्षीय उमेश मण्डलले विभिन्न प्रलोभन देखाएर आफ्नो घरमा लगी साउन १८ गते बलात्कार गरेको भन्दै पीडितले भदौ १९ गते जिल्ला प्रहरी कार्यालय महोत्तरीमा उजुरी दिनु भयो । घटनाको क्रममा पीडितको हात नजिकको टेबलमा रहेको विजुलीको नाङ्गो तारमा छुन पुग्दा करेन्ट लागि बायाँ हातको बुढी र कान्छी औंला जलेको छ । सोही दिन आरोपितले पीडितलाई उपचारको लागि रामगोपालपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्र लगेका थिए । उपचारको क्रममा प्रहरीलाई घटना शङ्कास्पद लाग्दा प्रहरीले युवतीलाई सोधपुछ गरेपछि पीडितले घटनाबारे जानकारी दिएका थिए र लगतै आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका एसपी पोखरेलले बताउनु भयो । आरोपितलाई असोज १३ गते पुर्पक्षका लागि कारागार पठाएको श्रेष्ठदार नुतन झाले जानकारी दिनु भयो । पीडितको स्वास्थ्य परीक्षण भदौ १८ गते प्रादेशिक अस्पताल जलेश्वरमा भएको छ ।

पीडित युवती गरिव तथा असहाय रहेको र जलेका दुई ओटा औंलाहरूको सल्यक्रिया गर्नु पर्ने भएको हुनाले उक्त कार्यकोलागि सहयोग पुग्ने उद्देश्यले उनलाई सहयोग गरेको इन्सेक मधेस प्रदेशका संयोजक राजु पासवानले बताउनु भयो ।

त्यसैगरी, इन्सेक मधेस प्रदेशका संयोजक राजु पासवानको नेतृत्वमा एडभोकेसी फोरम नेपालका मधेस प्रदेश संयोजक राजकुमार महासेठ, इन्सेक महोत्तरी जिल्ला प्रतिनिधि ममता विश्वकर्मा र पत्रकार तथा मानव अधिकारकर्मी रञ्जन भण्डारी सहितको टोलिले घटनाको अनुगमन भदौ २४ गते गर्नु भएको थियो ।

अनुगमनको क्रममा पीडितको स्वास्थ्य अवस्था बारे बुझ्नका लागि प्रादेशिक अस्पताल जलेश्वर पुग्नु भएको टोलीले अस्पतालका अध्यक्ष मिनु झा, ओसिएमसिका इन्चार्ज रिङ्कु साह र प्रहरी हवल्दार सुरेन्द्र ठाकुरसँग भेट्घाट गर्नुभएको थियो । विजुलीको करेन्टका कारण पीडितको बायाँ हातको दुई ओटा औंलाहरू जलेका छन् जस मध्ये कान्छी औंला काट्नु परेको अवस्था रहेको, बाँकी औलाहरूको अवस्था पनि सामान्य नरहेको, पाठेघरमा संक्रमण भई रक्तस्राव भएको पीडितको स्वास्थ्य उपचारमा खटिएका अस्पतालका नर्श बिना तिवारीले अनुगमन टोलीलाई जानकरी दिनु भएको थियो ।

अन्य

भिडियो