INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रदेश स्तरीय वार्षिक कार्यक्रम समीक्षा बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा प्रदेश स्तरीय वार्षिक कार्यक्रम समीक्षा बैठक ०८१ असार १३ गते नेपालगञ्जमा सम्पन्न भएको छ ।

बैठकमा इन्सेक लुम्बिनी प्रदेश कार्यालयका संयोजक भोला महलतले मानव अधिकार अन्तर्गत शिक्षा कार्यक्रम सञ्चालन भएको दुई वर्षको अवधिमा के के उपलब्धी भए, काम गर्ने दौरानमा आएका चुनौती के कस्ता रहे भन्ने विषयमा समीक्षा गर्न यो कार्यक्रम राखिएको बताउनु भयो । उहाँले प्रत्येक स्थानीय तहले मानव अधिकार सम्बन्धी पाँचौँ राष्ट्रिय कार्ययोजना कार्यन्वयनका लागि समिति गठन गर्नुपर्ने भएकोले स्थानीय गाउँपालिका, नगरपालिकामा गठनका लागि पहल गर्नुपर्ने बताउनु भयो ।

समिक्षा बैठकमा जानकी गाउँपालिका मानव अधिकार समूहका अध्यक्ष मोहमद जाहिर शेखले धरै प्रयास गरेर गाउँपालिकामा दर्ता गर्न सफल भएको बताउँदै गाउँपालिकाबाट बजेट माग गरी जानकीका ६ ओटै वडामा मानव अधिकार र मौलिक हकसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरेको वातावरण संरक्षणका लागि समाजमा हरेक नागरिक, मानव अधिकार समूह, स्थानीय निकाय अन्य गैरसरकारी सङ्घ संस्थाले विभिन्न किसिमका जनचेतनामुलक कार्यक्रम गर्नुपर्ने बताउनु भयो ।

मानव अधिकार समूह स्थानीय गाउँपालिकामा दर्ता हुन अति आवश्यक भएको हुँदा अन्य स्थानीय तहमा पनि दर्ता गर्नका लागि सबैले सुझाव दिएका थिए । त्यसैगरी मानव अधिकार समूह कपिलवस्तु नगरपालिकाका संयोजक पुष्पा रेग्मीले मानव अधिकार समूहको पहलमा शिक्षा, स्वास्थ्य, वातावरण र लैङ्गिक हिंसा विरुद्धमा विभिन्न माध्यामबाट अभियान सञ्चालन गर्दै आएको बताउँदै घरेलु हिंसा पीडितको न्यायको लागि कानुनी तथा आर्थिक सहयोग गरेको, वातावरणीय अधिकारका सम्बन्धमा स्थानीय तहमा स्थानीय कानुन बनाउन पहल गरेको, विद्यालय, स्वास्थ्य संस्थाहरू अनुगमन गरी सुझाव दिएको लगायत कार्य गर्दै आएको बताउनु भयो ।

मानव अधिकार समूह खजुरा गाउँपालिकाका संयोजक कौसकी यादवले आफ्नो स्थानीय तहमा विद्यालय, स्वास्थ्य चौकीमा अनुगमन गरिएको, खजुरा गाउँपालिका-२ मा मानव अधिकार समूहको पहलमा सबैको घरघरमा खानेपानी पुर्‍याउनको लागि पाइप जडानको कार्य भएको, वडा न‍. ५ र ६ मा मदेशी तथा मुश्लिम टोलमा शौचालय कति घर धुरीमा छ वा छैन त्यसको अनुगमन गरी डाटा गाउँपालिकामा बुझाइएको सडक नाटक मार्फत वातावरणीय अधिकारका लागि गाउँगाउँमा सचेतना मुलक सडक नाटक मार्फत सचेना कार्यक्रम सञ्चालन गरिएको बताउनु भयो ।

कार्यक्रममा इन्सेक लुम्बिनी प्रदेश कार्यालयका कार्यक्रम अधिकृत सरस्वती मल्लले मानव अधिकार समूहले सन्तोष जनक काम गर्दै आएको बताउँदै अगामी दिनमा मानव अधिकार समूह स्थानीय तहमा दर्ता गरी मानव अधिकार सचेतना सम्बन्धी कार्य सञ्चालन गरी मानव अधिकार मैत्री पालीका बनाउन सुझाव दिनुभयो ।

Photo28062024Banke

Photo28062024Banke1

Photo28062024Banke2

अन्य

भिडियो