अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेशको आयोजनामा हरेक वर्ष साउन १६ गते इन्सेकका संस्थापक महासचिव स्व. प्रकाश काफ्लेको स्मृतिमा इन्सेकद्वारा प्रदान गरिने प्रकाश मानव अधिकार पुरस्कार २०८० का लागि मानव अधिकारको क्षेत्रमा क्रियाशिल योग्य उम्मेरवारको नाम सिफारिस गर्नेका लागि बाँकेका क्रियाशिल नागरिक समाजका प्रतिनिधिहरूबीच ०८१ असार १३ गते छलफल कार्यक्रम सम्पन्न भएको छ ।
उक्त छलफलमा इन्सेक लुम्बिनी प्रदेश कार्यालयका संयोजक भोला महतले नुवाकोटको घोप्टेभिरमा ०४९ साउन १६ गते भएको थाइ एयरबसको विमान दुर्घटनामा निधन हुनुभएका इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेको स्मृतिमा इन्सेकले ०५१ सालदेखि हरेक वर्ष पुरस्कार प्रदान गर्दै आएको बताउनु भयो ।
उहाँले प्रकाश काफ्लेको स्मृतिलाई चिरस्थायी राख्ने उद्देश्यले इन्सेकले ०५१ सालमा प्रकाश मानव अधिकार पुरस्कारको स्थापना गरेको उल्लेख गर्दै इन्सेकले हरेक वर्ष मानव अधिकार र सामाजिक न्याको क्षेत्रमा क्रियाशील एक जना व्यक्तिलाई ५० हजार रुपियाँ नगद, सम्मान–पत्र तथा इन्सेकको प्रतीक चिह्न प्रदान गर्ने गरेको उल्लेख गर्नुभयो ।
यस पुरस्कारलाई अझ व्यवस्थित गर्ने उद्देश्यले इन्सेकका संस्थापक अध्यक्ष सुशील प्याकुरेलको संयोजकत्वमा पुरस्कार छनौट समिति गठन गरिने र उक्त समितिले पुरस्कार प्रदान गर्नका लागि उपयुक्त व्यक्तित्वको छनौट गर्न देशभरबाट सिफारिश आह्वान गरिएको संयोजक महतले सबैलाई जानकारी दिनुभयो ।
छलफलमा बाँकेका मानव अधिकारकर्मी मौलाना अब्दुल जब्बार साफीले आफूले २०७३ सालमा प्रकाश मानव अधिकार पुरस्कार प्राप्त गरेको र मानव अधिकारको क्षेत्रमा आफूले पुर्याएको योगदानको बारेमा सबैलाई जानकारी दिनुभएको थियो ।



