INSEC Online

📅 २०८३ जेष्ठ २१

न्यायिक प्रकृयामा जानका लागि इन्सेकको सहयोग

बर्दियामा परिवारले बेवास्ता गर्दा कात्तिक २२ गते आत्महत्या गरेकी २२ वर्षीया अञ्जु थारु र ६१ वर्षीया कान्छाराम थारुको परिवारलाई इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जले डिसीए नेपालको सहयोगमाा सञ्चालित संरक्षण परियोजना अन्तर्गत मानव अधिकार सहायता कक्ष मार्फत ०८२ मंसिर १६ गते आर्थिक सहयोग प्रदान गरेको छ ।

सामाजिक आर्थिक राजनीतिक पहुँच नपुगेर आत्महत्याको बाटो रोजिकी अञ्जुको परिवारलाई इन्सेक बर्दिया प्रतिनिधिले न्यायमा पहुँचका लागि १० हजार रुपियाँ हस्तान्तरण गर्नु भएको हो ।

सानै उमेरमा बिवाह भएकी अञ्जुको १६ वर्षको उमेरमा २०७५ साल मंसिर २४ गते आमा हुनुभयो । छोरीको जन्म भएपछि पति र परिवारले बेवास्ता गरेपछि अञ्जु २०७६ साल पुष १६ गते माइत आएर बस्न थाल्नुभयो । माइतीको आर्थिक अवस्था कमजोर भएको हुँदा अञ्जुले विभिन्न स्थानमा ज्याला मजदुरी गर्न थाल्नु भयो । आफू र छोरीको रेखदेख परिवारले नगरेपछि अञ्जुले माघ ८ गते बर्दिया जिल्ला अदालतमा अंश मुद्दा हाल्नु भएको थियो । अञ्जुले २०७९ कात्तिक २० गते न्यायाधिश टेकराज जोशीको इजलासबाट अंश मुद्दा जित्नु भयो ।

“अञ्जुका पति अनिल थारुले अञ्जुसँग बालबिवाह गरेको थिए । अञ्जु सानै उमेरमा आमा भएपनि अञ्जुसँग विवाह दर्ता थिएन । नागरिकताको प्रमाणपत्र थिएन । जसले गर्दा अदालतले फैसला गरे पनि अञ्जुले अंश मुद्दा पाउनबाट बञ्चित भइन् । नागरिकता नभएकोले अञ्जुले ज्याला मजदुरी गरेर जीवनयापन गर्नु पर्यो । अदालतको फैसलापछि अञ्जुले नागरिकताको सिफारिसको पहल गर्नु भयो । तर वडाले आवश्यक कागजात नभएको भन्दै नागरिकताको सिफारिस गर्न इन्कार गर्यो । अञ्जुले माइतीबाट नागरिकता निकाल्नका लागि ०८१ पुस २४ गते वार्ड कार्यालयबाट नागरिकताको सिफारिस लिएर नागरिकता लिन जिल्ला प्रशासन कार्यालय बर्दिया जानुभयो । तत्कालिन सहायक प्रमुख जिल्ला अधिकारीबाट माइतीबाट नागरिकता लिँदा पछि समस्या हुन्छ भन्दै नागरिकताको सिफारिस पतिको नाम कायम गरेर ल्याउन भनिएको थियो । वडाले सिफारिस नदिएको कारण पुनः नागरिकता लिन जिल्ला प्रशासन नगएको” मृतकका दाजु बरुणले बताउनु भयो ।

अञ्जुको परिवारले ०८१ माघ ८ गते अदातलको फैसला लिएर वडा कार्यालय जाँदा पनि वडाले यसबारेमा साखै चासो देखाएको पाइदैन र आफ्नो विवाह दर्ता तथा नागरिकता र छोरीको नागरिकता नभएको पीरले अञ्जुले कात्तिक २२ गते आत्महत्या गर्नुभयो । अञ्जुको बुबाले पनि छोरी बितिकै पीरमा आत्महत्या गर्नुभयो ।

हाल बाँके बस्दै आएका अञ्जुका पति अनिल थारुले अहिले पनि बेवास्ता गर्दै छोरीको जन्मदर्ता बनाइदिन इन्कार गरिरहेका छन् । अञ्जुको माइती पक्षले पति अञ्जुलाई आत्महत्या गर्न बाध्य बनाउनेका विरुद्ध इलाका प्रहरी कार्यालय मैनापोखरमा उजुरी दिएका छन् । घटनामा जोडिएका आरोपितहरु गिरफ्तार हुन नसक्दा प्रहरीले आरोपितहरुको पहिचान गोप्य राखेको छ ।

यसरी परिवारले बेवास्ता गरेको, विवाह दर्ता तथा नागरिकता र छोरीको जन्मदर्ता नभएको कारण बुबा छोरीले आत्महत्या गरेको घटनामा इन्सेकले आर्थिक सहयोग साथै कानुनी प्रकृयामा जानका लागि समेत सहयोग गरेको छ ।

प्रकाश पौडेल

अन्य

भिडियो