INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व अर्ध वार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का जिल्लामा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लघंन तथा ज्यादतीका घटनामाथि अर्ध वार्षिक समीक्षा कार्यक्रम असार १९ गते विराटनगरमा सम्पन्न गरिएको छ ।

इन्सेक कोशी प्रदेश कार्यालय,विराटनगरको आयोजनामा मोरंगमा सन् २०२४ को जनवरीदेखि जुनसम्म अभिलेखीकरण गरिएका मानव अधिकार उल्लघंन तथा ज्यादतीका घटनामाथि सरोकारवालाबिच ०८१ असार १९ गते समीक्षा सम्पन्न गरिएको हो ।

समीक्षामा जिल्लामा ६ महिनाको अवधिमा अभिलेखीकरण गरिएका ८० ओटा घटनामा ९७ जना पीडित भएको जानकारी गराइएको छ । जसमा बाल अधिकारका घटनामा बलात्कार, यौन दुव्र्यवहार र हत्याका घटना अभिलेखीकरण गरिएको छ ।

महिला अधिकारका घटना बलात्कार, बलात्कार प्रयास,यौन दुव्र्यवहार, हत्या, घरेलु हिंसा लगायतका घटना छन् ।

समीक्षा कार्यक्रममा जिल्लामा अभिलेखीकरण गरिएका घटनामाथि सरोकारवालाहरुले सुझाव दिएका छन् । कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख उषा झाले मानव अधिकारको दृष्टिकोणलाई फराकिलो पार्न आवश्यक भएको बताउनु भयो । उहाँले वातावरण प्रदुषण, विकास निर्माणमा ढिलाई हुँदा भएका कारण जोडिएका मानव अधिकारका विषयलाई इन्सेकले समेट्न आवश्यक रहेको बताउनु भयो ।

विकासलाई मानव अधिकारका सवालमा जोड्ने समय आएकाले भौतिक निर्माण काम समयमै नहुने खाल्डा खनेर त्यसै छाडिने गरिएका कारण बालबालिका त्यस्ता खाल्डामा डुवेर मृत्यु भएको घटना देखिएकाले अब त्यस्ता घटनालाई विकास, मानिसको बाँच्न पाउने अधिकार हो होइन भन्ने अवस्था सिर्जना भएको बताउनु भयो ।

उहाँले विकास निर्माणका वेथितिलाई हटाइ मानवअधिकार रक्षाको वातावरण तयार गर्नुपर्नेतर्फ पनि ध्यान दिन आवश्यक रहेको बताउनु भयो । राष्ट्रिय मानव अधिकार आयोगका कोशी प्रदेश कार्यालय, विराटनगरका  प्रमुख पवन भट्टले संविधानमा उल्लेख भएका मौलिक अधिकारसमेत कार्यान्वयन हुन नसकेको बताउनु भयो ।

उहाँले मानव अधिकारलाई परम्परागत रुपमा मात्रै नहेरी विकास निर्माण, प्रविधिको प्रयोग, जलवायु प्रदुषणलगायतका विषयले नयाँ इस्युहरू पनि देखिएकाले वदलिंदो परिस्थितिअनुसार मानवअधिकारवादी संस्थाहरूको दृष्टिकोण पनि परिवर्तन हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा कोकन प्रदेश प्रमुख मञ्जीता उपाध्याय, गैसस महासंघ मोरङ अध्यक्ष विष्णु शर्मा, माइती नेपालका मोरङ प्रमुख विनोद पोखरेललगायतले मानव अधिकारका घटनाको इन्सेकले सुक्ष्म निगरानी गरिरहे पनि थप घटनाहरू समेट्नेतर्फ ध्यान दिन सुझाव दिनु भयो ।

इन्सेक कोशी प्रदेशका प्रमुख सोमराज थापाले इन्सेकले हरेक वर्ष मानव अधिकार उल्लघंन तथा ज्यादतीका घटना समेटर मानव अधिकार बर्ष पुस्तक प्रकाशन गर्दै आएको जानकारी दिनुभयो । उहाँले वर्ष पुस्तकमा समेटिने घटनाका सम्बन्धमा सुझाव लिन सरोकारवालहरूसँग छलफल समेत आयोजना गर्दै आएको बताउनु भयो ।

समीक्षामा मानव अधिकारकर्मी, सामाजिक संघ संस्थाहरूका प्रतिनिधि, पत्रकार अभियन्ताहरूको सहभागिता रहेको थियो ।

photo 20240703 morang (1)

photo 20240703 morang (2)

अन्य

भिडियो