अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा जिल्लामा सन् २०२४ को जनवरी देखि जुन सम्म प्रलेखीकरण गरेका घटनाहरुको अर्धवार्षिक समीक्षा कार्यक्रम असार १५ गते सम्पन्न भएको छ ।
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि सङ्कलन गरिएका विवरणहरुको समीक्षा गरि तथ्यांक सार्वजनिक गरिएको हो । कार्यक्रममा इन्सेकका जिल्ला प्रतिनिधि बुद्धिमान पुनले जिल्लामा भएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको बारेमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा इन्सेक प्रतिनिधि पुनले जिल्लामा सन् २०२४ जनवरी देखि हालसम्म २० ओटा घटनाहरु सङ्कलन गरिएको जानकारी दिनुभयो । राज्यपक्षबाट एक ओटा र अन्य पक्षबाट १९ ओटा घटना रहेका छन् । जस अनुसार कुटपिटका एक ओटा, हत्याका तीन ओटा, बाल अधिकार तर्फ बलात्कारका २ ओटा, महिला अधिकार तर्फ घरेलु हिंसा १२ ओटा, र बहु विवाहका दुई ओटा घटना रहेका छन् । जिल्लामा अन्य प्रकृतिका घटनामा कमी आएको देखिएपनि महिला हिंसाका घटनामा भने उल्लेख्य वृद्धि भएको पाइएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले मानव अधिकारको रक्षा र संरक्षणमा सबै पक्षको भूमिका महत्वपुर्ण हुने बताउनुभएको छ । जिल्लामा महिला हिंसाका घटना धेरै देखिएको बताउदैँ उहाँले यसको मुख्य कारण भनेकै बाल विवाह भएको बताउनुभयो । ‘मानवअधिकारको क्षेत्रमा इन्सेकले महत्वपूर्ण काम गर्दै आएको छ, जिल्लामा मानव अधिकार हननका घटना हुन नदिनको लागि सबै क्षेत्र सँग सहकार्य गरेर अघि बढ्न जरुरत पनि छ’ उहाँले भन्नुभयो ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपि नवीन कार्कीले प्रहरीले मानवअधिकार हननका घटनामा शुन्य सहनशिलताको नीति लिएको बताउनुभयो । मानव अधिकारको संरक्षण र सम्वद्र्धनको लागि प्रहरीले विभिन्न स्थानमा सचेतनाको कार्यक्रम गर्दै आइरहेको भन्दै उहाँले राज्य नै मानव अधिकारको मुख्य संरक्षक भएकाले मानव अधिकार र मौलिक हकमा समावेश भएका अधिकारहरु नागरिकलाई उपलब्ध गराउनु राज्यको मुख्य दायित्व भएको बताउनुभयो ।
जिल्ला स्तरीय मानवअधिकार रक्षक सञ्जालका संयोजक मुना हमालको अध्यक्षतामा भएको कार्यक्रममा अधिकारकर्मी तथा पत्रकार लगाएत सरोकारवालाको सहभागिता रहेको थियो ।




