INSEC Online

📅 २०८३ जेष्ठ २१

अन्तरजातीय विवाह घटनाकी पीडितलाई इन्सेकको आर्थिक सहयोग

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयद्वारा मधेस प्रदेशमा गठित मानव अधिकार सहायता कक्षले अन्तरजातीय विवाह घटनाकी पीडित सप्तरी जिल्ला खडक नगरपालिका–४ पन्सेरा टोलकी २२ वर्षीया आरती कुमारी पासमानलाई न्यायिक प्रक्रियामा सहयोगका लागि ०८१ मङ्सिर १९ गते आर्थिक सहायता प्रदान गरेको छ ।

पीडित आरती कुमारी पासमानको महोत्तरी जिल्ला पिपरा गाँउपालिका–४ सहोड्वाका २५ वर्षीय मनिष कुमार साहसँग भदौ १८ गते धनुषा जिल्ला जनकपुरधाम उपमहानगरपालिकाको भमरपुरास्थित शिव मन्दिरमा अन्तरजातीय पे्रम विवाह भएको थियो । तर, विवाहपश्चात युवतीलाई साहले आफ्नो घर लगेपनि घरपरिवारका सदस्यहरूले तल्लो जातको युवतीलाई ल्याएको भन्दै घरभित्र प्रवेश गर्न नदिएको पीडितले इन्सेक महोत्तरी प्रतिनिधि ममता विश्वकर्मालाई बताइन् ।

“दुसाद तथा पासमान जस्तो पानि नचल्ने तल्लो जातको छोरी हाम्रो घरको बुहारी भए हाम्रो कुल देवता रिसाउने र समाजमा बेइज्जत हुने” भन्दै अमानवीय व्यवहार गरेको पीडितले बताइन् ।

“साहका परिवारले मलाई तल्लो जातकै कारण बुहारी अस्विकार गरेपछि असोज १२ गते साहले मलाई जनकपुरधामस्थित होली डे गेष्ट हाउसमा लगि, एक्लै छाडी भागेको र फोन मार्फत अब कुनै सम्बन्ध नरहेको बताएको” पीडितले इन्सेक महोत्तरी प्रतिनिधिलाई जानकारी दिइन् ।

साहले ललाई फकाई प्रेम जालमा पारी विवाह गरेको र दलित भएकै कारण आफूलाई उनका घर परिवारले अस्वीकार गरेपछि विचल्लीमा पारी भागेको र आफ्नो आर्थिक अवस्था कमजोर रहेकोले आर्थिक सहयोग र न्यायका लागि पहल गरिदिनुहुन भनि पीडितले इन्सेक प्रतिनिधि विश्वकर्मालाई मङ्सिर १० गते निवेदन मार्फत अनुरोध गरेकी थिइन् ।

पीडित परिवारको आर्थिक अवस्था कमजोर रहेकोले न्यायको प्रक्रियामा जान सहज हुने उद्देश्यले पीडितलाई १० हजार रुपियाँ आर्थिक सहायता प्रदान गरेको इन्सेक मधेस प्रदेश संयोजक राजु पासवानले बताउनुभयो ।

अन्य

भिडियो