INSEC Online

📅 २०८३ जेष्ठ २१

कर्णालीका दलित महिलाको अवस्था

पृष्ठभूमि
नेपालको सुदूरपश्चिमी हिमाली भेग, जहाँ पहाडहरूले आकाश छुन्छन् र प्रकृतिको सुन्दरताले मन लोभ्याउँछ । तर, यही सुन्दरताको काखमा लुकेको छ एउटा कठोर यथार्थ, यहाँका महिलाहरूको जीवन । विशेषगरी, दलित महिलाहरूको जीवन एउटा यस्तो कथा हो, जसमा श्रमको पहाड छ, तर सम्मान र अवसरको किरण निकै कमजोर देखिन्छ । बाह्रै महिना खेतबारीमा पसिना बगाएर पनि दुई महिना नपुग्ने उत्पादन, पिठ्युँमा भारी र निधारमा नाम्लोको दाग बोकेर बाँच्ने यी महिलाहरूको कथा केवल पीडाको होइन, यो संघर्ष, विद्रोह र आत्मसम्मानको खोजीको पनि कथा हो ।
यो लेखमा कर्णालीका दलित महिलाको जीवनको गहिराइ खोतल्ने प्रयास गरिएको छ । यहाँ उनीहरूको दैनिक जीवन, सामाजिक अवस्था, आर्थिक संकट, स्वास्थ्य समस्या, शैक्षिक अभाव र परिवर्तनको सम्भावनालाई तथ्य र भावनाको संयोजनमा प्रस्तुत गरिएको छ । यो उनीहरूको अमूक आवाजको प्रतिनिधित्व हो, जसले समाज र राज्यलाई प्रश्न गर्छ । किन यी महिलाहरूको जीवन अझै पनि यति कष्टकर
छ ?
बाह्रै महिना काम, दुई महिना माम
कर्णालीको जीवनशैली परम्परागत छ, प्रकृतिसँग जोडिएको छ । यहाँको खेतीपाती मौसमको भरमा चल्छ । चैतदेखि सुरु हुने खेतीको चक्र पुस-माघको हिमपातसम्म पुग्छ । तर, यो मेहनतको फल यति कम हुन्छ कि वर्षभरिको उत्पादनले दुई महिना पनि धान्न सक्दैन । डोल्पाको त्रिपुराकोट गाउँकी हरि सार्की आफ्नो अनुभव यसरी सुनाउँछिन्, “हामीलाई चाडपर्व कतिखेर आउँछ, कतिखेर जान्छ, पत्तै हुँदैन । बिहानदेखि बेलुकासम्म खेतबारी र घरको कामले फुर्सद नै हुँदैन । बिरामी पर्दा सिटामोल किन्ने समय पनि नहुने हाम्रो जीवन छ ।” उनको यो भनाइले कर्णालीका महिलाहरूको व्यस्तता र अभावको चित्र कोर्छ ।
उनले आफ्नो कथा सुनाउँदा आँखामा आँसु छचल्किन्छ। “बिहान चुलोचौको सकेर खेतमा जान्छु । दिउँसो बच्चा पिठ्युँमा बोकेर काम गर्छु । जति गरे पनि वर्षभरि खान पुग्दैन । बाँकी समय अरूको मजदुरी गर्नुपर्छ,” उनी भन्छिन् । उनको पिठ्युँमा सधैं बच्चा हुन्छ, हातमा कोदालो हुन्छ र मनमा चिन्ताको पहाड बोकेर उनी दिनभरि खट्छिन् । यो मजदुरीले उनको परिवारको भोक टर्छ, तर उनको स्वास्थ्य र सपना मर्छ । हरिको यो कथा कर्णालीका हजारौं दलित महिलाको साझा यथार्थ हो । उनीहरूको जीवन एउटा यस्तो चक्रमा फसेको छ, जहाँ श्रमको अन्त्य हुँदैन, तर जीवनको सहजता कहिल्यै आउँदैन ।
सामाजिक संरचना र दलित महिलाको स्थान
कर्णालीको सामाजिक संरचना परम्परागत र पितृसत्तात्मक छ । यहाँ महिलालाई घर र खेतको जिम्मेवारीले बाँधिएको छ । पुरुषहरूमा “महिलाले मात्र काम गर्नुपर्छ” भन्ने मानसिकता गहिरोसँग जरा गाडेर बसेको छ । जुम्ला चन्दननाथ नगरपालिका -१० कि गौकली सार्की भन्छिन्, “यहाँ महिलाले बालबच्चा स्याहार्नेदेखि खेतबारी र चुलोसम्म सबै गर्नुपर्छ । पुरुषको सहयोग पटक्कै हुँदैन ।” यो पितृसत्तात्मक सोचले महिलाहरूलाई श्रमको भारी बोकाइरहेको छ, तर दलित महिलाहरूको अवस्था झनै जटिल छ । उनीहरूले लैंगिक असमानतासँगै जातीय विभेदको दोहोरो मार पनि खेप्नुपर्छ ।
दलित समुदायमाथि सदियौंदेखि लगाइएको सामाजिक बहिष्करणले उनीहरूलाई अवसरबाट टाढा राखेको छ । मन्दिर प्रवेश गर्न नपाउने, पानीको धारा प्रयोगमा रोक, गैरदलितको घरमा भित्र पस्न नदिइने जस्ता कुप्रथाहरू अझै पनि कर्णालीका कतिपय गाउँमा जीवित छन् । यस्तो अवस्थामा दलित महिलाहरूको जीवन दोहोरो उत्पीडनको शिकार बन्छ । उनीहरूको श्रमको मूल्यांकन हुँदैन, सम्मान दिइँदैन र आवाज सुन्ने कोही हुँदैन । उनीहरूको जीवन एउटा यस्तो कोठरी जस्तो छ, जहाँ उज्यालोको झिल्को पनि मुश्किलले छिर्छ ।
उदाहरणका लागि, कर्णालीका धेरै गाउँमा दलित महिलाहरूलाई अझै पनि “अछूत” को नजरले हेरिन्छ । उनीहरूले छोएको पानी पिउनु हुँदैन भन्ने मान्यता कायम छ । यस्तो विभेदले उनीहरूलाई सामाजिक जीवनबाट अलग राख्छ । उनीहरूको श्रम गैरदलितको खेतमा बग्छ, तर सम्मान र समानताको हक पाउँदैनन् । यो सामाजिक संरचनाले उनीहरूलाई केवल श्रमिकको रूपमा सीमित गरेको छ, सपना देख्ने अधिकारबाट बञ्चित गरेको छ ।
आर्थिक संकट: मजदुरीको बाध्यता
कर्णालीका दलित महिलाको आर्थिक अवस्था अत्यन्तै कमजोर छ । परम्परागत खेतीले जीवन धान्न सक्दैन । खेतबारीमा वर्षभरि पसिना बगाए पनि उत्पादनले दुई महिना पनि खान पुग्दैन । गुठीचौर गाउँपालिका -५ कि पदमशीला सार्की भन्छिन्, “दलित समुदायको आर्थिक अवस्था कमजोर छ । कापी-कलम किन्ने पैसा नहुँदा छोराछोरीको पढाइ छुट्छ । सानैमा बिहे गरिदिने प्रचलनले उनीहरूको जीवन थप कष्टकर बन्छ ।” यो आर्थिक अभावले दलित महिलाहरूलाई मजदुरी गर्न बाध्य बनाएको छ ।
कर्णालीको आर्थिक संकटको अर्को पाटो हो, जमिनको अभाव । धेरैजसो दलित परिवारसँग आफ्नो जमिन छैन । उनीहरू गैरदलितको जमिनमा हलो जोतेर वा मजदुरी गरेर जीवन चलाउँछन् । यो भूमिहीनताले उनीहरूलाई आत्मनिर्भर हुनबाट रोकेको छ। सरकारले भूमिहीन दलितका लागि नीति बनाए पनि कार्यान्वयनको अभावमा यो समस्या ज्यूँको त्यूँ छ । फलस्वरूप, दलित महिलाहरूको जीवन मजदुरीको चक्कीमा पिसिन्छ । उनीहरूको हातमा कोदालो हुन्छ, तर भविष्यको सुनिश्चितता हुँदैन ।
स्वास्थ्य समस्या: श्रम र अभावको परिणाम
कर्णालीका दलित महिलाको स्वास्थ्य अवस्था चिन्ताजनक छ । निरन्तरको श्रम, असन्तुलित खानपान र स्वास्थ्य सेवाको अभावले उनीहरू विभिन्न रोगको शिकार बनेका छन् । गुठीचौर गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी कालिका न्यौपाने भन्छिन्, “यहाँका दलित महिला बिरामी पर्दा औषधि किन्ने फुर्सद पनि पाउँदैनन्। यही कारणले दीर्घरोग लाग्छ ।” पदमशीला थप्छिन्, “निरन्तर काम र खानाको अभावले मेरो शरीर सुक्दै गएको छ । स्वास्थ्य बिग्रिएको छ ।”
कर्णालीको विकट भूगोलले स्वास्थ्य चौकीसम्म पुग्न पनि कठिन छ । गर्भवती महिलाहरूले सुत्केरी गराउन अस्पताल पुग्न सक्दैनन् । सडक र यातायातको अभावले उनीहरूलाई घण्टौं हिँडेर स्वास्थ्य सेवा लिनुपर्ने बाध्यता छ । फलस्वरूप, मातृ मृत्युदर र शिशु मृत्युदर यहाँ उच्च छ ।
उदाहरणका लागि, कर्णली स्वास्थ विज्ञान प्रतिष्ठान नजिक रहेका ठाउँ बाहेक कर्णालीका धेरै गाउँमा सुत्केरी गराउन दक्ष स्वास्थ्यकर्मी उपलब्ध छैनन् । परम्परागत सुड्डेनीको भर पर्नुपर्छ, जसले जटिलताको जोखिम बढाउँछ । हरि सार्की जस्ता महिलाहरूले बच्चा जन्माउँदा घरमै जोखिम मोल्नुपर्छ । यो स्वास्थ्य संकटले उनीहरूको जीवनलाई थप छोटो र कष्टकर बनाएको छ । उनीहरूको शरीर एउटा मेसिन जस्तो बन्छ, जसले निरन्तर काम गर्छ, तर मर्मतको अवसर पाउँदैन ।
शैक्षिक अवसरको अभाव: अक्षरबाट टाढा
कर्णालीका दलित महिलाहरू शिक्षाबाट टाढा छन् । आर्थिक अभाव, सामाजिक बहिष्करण र बालविवाहले उनीहरूलाई स्कूलको ढोकासम्म पुग्न दिएको छैन । झोवा विक, जो पछि कर्णाली प्रदेशसभाको सदस्य बनिन्, आफ्नो बाल्यकाल सम्झिन्छिन्, “मैले स्कूलको पाइला टेक्न पाइनँ । छोरीलाई पढाउनु पर्छ भन्ने सोच नै थिएन । घाँस-दाउरा र मेलापातमै हुर्किएँ ।” उनको यो अनुभव कर्णालीका धेरै दलित महिलाको साझा कथा हो ।
राजीमान सार्की भन्छन्, “कापी-कलम किन्ने पैसा नहुँदा पढाइ छुट्छ । सानैमा बिहे गरिदिँदा उनीहरूको जीवन बच्चा जन्माउने मेसिनमा परिणत हुन्छ ।” यो शैक्षिक अभावले उनीहरूलाई रोजगारीको अवसरबाट पनि वञ्चित गरेको छ । परिणामस्वरूप, उनीहरूको आर्थिक अवस्था कमजोर बन्छ र जीवनको चक्र मजदुरीमै सीमित हुन्छ । कर्णालीमा सानै उमेरमा बिहे गरिदिने प्रचलनले २० वर्ष नपुग्दै चार-पाँच बच्चाको आमा बन्नुपर्ने अवस्था छ । यस्तो अवस्थामा शिक्षाको कुरा सपनाको कुरा मात्र बन्छ ।
शिक्षाको अभावले उनीहरूको चेतनास्तर पनि कम छ । उनीहरू आफ्नो अधिकारबाट अनभिज्ञ छन् । स्वास्थ्य, सरसफाइ र परिवार नियोजन जस्ता आधारभूत कुराहरूको जानकारी नहुँदा उनीहरूको जीवन थप जटिल बन्छ । झोवा विक जस्ता अपवादबाहेक अधिकांश दलित महिलाहरू अक्षरको उज्यालोबाट टाढा छन् । यो अन्धकारले उनीहरूलाई केवल श्रमिकको जीवन जिउन बाध्य बनाएको छ ।
परिवर्तनको किरण: विद्रोह र सफलताको कथा
कर्णालीका दलित महिलाको जीवनमा पीडा मात्र छैन, परिवर्तनको किरण पनि देखिन्छ । सीता नेपाली, नेपालकी पहिलो दलित महिला मन्त्री, यही कर्णालीबाट उदाएकी हुन् । उनले माओवादी जनयुद्धमा सहभागिता जनाइन्, राजनीतिशास्त्रमा स्नातकोत्तर गरिन् र कानुनमा एलएलबी पूरा गरिन् । कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रीको जिम्मेवारी सम्हाल्ने उनी एक मात्रै दलित महिला हुन । उनको यो सफलताले कर्णालीका दलित महिलालाई प्रेरणा दिएको छ । उनी भन्छिन्, “मन्त्रालयको ढोकासम्म पुगे पनि दलित महिलाले अवसर पाएका थिएनन् । अब इतिहास बनेको छ ।” उनको यो यात्रा कठिन थियो । जनयुद्धको मैदानदेखि संविधानसभाको सदस्य हुँदै मन्त्रीसम्म । उनले आफ्नो विद्रोही स्वभाव र शिक्षाको बलमा यो स्थान बनाइन् ।
त्यस्तै, झोवा विकको कथा पनि प्रेरणादायी छ । अक्षर नचिन्ने झोवाले नेपालको संविधान २०७२ ले दिएको समानुपातिक अवसर उपयोग गर्दै कर्णाली प्रदेशसभामा पुगिन् । सुरुमा बोल्न डराउने उनी विस्तारै निर्धक्कसँग जनताको आवाज उठाउने भइन् । “संसदमा पहिलो अधिवेशनमा बोल्न सकिनँ । मन पिरोलिएको थियो । तर दोस्रो अधिवेशनमा मैले आँट गरेँ । अहिले गाउँमा बोलेजस्तै सजिलो लाग्छ,” उनी हाँस्दै भन्छिन्। उनको यो आत्मविश्वासले कर्णालीका दलित महिलाहरूलाई नयाँ बाटो देखाएको छ ।
गमता विकको कथा अझ फरक छ । उनले छाउपडी प्रथाविरुद्ध विद्रोह गरिन् । महिनावारीमा घरभित्र बस्न थालिन्, छाउगोठ भत्काइन् र गाउँमा चर्पी बनाइन् । उनले महिलाहरूलाई संगठित गरेर सचेतना फैलाइन् । “मैले डर भत्काएँ । छाउगोठ भत्काएर समाज बदल्ने अठोट गरेँ,” उनी सुनाउँछिन् । उनको यो प्रयासले कर्णालीको सामाजिक संरचनामा परिवर्तनको संकेत दिएको छ । उनले गाउँमा आमा समूह बनाइन्, सरसफाइ अभियान चलाए र महिलालाई आत्मनिर्भर बनाउने सपना देखिन् ।
यी तीन महिलाको कथा कर्णालीका दलित महिलाहरूको प्रतिनिधित्व गर्छ । उनीहरूले देखाए कि अवसर र संकल्पले जीवन बदल्न सकिन्छ । तर, यस्ता उदाहरण अपवाद मात्र हुन् । अधिकांश दलित महिलाहरू अझै पनि पीडाको चक्रमा फसेका छन् ।
राज्यको भूमिका र चुनौती
नेपालको संविधान २०७२ ले महिलालाई समानुपातिक सहभागिता सुनिश्चित गरेको छ। स्थानीय तहमा प्रत्येक वडामा एकजना दलित महिलाको प्रतिनिधित्व अनिवार्य छ । २०७४ को स्थानीय निर्वाचनमा ३५,०४१ निर्वाचित प्रतिनिधिमध्ये ७,७३७ (२२%) दलित थिए । तर, यो संख्याले वास्तविक परिवर्तन प्रतिबिम्बित गर्दैन । चन्दननाथ नगरपालिकामा कार्यरत कर्मचारी लक्ष्मी नेपाली भन्छिन्, “नीति बनेका छन्, तर कार्यान्वयन भएको छैन । यहाँको जीवन बदलिएको छैन ।”
कर्णालीमा स्वास्थ्य, शिक्षा र रोजगारीका लागि सरकारी प्रयास कमजोर छन् । गैरसरकारी संस्थाहरूको काम पनि सतही देखिन्छ । सरकारले सीपमूलक तालिम र स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न सकेको छैन । यो अभावले दलित महिलाहरूलाई परिवर्तनको बाटोबाट टाढा राखेको छ ।
समाधानको बाटो: आत्मनिर्भरताको सपना
कर्णालीका दलित महिलाको जीवन बदल्न आत्मनिर्भरता पहिलो शर्त हो । सीपमूलक तालिमले उनीहरूलाई मजदुरीको चक्रबाट बाहिर निकाल्न सक्छ । शिक्षाको पहुँचले उनीहरूको चेतनास्तर बढाउँछ र स्वास्थ्य सेवाको विस्तारले उनीहरूको जीवन रक्षा गर्छ । लक्ष्मी थप्छिन्, “सीप सिकाएर आत्मनिर्भर बनाउन सके उनीहरूको जीवनस्तर माथि उठ्छ ।” साथै, पुरुषको मानसिकता बदल्न र जातीय विभेद हटाउन सचेतना अभियान जरुरी छ ।
सरकारले दलित महिलालाई लक्षित गरेर विशेष कार्यक्रम ल्याउनुपर्छ । उदाहरणका लागि, साना उद्योग स्थापना गर्न ऋण सुविधा, स्वास्थ्य चौकीको विस्तार र निःशुल्क शिक्षा कार्यक्रम प्रभावकारी हुन सक्छ । गैरदलित समुदायसँगको सहकार्यले सामाजिक समानता बढाउन सकिन्छ । गमता विक जस्ता महिलाहरूको पहललाई प्रोत्साहन गर्न सके गाउँ-गाउँमा परिवर्तन सम्भव छ ।
निष्कर्ष
कर्णालीका दलित महिलाको जीवन पीडाले भरिएको छ । उनीहरूको पिठ्युँमा भारी छ, निधारमा नाम्लोको दाग छ र मनमा अभावको चिन्ता छ । तर, उनीहरूको संघर्ष र विद्रोहले आशाको किरण पनि देखाएको छ । सीता नेपाली, झोवा विक र गमता विकको कथाले प्रमाणित गर्छ कि अवसर पाए उनीहरूले इतिहास रच्न सक्छन् । अब प्रश्न यो हो, राज्य र समाजले उनीहरूलाई कति अवसर दिन्छ ? उनीहरूको पिठ्युँको भारी हटाउन र मनको सपना पूरा गर्न कति समय लाग्छ ?
यो लेख उनीहरूको आवाज बनेर समाजलाई झक्झकाउने प्रयास हो । कर्णालीका दलित महिलाहरूको जीवन बदल्न सकियो भने मात्र हामी साँचो अर्थमा “समृद्ध नेपाल, सुखी नेपाली” को सपना पूरा गर्न सक्छौं । उनीहरूको पीडा सुन्ने, उनीहरूको सपना बुझ्ने र उनीहरूलाई साथ दिने समय आएको छ । कर्णालीको काखमा लुकेको यो पीडालाई उज्यालोमा ल्याउन सकियो भने मात्र हाम्रो समाज साँच्चै समृद्ध बन्नेछ ।
(लेखक : महेश कुमार नेपाली)

अन्य

भिडियो