आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि जिल्लाका भारतसँग जोडिएका सीमा नाका बन्द हुने भएको छ । निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सीमा नाका बन्द गरिने भएको हो ।
जिल्ला प्रशासन कार्यालय, दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी बिनोद दाहालका अनुसार फागुन १८ गते राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्मको लागि सीमा नाका बन्द हुने भएको छ ।
जिल्लामा भारतसँग आधादर्जन बढि नाका जोडिएका छन् । लेकम गाउँपालिकाको लाली, मालिकार्जुन गाउँपालिका–६ को बाकु, मालिकार्जुन गाउँपालिका –७ को जोलजीवि, महाकाली नगरपालिका –९ को दत्तु, महाकाली नगरपालिका–४ को खलंगा, व्यास गाउँपालिका–६ को बडूगाउ, वडा ५ को तिगरम, व्यास गाउँपलिका–४ मलघट्टे र व्यास गाउँपालिका–१ को सीतापुल बैधानिक नाका रहेका छन् । सीमा क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीले नियमित गस्ती गरिरहेको जिल्ला प्रशासनले जनाएको छ ।
निर्वाचनमा खटिने कर्मचारी तथा मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई तालिम समेत दिइसकिएको र तालिमलाई प्रभावकारी बनाउनका लागि दुई चरणमा तालिम सञ्चालन गरिएको जिल्ला निर्वाचन अधिकारी प्रदीपसिह धामीले जानकारी दिनुभयो । जिल्लामा १ सय १२ मतदानस्थल र १ यस ४३ मतदान केन्द्र रहेका छन् ।