जिल्लामा मतदाता शिक्षा प्रभावहीन हुँदा २३ हजार मत बदर भएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ०८२ मा फागुन २१ गते जिल्लामा ३ लाख ६९ हजार २ सय ७८ मत खसेकामा २३ हजार ३ मत बदर भएको छ ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार बदर मत कुल मतको ६ दशमलव २३ प्रतिशत छ ।
जिल्लामा विगतको भन्दा यसपाली एउटा मत पत्रमा एउटा मात्रै मतदान गर्ने भएपनि बदर मत अत्याधिक देखिएको छ ।
विगतको तीन निर्वाचन मध्ये यसपटकको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सबैभन्दा बढी प्रतिशत मत बदर भएको छ । ०८२ फागुन २१ ग्ते सम्पन्न निर्वाचनमा खसेको कुल मत मध्ये ६ दशमलव २३ प्रतिशत मत बदर भएको छ ।
जिल्लामा ०७० सालयता सम्पन्न निर्वाचनहरुमध्ये कै सबैभन्दा बढी बदर मत प्रतिशत हो । फागुन २१ गते सम्पन्न निर्वाचनमा सुनसरीको चार वटै निर्वाचन क्षेत्रमा कुल खसेको मत ३ लाख ६९ हजार २ सय ७८ मध्ये २३ हजार ३ मत बदर भएको छ । यो कुलको ६ दशमलव २३ प्रतिशत हुन आउँछ ।
जिल्लामा कुल मतदाता ५ लाख ८० हजार ९ सय ४५ जना थिए । सम्पन्न भएको प्रत्यक्ष तर्फको मतगणनामा सुनसरी निर्वाचन क्षेत्र १ को कुल खसेको मत ८७ हजार ४७१ मध्ये चार हजार ४८९ मत बदर भएको छ । यो ५ दशमलव १३ प्रतिशत हुन आउछ । सुनसरी निर्वाचन क्षेत्र २ को कुल खसेको मत एक लाख एक हजार ६७० मध्ये ६ हजार २२९ मत बदर भएको छ । यो ६ दशमलव १३ प्रतिशत हुन आउछ । त्यसैगरी सुनसरी निर्वाचन क्षेत्र ३ को कुल खसेको मत ९५ हजार मध्ये पाँच हजार ६६१ मत बदर भएको छ । यो ५ दशमलव ९० प्रतिशत हुन आउछ । सुनसरी निर्वाचन क्षेत्र ४ को कुल खसेको मत ८५ हजार १३७ मध्ये ६ हजार ६७४ मत बदर भएको छ । यो ७ दशमलव ८४ प्रतिशत हुन आउछ ।
निर्वाचनका लागि निर्वाचन कार्यालयले जिल्लाका १२ ओटा स्थानीय तहका १ सय २४ वडाका लागि मतदाता शिक्षा सञ्चालन गरेको थियो । हरेक घरमा मतदाता शिक्षाका लागि खटिएका जनशक्ति पुगेर मतदाता शिक्षा दिइएको दाबी गरिएको बेला बदर मतको संख्या अत्यधिक वृद्धि हुन पुगेको छ । मतदाता शिक्षाका लागि स्वयंसेवकहरुमा बालविकास सजहकर्ता, स्वास्थ्य स्यवंसेविका तथा सामाजिक परिचालकलाई परिचालन गरिएको थियो ।