सुदुरपश्चिम प्रदेश अन्तर्गतका नौ ओटा जिल्लामा निर्वाचन कार्यालयले मतदाता शिक्षा सञ्चानल गरेको भए पनि बदर पत सङ्ख्यामा सुधार हुन नसकेको पाइएको छ । ०८२ फागनु २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रयमा यस प्रदेश अन्तर्गतका जिल्लामा ५१ हजार ५६ मत बदरभएको सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय, धनगढीले जनाएको छ । सुदूपश्चिम प्रदेशमा १६ लाख ८१ हजार ९ सय ८९ मतदाता रहेकोमा फागनु २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा ८ लाख ७४ हजार मतदातले मतदान गरेका थिए । त्यस मध्ये ५१ हजार ५६ मत बदर रहेको प्रदेश निर्वाचन कार्यालय, धनगढीमा प्रमुख प्रेमराज भट्टले बताउन भयो । मत बदर हनुगएको पाइएकोले आगामी हुने निर्वाचनमा मतदाता शिक्षालाई सम्बन्धीत निकाय र पक्षहरुले प्रभावारी बनाउन आवश्यक देखिएको पाइएको छ । इन्सेकका जिल्ला प्रतिनिधिहरुले निर्वाचन कार्यालयसँग समन्वय गरी बदर मतको अवस्थाका बारेमा प्राप्त सूचनाहरु यस प्रकार छन् ।
इन्सेक दार्चला प्रतिनिधि नरेन्द्रसिंह कार्कीका अनुसार मतदाता शिक्षा कार्यक्रम प्रभावकारी नहुँदा प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत जिल्लामा बदर मतको सङ्ख्या बढेको देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष तथा समानुपातिक दुवै प्रणालीतर्फ बदर मत बढेको हो ।
मुख्य निर्वाचन अधिकृत भुवन गिरीका अनुसार एक मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा प्रत्यक्षतर्फ कुल ९२ हजार ९ सय ४८ मतदाता रहेका थिए । त्यसमध्ये ४९ हजार ९ सय ३७ मत खसेको थियो । खसेको मतमध्ये ४७ हजार ८ सय ९० मत सदर भएको र २ हजार ४७ मत बदर भएको पाइएको छ ।
यसअघि ०७९ सालको प्रतिनिधिसभा निर्वाचनको तुलनामा यसपटक बदर मतको सङख्या बढेको देखिएको छ । ०७९ सालको निर्वाचनमा ८८ हजार २ सय ८५ मतदाता रहेकोमा ५८ हजार ७ सय ७७ मत खसेको थियो । त्यसमध्ये १ हजार ८ सय मत मात्रै बदर भएको थियो ।
यसैगरी समानुपातिकतर्फ ९४ हजार ५ सय ३३ मतदाता रहेकोमा ५० हजार ९ सय ३० मत खसेको थियो । खसेको मतमध्ये १ हजार ६ सय ८ मत बदर भएको र ४९ हजार ३ सय २२ मत सदर भएको मुख्य निर्वाचन अधिकृत गिरीले बताउनु भयो ।
मतपत्रमा एक भन्दा बढी स्थानमा छाप लगाउने, गलत ठाउँमा छाप लगाउने, औँठाछाप लगाउने तथा खाली मतपत्र हाल्ने जस्ता कारणले मत बदर भएको पाइएको मुख्य निर्वाचन अधिकृत गिरीको भनाइ छ । निर्वाचन आयोगले मतपत्रमा छाँप लगाउन स्वस्तिक चिन्ह अंकित छाँप उपलब्ध गराए पनि धेरैजसो मतदाताले जानकारी अभावका कारण हातको औँठाछाँप लगाएको समेत भेटिएको उहाँले बताउनु भयो ।
पत्रकार तथा नियोकबाट पर्यवेक्षणमा खटिनुभएका कमलराज जोशीले निर्वाचन आयोगले मतदाता शिक्षामा पर्याप्त ध्यान नदिएको टिप्पणी गर्नुभयो । ‘दार्चुलाजस्तो विकट क्षेत्रमा एक वडामा एक जना मात्रै मतदाता स्वयंसेवक पठाएर प्रभावकारी मतदाता शिक्षा दिन सम्भव हुँदैन,’ उहाँले भन्नुभयो, ‘भौगोलिक विकटताका कारण एक बस्तीबाट अर्को बस्ती निकै टाँढा छन् । सबै क्षेत्रमा सडक पहुँच पनि पुगेको छैन ।’
जिल्ला नौ ओटा स्थानीय तहका ६१ ओटै वडामा स्वयंसेवक परिचालन गरी मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको भए पनि मत बदर हुने क्रम नरोकिएको जिल्ला निर्वाचन कार्यालय, दार्चुलाले जनाएको छ । जिल्ला निर्वाचन अधिकारी प्रदीपसिंह धामीका अनुसार फागुन ३ गतेदेखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम बस्ती–बस्तीसम्म पु¥याइएको थियो । बढीभन्दा बढी मत सदर होस् भन्ने उद्देश्यले मतदाता शिक्षा सञ्चालन गरेको भए पनि बदर मतको सङ्ख्या घटाउन पूर्ण रूपमा सफल हुन नसकएको धामीले बताउनु भयो ।
इन्सेक कैलाली प्रतिनिधि मैनामोती चौधरीका अुनसार प्रतिनिधिसभा सदस्य निर्वाचन ०८२ मा यस जिल्लामा १८ हजार ३ सय ६१ मत बडर भएको छ । जिल्लामा ५ लाख ५१ हजार ५२ मतदाता रहेकोमा ३ लाख २ हजार ९० मत खसेको थियो । जसमध्ये १८ हजार ३ सय ६१ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय, धनगढीका सूचना अधिकारी राजेश चौधरीले बताउनु भयो । बढी सङ्ख्यामा मत बदर भए पनि बदर मत हुनुको कारण सबै राजनीतिक दल र सरोकारवालाहरुसँग समीक्षा बैठक बसेर आगामी निर्वाचनमा मत बदर हुन नदिनका लागि सबैले मतदाताहरुलाई सचेतनामूलक मतदाता शिक्षामा नयाँ विधि अपनाउने भन्ने बारेमा छलफल गरिने सुचना अधिकारी चौधरीले बताउनु भयो ।
इन्सेक डोटी प्रतिनिधि सुबास नेपालीका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन ०८२ अन्तर्गत फागुन २१ गते भएको मतदानमा यस जिल्लामा उल्लेख्य संख्यामा मत बदर भएको पाइएको छ । । जिल्लामा कुल १ लाख २८ हजार ३ सय ९९ मतदाता रहेकोमा ५२ हजार १ सय ४३ मत खसेको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रत्यक्ष तर्फ २ हजार ९ सय ७४ र समानुपातिक तर्फ २ हजार ४ सय ६९ मत बदर भएका छन्।
कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार प्रत्यक्ष तर्फ ५.७ प्रतिशत र समानुपातिक तर्फ ४.७३ प्रतिशत मत बदर भएको हो । यसले मतदाता शिक्षाको अभाव र मतपत्र प्रयोगको तरिका पूर्ण रूपमा नबुझिँदा केही मत बदर भएको जिल्ला निर्वाचन अधिकृत करुणाकर पत्तले बताउनु भयो ।
बदर मतको सङ्ख्या घटाउन आगामी निर्वाचनहरूमा मतदाता शिक्षालाई अझ प्रभावकारी बनाइने योजना रहेको र मतदातालाई सही तरिकाले मत हाल्ने विधि सिकाउन विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने जिल्ला निर्वाचन अधिकृत पन्तले बताउनु भयो ।
इन्सेक बैतडी प्रनिनिधि नरी बडुका अनुसार फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा यस जिल्लामा खसेको मतको १४.२५ प्रतिशत मत बदर भएको छ । १ लाख ५६ हजार ३ सय ७२ मतदाता रहेको यस जिल्ला प्रत्यक्षतर्फ ७२ हजार ८ सय ४३ मत खसेको थियो । जसमध्ये ५ हजार १ सय १३ मत बदर भएको मुख्य निर्वाचन अधिकृत तिर्थराज भट्टले बताउनु भयो । मतदाताहरुलाई मतदाता शिक्षा दिएको भएपनि मत बदरको प्रतिशत बढेको जिल्ला निर्वाचन कार्यालय, बैतडीका मुख्य निर्वाचन अधिकृत खगेन्द्र भारतीले बताउनु भयो । जिल्लाका ८४ ओटै वडामा मतदाता शिक्षा स्वयमसेवक खटाएको भए पनि मत बदर भएको उहाँको भनाइ छ । समानुमातिक र प्रत्यक्ष फरक फरक पार्टी र व्यक्तिलाई दिन खोजेको र एउटै मतमत्रमा छाँप लगाएका कारणले धेरै मत बदर गएको उहाँले जानकारी दिनुभयो । प्राय बदर मतहरुमा दुई चिन्ह्मा छाँप लगाएको पाइएको छ । यस पटक राजनीतिक दलका कार्यकर्ताहरुले पनि मतदाताहरुलाई मतदान गर्ने तरिका बारे खासै सिकाउन नसकेको र विषेश गरी प्रत्यक्ष र समानुमातिकमा मतदाताहरु दोधारमा परेको हुन सक्ने जिल्ला निर्वाचन कार्यालय, बैतडीका प्रमुख भारतीले बताउनु भयो ।
इन्सेक कञ्चनपुर प्रतिनिधि लिली कुँवरका अनुसार फागुन २१ गते सम्पन्न प्रतिनधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष तर्फको सार्वजनिक अन्तिम मत परिणाम अनुसार यस जिल्लामा १२ हजार बढी मत बदर भएको छ । तीन निर्वाचन क्षेत्र रहेको यस जिल्लामा १२ हजार ५ सय ७ मत बदर भएको र निर्वाचन क्षेत्र नम्बर ३ मा बदर मत सङ्ख्या बढी रहेको पाइएको जिल्ला निर्वाचन कार्यालय, कञ्चनपुरका सूचना अधिकारी भानबहादुर महराले बताउनु भयो । यस जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मा कुल खसेको ६० हजार ७ सय ८५ मत मध्ये ३ हजार ७ सय ३४ मत बदर भएको छ भने ५७ हजार ५१ मत सदर भएको हो ।
निर्वाचन क्षेत्र नम्बर २ मा ६५ हजार ३ सय ४७ मत खसेकोमा ६१ हजार १ सय १७ मत सदर भएको छ भने ४ हजार २ सय ३० मत बदर भएका छन । विषेश गरी दोहोरो चिन्ह्मा छाँप लगाइएका कारण मत अत्याधिक बदर भएको उहाँले बताउनु भयो । निर्वाचन क्षेत्र नम्बर ३ मा ५८ हजार २ सय ९ मत खसेको थियो । जसमध्ये ५३ हजार ५ सय ४६ मत सदर भएको छ भने ४ हजार ६ सय ६३ मत बदर भएको छ ।
समानुपातिकतर्फ जिल्लामा १ लाख ७५ हजार ९ सय १ सदर मत रहेको र १० हजार ६३ मत बदर भएको बताउनु भयो ।
इन्सेक बाजुरा प्रतिनिधि पदमबहादुर सिंहका अनुसार फागनु २१ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा यस जिल्लामा १ हजार ३ सय ४६ मत बदर भएको छ ।
मुख्य निर्वाचन अधिकृत संजीव पोखरेलका अनुसार एक मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा कुल ८७ हजार ८ सय ६१ मतदाता रहेका थिए । ती मध्ये ४५ हजार २ सय ४२ मत खसेको थियो । खसेको मत मध्ये ४३ हजार ८ सय ९६ मत सदर भएको छ भने १ हजार ३ सय ४६ मत बदर भएको मुख्य निर्वाचन अधिकृत पोखरेल बताउनु भयो ।
मतपत्रमा एक भन्दा बढी चुनाव चिन्ह्मा स्वस्तिक छाँप लगाउने, सही स्थानमा छाँप नलगाउने, औँठाछाँप प्रयोग गर्ने, मतपत्र च्यातिने तथा छाँप चुनाव चिन्ह् भन्दा बाहिर पर्ने जस्ता कारणले मत बदर भएको निर्वाचन कार्यालय, बाजुराका प्रमुख भीमबहादुर शाहीले बताउनु भयो । छोटो समयमा धेरै काम गर्नु पर्ने भएको मतदाता शिक्षा दिनु पर्ने जति दिन नसकीयको र भौगोलिक बिकटताका कारण पनि स्वयमसेवकहरु गाउँगाउँ पुग्न नसकेको हुन सक्ने यहाँले बताउनु भयो ।
मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलले निर्वाचन प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको बताउँदै प्रत्यक्ष र समानुपातितर्फको मतगणना सम्पन्न गरेर सार्वजनिक गरि सकेको बताउनु भयो । निर्वाचनमा नेपाली कांग्रेसका जनकराज गिरी १७ हजार १ सय ७३ मतसहित विजयी हुनुभएको छ । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लालबहादुर थापाले १६ हजार ६ सय ३३ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका हेमराज थापाले ६ हजार ६५ मत ल्याउँदै तेस्रो स्थानमा रहेका छन् ।
निर्वाचन ऐनअनुसार खसेको कुल सदर मतको १० प्रतिशत भन्दा कम मत प्राप्त गर्ने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था छ । यस निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार प्रकाश शाह सहित पाँच जना उम्मेदवारको धरौटी जफत भएको छ ।
इन्सेक डडेल्धुरा प्रतिनिधि शेरबहादुर भण्डारीका अनुसार जिल्लामा कुल ४५ हजार ५ सय ४३ मत खसेकोमा ४३ हजार ६७ मत सदर भएका छन् भने २ हजार ४ सय ७६ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय, डडेल्धुराले जनाएको छ । यसअघिको ०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा भने जिल्लामा ६.२२ प्रतिशत मत बदर भएको थियो । उक्त निर्वाचनमा ५१ हजार २ सय ३ मत खसेकोमा ४८ हजार १६ मत सदर र ३ हजार १ सय ८७ मत बदर भएका थियो । मतगणनाका क्रममा एउटै मतपत्रमा तीन ठाउँमा औँठा छाँप लगाइएको समेत भेटिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
सहायक निर्वाचन अधिकृत गणेशबहादुर विष्टका अनुसार केही मतपत्रमा दुई वा सोभन्दा बढी चुनाव चिन्ह्मा मत संकेत गरिएको पाइएको थियो । कतिपय मतपत्रमा कुनै पनि चिन्ह्मा मत संकेत नगरी खाली नै छाडिएका मतपत्रहरू समेत भेटिएको उहाँले बताउनु भयो ।
एकै मतपत्रमा धेरै ठाउँमा औँठाछाँप लगाउने तथा खाली मतपत्र भेटिनुजस्ता घटनाले मतदाता शिक्षा अझै प्रभावकारी हुन नसकेको संकेत गरेको छ ।