महादेवा गाउँपालिका–५ का निर्वाचन प्रहरी २५ वर्षीय हरी नारायण मण्डलले सामाजिक सञ्जालमा आपत्तिजनक अभिव्यक्ति दिएको कारण निर्वाचन प्रहरीको काम, कर्तव्य र आचरणविपरीत गतिविधिमा संलग्न भएको ठहर गर्दै २०८२ फागुन ९ गतेदेखि लागू हुने गरी नियुक्ति करार रद्द गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीको अनुसार फागुन ८ गते सोहि पालिकास्थित भगवतपुर बजारमा नेकपा (एमाले) पार्टिको ब्यानर, फोटो तथा झण्डा जलाउँदै अपशब्द प्रयोग गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेको पाइएपछि उनलाई सोही दिन जिल्ला प्रहरी कार्यालयमा बोलाई स्पष्टिकरण सोधिएको हो ।
मण्डलविरुद्ध “निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति तथा परिचालन सम्बन्धी एकीकृत (नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल, नेपाल) कार्यविधि, २०८२” को परिच्छेद ४ को दफा १२ (छ) बमोजिम कसुर कायम भएको प्रहरीले जनाएको छ । सोही कार्यविधिको दफा १२ (ध) अनुसार उनको करार रद्द गरी सेवाबाट हटाउने निर्णय गरिएको हो । उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।