निर्वाचन नजिकिदै गएका बेला रुपन्देहीका सरकारी विद्यालयका प्रधानाध्यापकदेखि शिक्षकसम्म दलीय प्रचारमा सक्रिय भएर लागेका छन् । यसरी खुलेयाम दलको प्रचारमा सक्रिय भएर लाग्नेहरु रुपन्देहीकै नमूना स्कुलमा गनिने प्रधानाध्यापक र शिक्षकहरु छन् ।
जसमा शान्ति नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछाने र कान्ति माध्यमिक विद्यालयका शिक्षक दिलिप बेल्बासे राजनीतिक दल र तिनका उम्मेदवारको प्रचारमा सक्रिय भएर लागेका हुन् ।
प्रधानाध्यापक लामिछाने रुपन्देही क्षेत्र नम्बर २ का नेपाली काँग्रेसका उम्मेदवार चुन्नप्रसाद पौडेलको प्रचार अभियानमा सहभागी भएका छन् भने शिक्षक बेल्बासे राष्ट्रिय स्वतन्त्र पार्टीको प्रचार अभियानमा सक्रिय देखिन्छन् ।

स्थानीयका अनुसार लामिछाने चुनावी घरदैलो तथा भेटघाट कार्यक्रममा सक्रिय देखिएका छन् । त्यस्तै शिक्षकद्वय बेल्बासे र श्रेष्ठले सामाजिक सञ्जाल तथा रास्वपाका कार्यक्रमहरु मार्फत चुनाव प्रचार गरिरहेका छन् । सरकारी विद्यालयका प्रमुख प्रशासककै रूपमा कार्यरत व्यक्ति खुलेआम कुनै दलको प्रचारमा लाग्दा निर्वाचन आचारसंहिता उल्लंघन भएको भन्दै प्रश्न उठेको छ ।
निर्वाचन आचारसंहिताले सरकारी सेवामा कार्यरत कर्मचारी तथा सार्वजनिक पद धारण गरेका व्यक्तिलाई कुनै राजनीतिक दलको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न नपाइने स्पष्ट व्यवस्था गरेको छ । यस्तो अवस्थामा प्रधानाध्यापकको सक्रियता कानुनी र नैतिक दुवै दृष्टिले विवादित देखिन्छ ।
यस विषयमा प्रतिक्रिया दिँदै प्रधानाध्यापक लामिछानेले आफू शिक्षक महासंघको महाधिवेशन प्रतिनिधि भएको र महाधिवेशनमा जाँदा राखेको फोटोलाई सेयर गरेको र उम्मेदवारसँगको फोटो मन्दिर जाँदा भेटहुँदा मेरो अनुमति विना खिचेको बताउनुभयो “म कुनै आधिकारिक हैसियतमा प्रचारमा लागेको होइन, बाटोमा हिंड्दा व्यक्तिगत रूपमा साथीभाइसँग भेटघाट भएको हो,” लामिछानेले भन्नुभयो, “विद्यालयको काममा कुनै असर नपर्ने गरी व्यक्तिगत विचार राख्नु मेरो अधिकार हो । उहाँले कुराकानीमा भन्नुभयो ।
शिक्षक दिलीप बेल्बासेले दलको प्रचारात्मक सामग्री सामाजिक सञ्जालबाट शेयर गर्नु गल्ती भएको स्वीकारे । “मैले बालेन आउँदाको भिडियो हालेको हुँ, दलको प्रचार गर्ने नियतले होइन, अवदेखि यस्तो गर्दिन”–उनले भने ।
यता निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख कल्पना अर्यालले भने सरकारी कर्मचारी वा सार्वजनिक पदमा रहेका व्यक्तिले आचारसंहिता पालना गर्नुपर्ने गर्तुपर्ने बताउदै । “निर्वाचन आचारसंहितामा सरकारी सेवामा रहेका व्यक्तिले दलगत प्रचारप्रसारमा संलग्न हुन नपाइने स्पष्ट उल्लेख छ,” यसरी प्रचारमा लाग्नु भनेको आचार संहिता विपरितको कुरा हो हामी उहाँहरुलाई सचेत गराइसकेका छौ । “यदि उजुरी परेमा वा प्रमाण प्राप्त भएमा आवश्यक अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाइन्छ ।”
रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन आचार संहिता अनुगमन अधिकृत मातृका आचार्यले सरकारी ओहोदामा बसेको जुनसुकै व्यक्तिलाई आचार संहिता लाग्ने बताउनुभयो । कुनै पनि सरकारी कर्मचारी वा शिक्षक कुनै उम्मेदवार वा दलको प्रचारप्रसारमा लाग्नु आचारसंहिता विपरित हुने बताउदै । “सरकारी शिक्षक र कर्मचारी किन प्रचारमा लाग्नु पर्यो, यो आचारसंहिता विपरित हुन्छ, यसो गर्न मिल्दैन”– । यसका विषयमा सम्बन्धित विद्यालय प्रशासनलाई सचेत गराउन र अटेर गरे कारवाही गर्न निर्देशन दिएका छौ.अनुगमन अधिकृत आचार्यले इन्सेकसँगको कुराकानीमा भन्नुभयो ।
निर्वाचन आचारसंहिता २०८२ को परिच्छेद ३ को १० नम्बर बुँदाको खण्ड क मा विद्यालय, महाविद्यालय वा विश्वविद्यालय तथा सो मा सम्बद्ध कर्मचारी, प्राध्यापक तथा शिक्षकले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने व्यवस्था छ ।

