आगामी २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ लाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ। फागुन १७ गते साँझदेखि नेपाली सेनाले हाई–मोविलिटी तथा लाईट ट्याक्ट्रिकल भेहिकलसहित संयुक्त गस्ती सञ्चालनमा ल्याएको हो।
जिल्लाका कुल २ सय ९६ मतदान स्थलमध्ये २ सय ९ अति संवेदनशील, ८३ संवेदनशील र ४ सामान्य केन्द्रलाई लक्षित गर्दै अत्याधुनिक प्रविधियुक्त सवारी, बख्तरबन्द साधन तथा अतिरिक्त सुरक्षाकर्मी परिचालन गरिएको सेनाले जनाएको छ । सम्भावित जोखिम न्यूनीकरण, अवाञ्छित गतिविधि नियन्त्रण तथा मतदान प्रक्रियालाई प्रभावकारी बनाउन गस्तीलाई तीव्र बनाइएको हो।
नेपाली सेनाले प्रत्येक मतदान स्थलमा २४ सै घण्टा निगरानी, नियमित पेट्रोलिङ्ग तथा स्थलगत अवस्थाको प्रत्यक्ष अनुगमन गरिरहेको छ। यसले जिल्लावासीमा शान्ति सुरक्षाको प्रत्याभूति दिलाएको छ भने मतदातालाई निर्धक्क भएर मतदानमा सहभागी हुने वातावरण तयार भएको छ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा अन्य सुरक्षा निकायसँगको समन्वयमा बहुस्तरीय सुरक्षा घेरा निर्माण गरिएको छ। निर्वाचन बिथोल्ने कुनै पनि गतिविधि हुन नदिन द्रुत प्रतिक्रिया टोली तयारी अवस्थामा राखिएको सुरक्षा स्रोतले जनाएको छ।