सप्तरीमा निर्वाचन क्षेत्र नम्बर २ मासोभिमान पार्टीका उम्मेदवार शतिस सिंहले फागुन १७ गते करिब एक हजार मोटरसाइकल सहभागी गराई प्रचार–प्रसार गरेका थिए। उक्त र्यालीका क्रममा उनले भारतीय नम्बर प्लेट भएको बी आर ०७ ए डब्लु २२९७ नम्बरको रातो रंगको स्कार्पियो प्रयोग गरी आफ्नो क्षेत्रमा मत मागेको अनुगमनमा देखिएको इन्सेकका जिल्ला प्रतिनिधि नविन यादवले बताउनु भयो ।
निर्वाचन आचारसंहिता, २०८२ अनुसार विदेशी नम्बर प्लेटका सवारीसाधन चुनावी प्रयोजनमा प्रयोग गर्न पाइँदैन। आचारसंहिताको दफा १४ मा सवारीसाधन प्रयोगसम्बन्धी व्यवस्था उल्लेख गरिएको छ, जसअनुसार निर्वाचन अधिकृतको अनुमति लिएर आयोगले तोकेबमोजिम बढीमा दुई वटा हलुका सवारीसाधन मात्र प्रयोग गर्न सकिने प्रावधान छ । सवारीसाधन सञ्चालन गर्न नसकिने स्थानमा बढीमा चार वटा घोडा प्रयोग गर्न सकिने उल्लेख भए पनि विदेशी नम्बर प्लेटका सवारीसाधन प्रयोग गर्न स्पष्ट रूपमा निषेध गरिएको भएपनि उम्मेदवार सिंहले उक्त प्रावधान विपरीत सवारीसाधन प्रयोग गरेको पाइएको हो ।
