INSEC Online

📅 २०८३ जेष्ठ २१

सद्भाव कायम गर्दै निर्वाचनमा सहयोग गर्न आग्रह

जिल्ला प्रशासन कार्यालय बाँकेले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम गर्दै फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आह्वान गरेको छ।

जिल्लामा क्रियाशील राजनीतिक दलका प्रतिनिधि, विभिन्न धर्मगुरु तथा सरोकारवालाको सहभागितामा बसेको सर्वदलीय–सर्वपक्षीय बैठकका निर्णय सार्वजनिक गर्दै प्रशासनले ७ बुँदे निर्णय कार्यान्वयनका लागि आम नागरिकसँग सहयोग मागेको हो।

सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार गुरुङको हस्ताक्षरित २५ जनाको संयुक्त प्रेस विज्ञप्तिमा निर्वाचन आचारसंहिता पालना गर्दै सामाजिक सद्भाव मजबुत बनाउन सबै पक्ष जिम्मेवार बन्नुपर्ने उल्लेख गरिएको छ।

बैठकले इस्लाम धर्मावलम्बीहरूको रमजान महिनाको अवसरमा शुभकामना व्यक्त गर्दै हिन्दु समुदायले मनाउने फागु पूर्णिमा (होली) पनि मर्यादित र व्यवस्थित रूपमा मनाउन आग्रह गरेको छ। तराई क्षेत्रमा मनाइने होली पर्व फागुन २१ गते निर्वाचनको मौन अवधिसँग जुध्ने भएकाले घरपरिवार र आफन्तबीच सीमित रूपमा पर्व मनाउन स्थानीय प्रशासनले अनुरोध गरेको छ। त्यसैगरी, ध्वनि प्रदूषण नियन्त्रणमा विशेष ध्यान दिन, विवाह तथा व्रतबन्धजस्ता कार्यक्रम सञ्चालन गर्दा समेत आचारसंहिता र सार्वजनिक शान्ति खल्बलिने गतिविधि नगर्न आग्रह गरिएको छ।

प्रेस विज्ञप्तिमा निर्वाचन आयोगले जारी गरेको आचारसंहिता पूर्ण रूपमा पालना गर्न सबै राजनीतिक दल, उम्मेदवार, समर्थक तथा मतदातालाई अपिल गरिएको छ। जिल्लाको विशिष्ट सामाजिक संरचनालाई दृष्टिगत गर्दै सद्भाव र सहिष्णुता कायम राख्न स्थानीय तहहरूले समेत सर्वदलीय बैठक आयोजना गरी समन्वय गर्नुपर्ने निर्णय गरिएको प्रशासनले जनाएको छ।

प्रशासनले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्न सबै समुदाय, नागरिक समाज तथा सरोकारवाला निकायसँग सहकार्यको अपेक्षा गरेको छ।

ध्रुवराज शर्मा

भिडियो