INSEC Online

📅 २०८३ जेष्ठ २१

ललितपुरमा इन्सेकद्वारा निर्वाचन पूर्व अनुगमन ललितपुर ।

०८२ फागुन १८ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको पूर्वतयारीका सम्वन्धमा इन्सेकले ०८२ फागुन १८ गते ललितपुरमा अनुगमन गरेको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश संयोजक शिवप्रसाद खकुरेलको नेतृत्वमा गरिएको अनुगमनका क्रममा मुख्य निर्वाचन अधिकृत एवम् ललितपुर क्षेत्र नं. ३ का निर्वाचन अधिकृत पुनाराम खनाल, जिल्ला प्रहरी परिसर ललितपुरका एसपी एवम् सूचना अधिकारी गौतम मिश्र, ललितपुर क्षेत्र नं. २ का निर्वाचन अधिकृत सम्झना सिम्खडा पुडासैनी लगायसँग भेटघाट र छलफल गरिएको थियो ।

मुख्य निर्वाचन अधिकृत एवम् ललितपुर जिल्लाका मुख्य न्यायाधीश पुनाराम खनालले जिल्लाका सबै मतदान केन्द्रहरुमा कर्मचारीहरु खटाइ सकिएको जानकारी दिनुभयो । उहाँले निर्वाचनका लागि खटाइएका कर्मचारीहरु फागुन १७ गतेदेखि सम्बन्धित मतदान केन्द्रतर्फ निर्वाचन सामग्रीसहित प्रस्थान गरिसकेको बताउनुभयो । मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा सहायक कर्मचारीहरुलाई तालिम दिएको, जिल्ला तहमा सर्वदलीय बैठक राखेर निर्वाचन आचारसंहिता बारे राजनीतिक दलहरुलाई जानकारी गराएको बताउनुभयो । उहाँले निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोग भएको नदेखिएको र मतदान केन्द्रहरुलाई अपाङ्गता मैत्री बनाउने प्रयास गरिएको मुख्य निर्वाचन अधिकृत खनालले बताउनुभयो । उहाँले निवार्चन प्रसारप्रसारका क्रममा राजनीतिक दलहरुले प्रयोग गर्ने सामाग्रीहरुका उत्पादक र वितरकहरुलाई पनि आचारसंहिताको दायरामा ल्याउन आवश्यक रहेको सुझाव समेत व्यक्त गर्नु भयो ।

ललितपुर क्षेत्र नं. १ मा महाङ्काल गाउँपालिका, कोन्ज्योसोम गाउँपालिका र बागमती गाउँपालिकाका साथै गोदावरी नगरपालिका वडा नं. १२ र १४ बाहेकका १२ वटा वडाहरु रहेका छन् भने यो क्षेत्रमा जिल्लाको ८० प्रतिशत भूगोलमा ५३ मतदान स्थलमा १ सय मतदान केन्द्र रहेका छन् । क्षेत्र नं. १ मा ३८ हजार ८ सय ४० जना महिला र ३८ हजार ८ सय ९७ जना पुरुषसहित ७७ हजार ७ सय ३७ जना मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी गोमा धमला घिमिरेले बताउनुभयो ।

क्षेत्र नं. २ मा ३९ मतदान स्थलमा १ सय चारवटा मतदान केन्द्र रहेका छन् । जहाँ ४३ हजार २ सय ९८ जना महिला र ४५ हजार ७ सय ८४ जना पुरुषसहित ८९ हजार ८२ जना मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी घिमिरेले बताउनुभयो ।

क्षेत्र नं. ३ मा ३९ मतदान स्थलमा १ सय १४ वटा मतदान केन्द्र रहेका छन् । जहाँ ४९ हजार ४ सय ११ जना महिला र ५३ हजार २६ जना पुरुषसहित १ लाख २ हजार ४ सय ३७ जना मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी घिमिरेले बताउनुभयो ।

जिल्लाको क्षेत्र नं. १ को किटीनी मावि मतदान केन्द्र, गोदावरी, क्षेत्र नं. २ को पाटन मावि, पाटनढोका र क्षेत्र नं. ३ को जावलाखेल फुटबल मैदान मतदान स्थलमा निर्वाचनमा सम्पूर्ण मतदान कर्मचारी महिला मात्र रहेको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ । ती मतदान स्थललाई महिलामैत्री मतदान स्थल भनिएको स्थानीयवासीले बताए ।

जिल्लामा आचार संहिता उल्लङ्घनका खासै उजुरी नआए पनि क्षेत्र नं. २ मा एउटा राजनीतिक दलले उल्लङ्घन गरेको मौखिक उजुरी आएकामा मौखिकरुपमा सचेत गराइएको २ नं. निर्वाचन अधिकृत सम्झना सिम्खडा पुडासैनीले बताउनु भयो । उहाँले अशक्त, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी तथा काखमा बच्चासहित मतदान गर्न उपस्थित महिला तथा किरियापुत्री समेतलाई अलग्गै लाइनमा राखि मतदानको सहज व्यवस्थापन गर्न सम्पूर्ण मतदान अधिकृतलाई अभिमूखीकरणका क्रममा निर्देशन दिइएको बताउनु भयो । विशेष अवस्थामा रहेका त्यस्ता मतदातालाई छुट्टै बेन्चमा बसेर आराम गर्ने व्यवस्था गर्न समेत निर्देशन दिइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी एवम् सूचना अधिकारी गौतम मिश्रले निर्वाचनका लागि आवश्यक सुरक्षाका सबै तयारी पूरा भएको बताउनुभयो । मतदानस्थलको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा नेपाली सेना आवश्यकता अनुसार परिचालन भइसकेको बताउनुभयो । अनुगमनको टोलीले ललितपुरका विभिन्न स्थानमा निर्वाचन आचार संहिता उल्लङ्घन भए/ नभएको अनुगमन गरेको थियो । जिल्लामा केही मतदान स्थल खुल्ला चौर तथा बिहार परिसरमा राखिएकाले त्यसको भौतिक तथा प्राविधिक सुरक्षाका लागि टेण्टको व्यवस्था गरिएको र विद्यालयहरुमा कक्षा कोठाभन्दा बाहिर बरण्डामा मतपेटिका राख्ने व्यवस्था गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । सम्वन्धित निकाय सँगको भेटवार्ताका क्रममा निर्वाचन शान्तिपूर्ण, निष्पक्ष तथा भयरहित बनाउन सबै निकायबीच आवश्यक समन्वय गर्नुपर्ने इन्सेक बागमती प्रदेशका संयोजक शिवप्रसाद खकुरेलले बताउनुभयो ।

दीपकप्रसाद घिमिरे

भिडियो