INSEC Online

📅 २०८३ जेष्ठ २१

रुपन्देहीका १ सय ५५ बालशिक्षक र सामाजिक परिचालकले मतदाता शिक्षा दिँदै

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही जिल्लामा १ सय ५५ जना मतदाता शिक्षा स्वयंसेवक परिचालित भएका छन् ।

जिल्लाका पाँच वटै निर्वाचन क्षेत्रमा १ सय ५५ जना बालशिक्षक र सामाजिक परिचालकले मतदाता शिक्षा दिँदै आएका छन् ।

आममतदातालाई मताधिकारको महत्व र मतदानको प्रक्रियाका विषयमा जानकारी दिने उद्देश्यले मतदाता शिक्षा कार्यक्रम सुरु गरेको जिल्ला निर्वाचन आयोगले जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख कल्पना अर्यालका अनुसार रुपन्देहीका पाँच निर्वाचन क्षेत्रका १ सय ५५ वडामा १५ दिनका लागि मतदाता शिक्षा स्वयंसेवक परिचालित गरिएको हो ।

प्रमुख अर्यालका अनुसार हरेक वडामा एक जना मतदाता शिक्षा स्वयंसेवक र प्रत्येक स्थानीय पालिकामा एक जना अनुगमनकर्ता परिचालन गरिएको छ ।

महिला स्वास्थ्य स्वयंसेविका, विद्यालयमा कार्यरत बालशिक्षक र सामाजिक परिचालकलाई मतदाता शिक्षा स्वयंसेवकका रुपमा परिचालित गरिएको छ ।

निर्वाचन आयोगको पछिल्लो तथ्यांकअनुसार रुपन्देही जिल्लामा जम्मा छ लाख ७२ हजार ५ सय २३ मतदाता रहेका छन् ।

सबैभन्दा बढी क्षेत्र नं एकमा १ लाख ४६ हजार ८ सय २४ र कम क्षेत्र नं ४ मा एक लाख १६ हजार १ सय ७२ मतदाता रहेको आयोगले जनाएको छ ।

यसैगरी क्षेत्र नं २ मा एक लाख ३५ हजार ५०, क्षेत्र ३ मा एक लाख चार हजार ३५ जना र क्षेत्र ५ मा एक लाख ३४ हजार ४ सय ४२ जना मतदाता रहेको र जिल्लामा ४८ दशमलव ५२ प्रतिशत महिला मतदाता रहेको आयोगको तथ्यांकमा उल्लेख छ ।

मतदाता शिक्षा कार्यक्रमले निर्वाचनमा मतदाताको सहभागिता बढाउनेदेखि बदर मतको अनुपात न्यूनीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।

निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ बमोजिम निर्वाचन आयोगबाट मतदाता शिक्षा विशेष कार्यक्रम स्वीकृत भई कार्यान्वयनमा आएको आयोगको भनाइ छ ।

रीमा बि.सी

भिडियो