चौतारा सागाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटले निर्वाचनको मौन अवधीको समयमा चौतारा सागाचोकगढी नगरपालिका– ८ कदमबासमा ०८२ फागुन १९ गते दिउँसो स्थानीय सामुदायिक भवनमा स्थानीय बासिन्दाहरुलाई जम्मा गरेर तारा चिन्हमा भोट दिनु म चुनाव पछाडी योजनाको लागि नगरपालिकाबाट बजेट दिन्छु भन्दै निर्वाचन आचारसंहिता २०८२ को दफा १७ (क) र (ग) उल्लङ्घन गरेका छन् ।
निर्वाचन आचारसंहिता २०८२ को दफा १७ (क) मा निर्वाचन प्रचार प्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न नपाइने उल्लेख छ । त्यसैगरी (ग) मा कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुने उल्लेख छ । तर चौतारा नगरपालिकाका मेयर सापकोटाले स्थानीय मतदाताहरुलाई जम्मा गरी विकासको लागि बजेट दिन्छु भन्दै भोट मागेका छन् ।
घटनास्थलमा पुगेर पत्रकार सुरज खड्काले भिडियो लाइभ गरेपछि मेयर घटनास्थलबाट फरार भएको पत्रकार खड्काले बताउनुभयो । साथै जिल्ला निर्वाचन कार्यालयमा पत्रकार सुरज खड्काले मौखिक उजुरी गरेको समेत उहाँले बताउनुभयो ।
सिन्धुपाल्चोक क्षेत्र नं. १ बाट मेयर सापकोटाका सहोदर भतिजा माधव सापकोटा नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार भएकाले मेयर सापकोटाले मतदाताहरुलाई बजेट दिन्छु भन्दै मत प्रभावित गर्न खोजेको बताइन्छ ।