INSEC Online

📅 २०८३ जेष्ठ २१

मतपत्र बोकेर मतदानस्थलमा कर्मचारी

निर्वाचन कार्यालय परिसर ०८२ फागुन १८ गते बिहानैदेखि व्यस्त थियो । कोही मतपत्र बुझ्दै थिए, कोही मतपेटी सिल गन्दै थिए, त कोही आयोगले दिएको निर्देशिका पल्टाउँदै अन्तिम तयारीमा जुटेका थिए । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा कर्मचारी र सुरक्षाकर्मीहरूको चहलपहलले कार्यालय परिसर चुनावमय बनेको थियो ।

त्यही भीडबीच माछापुच्छ्रे गाउँपालिका- ३ पांदुङपाटनस्थित मेघराज आधारभूत विद्यालयमा खटिएका मतदान अधिकृत चोलाकान्त वाग्ले भने एकछिन अलग बसेर चेकलिस्ट हेर्दै थिए  । उनको ध्यान कागजमा थियो- धागो, सियो, स्ट्याम्प प्याड, मसी, सील, मतपेटिका, मतदाता नामावली केही छुट्यो कि भन्ने चिन्ता ।

‘आयोगले दिएका ५१ थरिका सामगी छन्,’ उनले सूची देखाउँदै भने, ‘धागो, सियोदेखि सिल गर्ने सामग्रीसम्म केही छुट्न नदिने जिम्मेवारी छ । एउटा सानो कुरा छुट्यो भने मतदानकै दिन समस्या आउन सक्छ ।’

उनका लागि यो पहिलो अनुभव होइन । विगतमा पनि विभिन्न ठाउँमा मतदान अधिकृतको भूमिका निभाइसकेका वाग्ले यसपटक पनि सजग देखिन्थे । ‘पहिले काम गरेको अनुभवले धेरै सहज हुन्छ,’ उनले भने, ‘निर्देशिकासँगै सामग्रीको चेकलिस्ट दिएको छ, त्यसै अनुसार सबै कुरा मिलाएर मात्र बुथमा जान्छौं ।’

मतपत्र बुझ्ने प्रक्रिया पनि कम संवेदनशील छैन । ‘मतपत्र बुझ्छौं, प्रहरीसहित जान्छौं, निर्देशिका पनि सँगै हुन्छ,’ वाग्लेले भने, ‘मतदान स्थलमा पुगेर त्यहाँको भौगोलिक अवस्था बुझ्छौं, बसोबासको व्यवस्था मिलाउँछौं, स्थानीय राजनीतिक दलका नेतासँग छलफल गर्छौं ।’ उनका अनुसार फागुन १९ गते प्रहरीले मतदान स्थल सिल गर्नेछ । ‘प्रहरीले सिल गरेपछि त्यहाँको परिस्थिति फरक हुन्छ,’ उनले भने, ‘त्यसपछि हामीले स्थानीयसँग सहकार्य गरेर मतदान स्थल तयार गर्छौं ।’

रूपा गाउँपालिका वडा अन्तर्गत रामकोट ख बुथमा खटिएका मतदान अधिकृत राजेश कुमार महत्तो पनि सामग्री बुझेर मतदान केन्द्रतर्फ लाग्दै थिए । ‘आयोगले दिएको निर्देशिका अनुसार मतदान केन्द्रमा पुगेर काम सुरु गर्छौं,’ उनले भने, ‘यसअघि धनगढी, नेपालगञ्ज, भैरहवाका विभिन्न ठाउँमा मतदान अधिकृत भएर काम गरिसकेको छु, त्यसैले यसपटक पनि सहजै रूपमा सम्पन्न गर्न सक्छु भन्ने विश्वास छ ।’

तराईको भूगोलदेखि पहाडी क्षेत्रसम्मको अनुभव बोकेका महत्तो यसपटक प्रतिनिधिसभा निर्वाचनमा पोखरामा खटिएका छन् । ‘भूगोल फरक भए पनि प्रक्रिया एउटै हो,’ उनले थपे, ‘अनुभवले आत्मविश्वास दिन्छ, यो काम सहजै सक्र्छौं,’ उनले भने, ‘जे भएपनि हामी सिल गरेर मतगणना स्थलसम्म नपुग्दासम्म ढुक्क हुँदैनौं ।’

पोखरा महानगरपालिका- ३३ कालिका मावि ख मा खटिएकी मतदान अधिकृत करूणा राईका लागि भने यो सातौं अनुभव हो । ‘अहिलेसम्म सात पटक अनुभव भइसकेको छ,’ उनले मुस्कुराउँदै भनिन्, ‘यसपटक पनि सजिलै सम्पन्न गर्ने विश्वास छ ।’ विशेष परिस्थितिको चर्चा गर्दै उनले थपिन्, ‘केही गाह्रो छैन । परिस्थिति जे भए पनि हामीले जिम्मेवारी निभाउनुपर्छ । मलाई लाग्छ, यसपटकको चुनाव पनि सहजै सम्पन्न गर्न सक्छौं ।’

जिल्लामा १ सय ५३ वटा मतदान स्थल, ३ सय ६३ वटा मतदान केन्द्र छन् । मतदान स्थलमा पुगेपछि मतदान अधिकृतहरूले केन्द्र वरिपरि मादकपदार्थ सेवन निषेधसम्बन्धी सूचना टाँस्ने, उम्मेदवारका प्रचार सामग्री हटाउने र अन्य पूर्वतयारी गर्नेछन् । त्यसपछि सर्वदलीय बैठक बसेर सहमति जुटाइनेछ र मतदान स्थल निर्माणको अन्तिम कामअघि बढाइनेछ ।

कति खटिए कर्मचारी र प्रहरी ?

निर्वाचनका लागि कास्कीका तीन वटै निर्वाचन क्षेत्रमा गरी २ हजार १ सय ८४ कर्मचारी र १ हजार ९२ स्वयंसेवक परिचालन गरिने भएको छ । जिल्लाका १ सय ५३ मतदान स्थल अन्तर्गतका ३ सउ ६३ मतदान केन्द्र छन् । १ हजार मतदाता रहेको  ठाउँमा एउटा मतदान केन्द्रमा ६ जना कर्मचारी र तीन जना स्वयंमसेवक खटाइने निर्वाचन कार्यालय कास्कीका सूचना अधिकारी रुद्र न्यौपानेका जानकारी दिए । कास्की जिल्लामा कुल १ सय ५३ वटा मतदान स्थल र ३ सय ६३ वटा मतदान केन्द्र छन् । केन्द्रहरु मतदाता संख्याको चापलाई हेरेर मतदान स्थलभित्र मतदान केन्द्रहरुको संख्या निर्धारण गरिएको छ । निर्वाचन कार्यालयको तथ्यांक अनुसार कास्की क्षेत्र नम्बर १ मा १ लाख १६ हजार ८ सय ७८ मतदाता छन् । यस्तै, क्षेत्र नम्बर २ मा ८४ हजार १ सय ३४ र क्षेत्र नम्बर ३ मा १ लाख ७ हजार ५ सय ६० जना मतदाता छन् । कास्कीका १ सय ५३ मतदान स्थलमध्ये ५६ वटालाई अति संवेदनशील, ५४ वटालाई संवेदनशील र ४३ वटालाई सामान्य सूचीमा राखिएको छ ।

निर्वाचनलाई भयरहित र निष्पक्ष बनाउन सुरक्षा व्यवस्थाको खाका पनि तयार गरिएको छ । कास्कीमा १ हजार ५७ नेपाल प्रहरी र २ हजार ८ जना निर्वाचन प्रहरी खटाइने जिल्ला प्रशासन कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए । सुरक्षाका लागि १२ वटा मोबाइल गस्ती टोली परिचालन गरिनेछ । जसमा पोखरा महानगरमा ४ र प्रत्येक गाउँपालिकामा दुई वटा टोली रहनेछन् । त्यसमा मादीमा एक जना डिएपी र एक जना इन्स्पेक्टर, रुपा, माछापुच्छ्रे र अन्नपूर्णमा दुई/दुई जना इन्स्पेक्टरको नेतृत्वमा मोबाइल टोली खटाइएको छ । मतदानका दिन अस्पताल, एम्बुलेन्स र दमकल सेवालाई तयारी अवस्थामा राखिनेछ भने मतदानपश्चात् मतपेटिका ढुवानी र मतगणना स्थलको सुरक्षालाई उच्च प्राथमिकतामा राखिने प्रशासनले जनाएको छ ।

सञ्जय रानाभाट

भिडियो