INSEC Online

📅 २०८३ जेष्ठ २१

मतदान स्थलको तयारीबारे इन्सेकद्वारा अनुगमन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेश कार्यालयले प्रतिनिधिसभाको निर्वाचनको मतदान पूर्वको अनुगमन गरेको छ । इन्सेक कोशी प्रदेश कार्यालय संयोजक मनोहर कुमार पोखरेल, प्रलेख अधिकृत पुण्यप्रसाद अधिकारीलगायत विभिन्न जिल्लाका स्रोत व्यक्ति र पर्यवेक्षकहरुले विभिन्न जिल्लाको मतदान स्थलको तयारीबारे अनुगमन गरेको हो ।
मतदान पूर्व मतदान केन्द्रको तयारी र सुरक्षा अवस्था, दल तथा उम्मेदवारको भूमिका, निर्वाचन आचारसंहिता परिपालना भए नभएको विषयमा मतदान अधिकृतहरुसँग जानकारी लिइएको छ ।

आठ ओटा मतदान केन्द्र रहेको विराटनगर महानगरपालिका ११ स्थित जनपथ माध्यमिक विद्यालय, चार ओटा मतदान केन्द्र रहेको हरिनगर गाउँपालिका १ स्थित जामिअतुल इस्लाह अल इस्लामिया विद्यालय, तीन ओटा मतदान केन्द्र रहेको सुनसरीको हरीनगर गाउँपालिका २ स्थित चपडाही आधारभूत विद्यालयमा इन्सेक कोशी प्रदेश संयोजक मनोहरकुमार पोखरेलले अनुगमन गर्नुभएको छ । ती विद्यालयहरुमा क्रमशः ८ हजार १ सय ८३, ४ हजार १५ र २ हजार ८ सय ९३ मतदाता रहेको मतदान अधिकृतहरुले जानकारी दिनुभयो ।
सबै मतदानस्थलमा फागुन १८ गतेदेखि नै कर्मचारी खटिएको, सुरक्षा व्यवस्था कडा पारिएको, निर्वाचन सामग्रीलगायत समग्र तयारी पूरा भइसकेको जनपथ माध्यमिक विद्यालयका मतदान अधिकृत पुनमकुमारी कर्णले बताउनु भयो ।

चपडाही आधारभूत विद्यालयका मतदान अधिकृत रामहरी देवकोटाले मतदानका आवश्यक सामग्री आइसकेको, फागुन १९ गते सर्वदलिय वैठक गरिएको र गर्भवती, सुत्केरी महिला, अशक्त, जेष्ठ नागरिक, अपाङ्गताजस्ता व्यक्तिलाई सहजरुपमा मतदान गर्ने वातावरण बनाइएको बताउनु भयो ।

सर्वदलिय वैठकमा राजनीतिक दलका प्रतिनिधिहरुले मौन अवधिमा प्रचारप्रसार नगर्ने, मतदान स्थलको ३ सय मिटरभित्रको प्रचार सामग्री हटाउने र मतदाताले शान्तिपूर्ण वातावरणमा मतदान गर्न पाउने वातावरण सिर्जना गर्ने प्रतिबद्धता गरेको जामिअतुल इस्लाह अल इस्लामिया विद्यालयस्थित मतदान केन्द्रका मतदान अधिकृत लालबहादुर दाहाल जानकारी दिनुभयो ।

अनुगमनका क्रममा मोरङ, सुनसरीस्थित पूर्व–पश्चिम राजमार्ग र भित्री बजार क्षेत्रमा मतदातालाई प्रत्यक्ष प्रभावित पार्ने गरी सार्वजनिकस्थलमा जथाभावी पम्पप्लेट टाँसिएको, विभिन्न पार्टीका व्यानर, तोरण, चुनाव चिन्ह अंकित प्रचार सामग्री झुण्ड्याइएको पाइएको छ ।

कोशी प्रदेश कार्यालय

भिडियो