आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कुल १६७ मतदानस्थल मध्ये १९ मतदानस्थललाई अति संवेदनशील, ६० लाई संवेदनशील र ८८ लाई सामान्य श्रेणीमा वर्गीकरण गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ ।
प्रदेश निर्वाचन कार्यालय, हेटौंडाका प्रमुख हरीप्रसाद ढकालका अनुसार जिल्लामा दुई वटा अस्थायी मतदानस्थल सञ्चालनमा रहनेछन् । एउटा भीमफेदी कारागारमा र अर्को जिल्ला प्रशासन कार्यालय मकवानपुरमा रहनेछ । यी दुई अस्थायी मतदानस्थलमा ३ हजार ३०७ मतदाता सूचीकृत छन् । यहाँका मतदाताले समानुपातिकतर्फ मात्र मतदान गर्न पाउने व्यवस्था गरिएको छ । भीमफेदी कारागारमा हाल महिला र पुरुष गरी ९ सय ९५ कैदीबन्दी रहेका छन्। तर मतदाता नामावलीमा भने ७५ जनाको मात्र नाम समावेश छ । तीमध्ये ३ जना महिला र ७२ जना पुरुष रहेका छन् । अन्य कैदीबन्दीको नाम मतदाता सूचीमा नरहेको कारागार प्रशासनले जनाएको छ ।
निर्वाचन कार्यालयबाट मतदाता नामावली दर्ताका लागि आवश्यक पहल नभएकाले धेरै कैदीबन्दी मताधिकार प्रयोग गर्नबाट वञ्चित भएका छन् । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार १० स्थानीय तहमध्ये ६ स्थानीय तहका केही मतदानस्थललाई अति संवेदनशील सूचीमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रवक्ता पुष्कर बोगटीका अनुसार अति संवेदनशील सूचीमा परेका १९ मतदानस्थल अन्तर्गत २६ मतदान केन्द्र रहेका छन् । सबैभन्दा धेरै बकैया गाउँपालिकामा ५ मतदानस्थल र ७ मतदान केन्द्र अति संवेदनशील सूचीमा छन् ।
त्यसैगरी राक्सिराङ गाउँपालिकामा ६ मतदानस्थल र ६ मतदान केन्द्र, बागमती गाउँपालिकामा ५ मतदानस्थल र ६ मतदान केन्द्र, भीमफेदी गाउँपालिकामा १ मतदानस्थल र ३ मतदान केन्द्र, मनहरी गाउँपालिकामा १ मतदानस्थल र ३ मतदान केन्द्र तथा कैलाश गाउँपालिकामा १ मतदानस्थल र १ मतदान केन्द्र अति संवेदनशीलको सूचीमा परेका छन् । जिल्लाभर ६० मतदानस्थल र १ सय २३ मतदान केन्द्रलाई संवेदनशील सूचीमा राखिएको छ । संवेदनशील सूचीमा हेटौंडा उपमहानगरपालिकाका ७ मतदानस्थल र ३१ मतदान केन्द्र, थाहा नगरपालिकाका ९ मतदानस्थल र १७ मतदान केन्द्र, राक्सिराङ गाउँपालिकाका १३ मतदानस्थल र १७ मतदान केन्द्र, बकैया गाउँपालिकाका ८ मतदानस्थल र १५ मतदान केन्द्र तथा बागमती गाउँपालिकाका ७ मतदानस्थल र १७ मतदान केन्द्र रहेका छन् । निर्वाचन नजिकिँदै जाँदा सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।