सामाजिक सञ्जालमार्फत अफवाह, भ्रम फैलाएको, निर्वाचन विरोधी काम गरेको, आचार संहिता उल्लङ्घन गरेको लगायतका घटनामा संलग्न भएको आरोपमा प्रहरी प्रधान कार्यालयमा रहेको केन्द्रीय निर्वाचन सेलले ३२ जनालाई गिरफ्तार गरेको छ । केन्द्रीय निर्वाचन सेल अन्तर्गत साइबर सेलहरुले मधेश प्रदेशबाट चार जना, बागमतीबाट चार, गण्डकी प्रदेशबाट एक, लुम्बिनी प्रदेशबाट चार, कर्णाली प्रदेशबाट दुई जना, सुदूरपश्चिम प्रदेशबाट एक जना र काठमाडौं उपत्यकाबाट १६ जना गरी ३२ जनालाई गिरफ्तार गरेको केन्द्रीय प्रवक्ता तथा डीआईजी अबि नारायण काफ्लेले बताउनु भयो । गिरफ्तार गरिएका मध्ये १७ जना रिहा भएका छन् भने १५ जनालाई हिरासतमै राखेर अनुसन्धान अघि बढाइएको छ ।