व्यास नगरपालिका–१० बोटेगाउँमा नेपाली काँग्रेसका कार्यकर्ताले मतदातालाई पैसा बाँडेको भन्दै नेपाली काँग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता बिच विवाद भएको छ । ०८२ फागुन १९ गते राति बोटेगाउँमा नेपाली काँग्रेसका कार्यकर्ताले मतदातालाई पैसा बाँडेको भन्दै रास्वपाका कार्यकर्ताले हल्ला गरेपछि दुई पार्टीका कार्यकर्ता बिच विवाद भएको थियो ।
नेपाली काँग्रेसका दुई जना कार्यकर्ता बोटेगाउँ जाँदै गरेको अवस्थामा रास्वपाका कार्यकर्ताहरुहरुसँग बाटोमा भेटभएपछि रास्वपाका कार्यकर्ताले राति राति पैसा बाँड्न हिँडेको भन्दै हल्ला गरेपछि विवाद सुरु भएको नेपाली काँग्रेस व्यास नगरपालिका– १० का उपसभापती रमाकान्त ढुङ्गानाले बताउनुभयो ।
त्यसक्रममा दुवै पार्टीका कार्यकर्ताहरु बिच विवाद बढ्दै गएपछि राति नै घटनास्थलमा प्रहरी पुगेको थियो । प्रहरीले दुवै पक्षका कार्यकर्ताको गोजी र झोला चेकजाँच गर्दा पैसा वा मतदातालाई प्रभावित पार्ने कुनै वस्तु फेला नपरेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी श्रवणकुमार विकले बताउनु भयो । निर्वाचनको मौन अवधिमा यस्ता हल्ला र अफवाह फैलने हुँदा सचेत हुनुपर्ने उहाँले बताउनुभयो । मौन अवधिमा राति राति बाहिर नहिँड्न सबैलाई सचेत गराइएको डिएसपी विकले बताउनुभयो ।