जिल्ला निर्वाचन कार्यालय पर्साको आयोजनामा पर्साका पत्रकारहरुलाई फागुन १७ गते आधिकारिक रुपमा प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदाता शिक्षा र निर्वाचन आचार संहिता अन्तरक्रिया कार्यक्रम मार्फत निर्वाचन मतदाता शिक्षासाथै आचार संहिता पालना बारे अभिमुखिकरण गरेको छ । फागुन ३ गतेदेखि १५ दिन मतदाता शिक्षा प्रदानको अन्तिम दिन फागुन १७ गते जिल्ला निर्वाचन कार्यालय पर्साले पत्रकारहरुलाई निर्वाचन मतदाता शिक्षासाथै आचार संहिता पालना बारे पनि आधिकारिक रुपमा अवगत गराएको निर्वाचन कार्यालय पर्साको प्रमुख अनामिका रौनियारले बताउनु भयो ।
सञ्चार प्रतिष्ठान वा पत्रकारले कुनै पनि राजनीतिक दल, उमेद्वार वा निजको प्रतिनिधिबाट दान, उपहार वा आर्थिक सहयोग लिन हुँदैन । कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन प्रसारण गर्न नहुने, जातजाति, भाषा, धर्म सम्प्रदाय, लिंग र क्षेत्रको सम्बन्धमा कुनै भेदभाव हुने गरी समाचार प्रकाशन प्रशारण गर्न नहुने र राजनीतिक दल, उमेद्वारको निर्वाचन प्रचार प्रसारको लागि निःशुल्क विज्ञापन प्रकाशन, प्रशारण या सम्प्रेषण गर्न नहुने निर्वाचन कार्याल्य पर्साले आचार संहिताबारे बताएको छ ।
विशेषगरी मौन अवधिमा पत्रकारले कुनै पनि उमेद्वार र राजनीतिक दलको पक्ष वा विपक्ष तथा समिक्षा लगायत कुनै प्रकारको समाचार, विज्ञापन सम्प्रेषण तथा प्रकाशन गर्न नहुने निर्वाचन आचार संहितामा उल्लेख भएको पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले बताउनु भयो । आचार संहिता कर्मचारी, पत्रकार, राजनीतिक दल तथा नेता कार्यकर्ता र नागरिकले समेत पालना गर्नुपर्ने उहाँले जानकारी दिनु भयो । आचार संहितासँगै मतदाता शिक्षाको बारे सबैले राम्रो जानकारी लिएर बदरमत कम गर्नु सबैको दायित्व भएको निर्वाचन कार्यालय पर्साका निर्वाचन फोकल पर्सन अरुण कुमार ठाकुरले बताउनु भयो ।