यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा मतदान गर्न पाउनु नागरिकको संवैधानिक अधिकार भएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताउनु भयो । उहाँले शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न सबै पक्षलाई सहयोगका लागि आह्वान समेत गर्नुभएको छ । निर्वाचनसम्बन्धी सही र सकारात्मक सूचना प्रवाहमा सञ्चारकर्मीहरूको भूमिका महत्वपूर्ण रहने विश्वास उहाँले व्यक्त गर्नु भयो ।
जिल्ला निर्वाचन कार्यालय, बाजुराका प्रमुख भीमबहादुर शाहीका अनुसार कर्मचारीलाई तालिम दिने र मतपत्र सहित निर्वाचन सामाग्री हस्तान्तरण बाहेक अन्य सबै तयारी करिब सम्पन्न भइसकेका छन् । हाल मतपत्र तथा निर्वाचन सामाग्री प्याकिङ गर्ने कार्य भइरहेको उहाँले बताउनु भयो ।
पतपत्र सहित अन्य निर्वाचन सामाग्री जिल्लामा आइपुगेका छन् । कर्मचारीलाई तालिमपछि निर्वाचन सामाग्री हस्तान्त्रण गरी मतदान स्थल पठाउने तयारी अन्तिम चरणमा पुगेको छ । जिल्ला निर्वाचन कार्यालयले निर्वाचन तथा आमसञ्चारसम्बन्धी अन्तरक्रिया कार्यक्रममा जिल्लामा निर्वाचन तयारी तीव्र गतिमा अघि बढेको जानकारी दिइएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय, बाजुराका अनुसार जिल्लामा समानुपातिक तर्फ ९७ हजार र पहिलो हुने निर्वाचित प्रणाली तर्फ ९४ हजार मतपत्र सहित आवश्यक निर्वाचन सामग्री आइपुगेको जनाएको छ ।
निर्वाचनका लागि जिल्लामा ७ सय ९ जना कर्मचारी खटाइने मुख्य निर्वाचन अधिकृत संञ्जीव पोखरेलले बताउनु भयो । अधिकृत्त पोखरेलका अनुसार जिल्लाका १ सय १८ ओटै मतदान केन्द्रमा मतदान अधिकृत र सहायक अधिकृत सहित बढीमा ६ जनासम्म कर्मचारी खटाइएको छ । अस्थायी मतदान केन्द्रमा चार जना कर्मचारी खटाउने तयारी गरिएको छ ।
जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी अंगत महतले निर्वाचनमा खटाइने कर्मचारीलाई फागुन १४, १५ र १६ गते तालिम प्रदान गरी मतदान केन्द्रमा पठाइने तयारी गरिएको बताउनु भयो ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित तथा शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सुरक्षालाई ध्यानमा राख्दै ०८२ फागुन १० गतेदेखि तीन ओटै सुरक्षा निकायले संयुक्त गस्ती सुरु गरेका छन् । प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार जिल्लाका ७७ मतदान स्थल र १ सय १८ मतदान केन्द्रमा अनुगमन तथा सुरक्षाको प्रत्याभूति दिन संयुक्त सुरक्षा परिचालन गरिएको बताउनु भयो ।
संयूक्त गस्तिमा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र निर्वाचन प्रहरी परिचालन गरिएका छन । जिल्लाका ७७ मतदान स्थल मध्ये ६२ अतिसंवेदनशील, १२ संवेदनशील र तीन ओटा सामान्य गरी वर्गीकरण गरिएको छ । कुल मतदान स्थल मध्ये ८० दशमलव ५१ प्रतिशत अतिसंवेदनशील सूचीमा परेका छन् ।
सुरक्षाका लागि ४ सय भन्दा बढी नेपाल प्रहरी, २ सय सशस्त्र प्रहरी र ३ सय भन्दा बढी नेपाली सेना परिचालन गरिने प्रमुख जिल्ला अधिकारी निरौलाले बताउनु भयो । साथै, १ हजार ६० जना निर्वाचन प्रहरी पनि भर्ना गरी परिचालन गरिएको छ ।
जिल्लाका ६९ ओटै वडामा फागुन ३ गतेदेखि मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको जिल्ला निर्वाचन कार्यालय, बाजुराले जानकारी दिएको छ । प्रत्येक वडामा एक जना स्वयंसेवक खटाई आम मतदातालाई सही, तथ्यपरक र उपयोगी जानकारी प्रदान गर्ने, सहभागिता अभिवृद्धि गर्ने तथा बदर मत न्यूनीकरण गर्ने उद्देश्य राखिएको छ ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा कुल ८७ हजार ८ सय ६१ मतदाता कायम भएका छन् । जस मध्ये ४५ हजार ४ सय २८ पुरुष, ४२ हजार ४ सय ३१ महिला र दुई अन्य मतदाता रहेका छन् । एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा सात दल सहित एक स्वतन्त्र गरी आठ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।